काठमाडौं, ३० चैत । नयाँ शक्ति नेपालले नयाँ वर्षको सन्दर्भमा सहिद, बेपत्ता, घाइते, अपांग एवम् द्वन्द्व प्रभावितहरुप्रति समर्पित कार्यक्रम गर्ने भएको छ ।

नयाँ वर्षको उपलक्ष्यमा नयाँ शक्ति नेपालको सहिद, बेपत्ता, घाइते, अपांग एवम् द्वन्द्व प्रभावित व्यवस्थापन केन्द्रीय विभागको आयोजनामा विशेष कार्यक्रम गर्ने भएको हो ।

विभागको संयोजक हिसिया यमीकाअनुसार कार्यक्रममा संक्रमणकालीन न्यायसम्बन्धी अन्तर्राष्ट्रिय अनुभवहरु आदानप्रदान गरिने छ । कार्यक्रममा युएनडिपीको संक्रमणकालीन न्याय परियोजनाका व्यवस्थापक डेभिड क्रिस्टोफरले संक्रमणकालीन न्याय सम्बन्धी अन्तर्राष्ट्रिय अनुभवको आदानप्रदान गर्नेछन् ।

कार्यक्रमको अवसरमा नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले विभागले प्रकाशन गरेको द्वन्द्वको बेला माओवादी र गैरमाओवादी दुवै पक्षतिरका सहिद, बेपत्ता र घाइतेहरुको तस्बिर र विवरण समावेश गरिएको सामग्री सार्वजनिक गर्ने कार्यक्रम रहेको नेतृ यमीले जानकारी दिए ।

कार्यक्रम वैशाख १ गते ११ बजेबाट लगनखेलको सञ्चयकोष भवनमा आयोजना गरिएको यमीले बताए !