जेष्ठ २, २०७३- वेशाख पहिलो साता लाप्राकमाथिको जंगल सेतो गुराँस फुलेकाले सेताम्य देखिन्थ्यो । कच्ची ढुंग्यान र खाल्डाखुल्डी भएको सडकमा ढाड भाँचिएको सर्पझैं लत्रिंदै हाम्रो गाडी लाप्राकको उकालो चढ्दै थियो । गाडी यति हल्लिएको थियो कि हाम्रा करङले घोचेको प्रस्ट थाहा हुन्थ्यो । एक प्रकारको मीठो दुखाइ थियो त्यो । भूकम्पको इपिसेन्टर बारपाकभन्दा माथि एउटा पनि बस्ती छैन, डेढ घन्टा गाडीमा उकालो चढेर ओरालो झरेपछि लाप्राकको नयाँ बस्ती गुप्सी पाखा पुगिन्छ । हामी त्यहाँ पुग्दा पानी दर्कियो । गुप्सी पाखामा होटल छन् भन्ने जानकारी थियो । तर, त्यहाँ पुग्नेबित्तिकै मेसो पाउन सकिएन । पानी परेकाले गाडीबाहिर निस्कन कठिन भयो । अधिकांश टहराका ढोका बन्द थिए । अब के गर्ने ? टहरामा खोलिएका होटल खोज्न हामी अलिअलि भिज्दै निस्क्यौं । जब होटल भेट्यौ, ‘…देउता मिल्यो’ भन्दै खुसी भयौं । समुद्र सतहदेखि २८ सय मिटर उचाइको गुप्सी पाखामा साँझ झ्याउँकिरी कराउन थालिसकेको थियो । ३२ डिग्री तातो दरौदी किनारा हुँदै हामी गुप्सी पाखा पुगेका थियौं, जहाँको तापक्रम पानी परेकाले करिब ६, ७ डिग्री थियो । टिसर्ट, पातला लुगा लगाएका हामी जाडोले लगलग काप्न थालिसकेका थियौं । होटलमा छिरेपछि हाम्रो आँखा मेनुतर्फ डोरिए । होटलका साहुजी दौड्दै आएर भने, ‘सर यो मेनु विदेशीका लागि हो । नेपालीका लागि सस्तो छ ।’ क्या मनको कुरा गरे, साहुजीले । तल पुरानो गाउँ भूकम्पले चिरा पारेपछि गुप्सी पाखामा सरेको होटल पनि काइदाको रहेछ । चिया आयो । जाडो अलि भाग्यो । होटलमा खानेपिउने भएपछि रात कटेको पक्कै भएन । बिहान उज्यालो हुँदा गुप्सी पाखाको तीनतिर हिमाल हाँसिरहेको थियो । अस्थायी बस्ती गुप्सी पाखालाई ऊर्जा थपेझै । भूकम्पको घाउमा मलम लगाएझैं । अघिल्लो दिनको जीउ दुखाइ सन्चो भइसकेको थिएन तैपनि सुन्दर दृश्यले हामीलाई जोस्यायो । हिमालमा हिउँ थपिएकाले पानी परेको उक्त दृश्य बयान गरी साध्य थिएन । भूकम्पको इपीसेन्टर बारपाकमा हरेक दिन नौला मान्छे आउनु अनौठो होइन, नयाँ आउँछन्, जान्छन् । बारपाकभन्दा अलि माथि लाप्राकमा बाक्लै मान्छे जान थालेको भूकम्प गएको १५ दिनपछि हो । बारपाक केन्द्रबिन्दु भएपछि सबैको ध्यान त्यतै तानियो । कान्तिपुरले लाप्राकको स्थिति बाहिर ल्याएपछि मात्र सरकार र गैरसरकारी संस्थाको ध्यान केन्द्रित भएको थियो । अहिले बारपाक जाने जो कोही लाप्राक पुगेर फर्कन्छन् । लाप्राकको नयाँ बस्तीमा जे जति भएको छ, सरकारी र गैरसरकारी संस्थानको योगदान छ । सानो ट्वाइलेट बनाए पनि त्यसमा ठूलो स्टिकर टासेरै भए पनि योगदान गरेका छन् । लाप्राकको दु:ख देखेरै होला, गैरआवासीय नेपाली संगठन (एनआरएन) ले पूरै बस्ती निर्माण गरिदिने भएको छ । कुनै बेलाको भेडा–बाख्रा, गाई–भैंसी चराउने खर्क केही महिनापछि सुन्दर बस्ती बन्नेछ । जब त्यो बस्तीले पूर्णता पाउनेछ, त्यस बेला लाप्राक सुन्दर पर्यटकीय नमुना गाउँ हुनेछ । अनि सायद भनिनेछ, भूकम्पले जन्माएको स्वर्गको टुक्रा । लाप्राक आफ्नै पाखुराले बाँचेको गुरुङ गाउँ हो । वर्षमा एक बाली मात्र लाग्छ, आलोपालो गरी गहुँ, जौ, मकै आलु । पुरुष विदेश वा ‘ट्रेकिङ’ जान्छन् । मनास्लु टेकिङ रुट त्यही गाउँ भएर जाने भएकाले ट्रेकिङ उनीहरूको एउटा पेसा हो । मुख्य पेसा भने कृषि हो । — लाप्राकीलाई गुप्सी पाखा बस्ने बाध्यता आइपरेको छ । बूढापाकाहरू अझै पनि पहिरोले घेरेको गाउँ छड्न मान्दा रहेनछन् । सय वर्षभन्दा पुरानो गाउँ भूकम्प जानुअघि पहिरो र गत वर्ष भूकम्पको चपेटामा पर्‍यो । ‘हाम्रा देउता यही गाउँमा छन्, माथि जान मनले मान्दैन,’ चर्किएको गाउँमा भेटिएकी एक वृद्धले भनिन् । पुरानो बस्ती वरिपरि बारी छ । उनीहरूका पुस्ता यही माटोमा जन्मे, यही माटोमा बिलाए । त्यसकारण पनि गुप्सी पाखा सर्न उनीहरूको मनले मानेको छैन । गुप्सी पाखासँग उनीहरूको अपनत्व गाँसिन बाँकी छ । बाध्यताको बस्ती हो यो । तर यो फुल्न लागेको कोपिलाजस्तो छ । कुनै दिन त्यो गुप्सी पाखा साँच्चिकै सुन्दर बस्ती हुनेछ । वरिपरि फुल्ने गुराँसजस्तै । लाप्राकका अगुवा गणेश गुरुङ भन्दै थिए, ‘बूढाहरू जब्बर छन्, माथि आउनै मान्दैनन् ।’ पानी पर्न थाल्यो भने मात्र उनीहरू बल्लतल्ल माथि उक्लिन्छन् । लाप्राको पुरानो गाउँबाट माथि उक्लिँदै गर्दा महिलाहरू नानीलाई थुन्सेमा हालेर आउँदै थिए । गुरुङ भाषामा नेपाली मिसाएर बोल्ने उनीहरू महिला स्वयंसेविका रहेछन् । तिनीहरूसँग रमाइलो बातचित भयो । गफैगफमा उकालो काटियो । गुप्सी पाखाभन्दा तल पुगेको सडकसम्म पुग्न हाम्रो गाडी थियो । ‘गुप्सी पाखासम्म जाने हो, लाने हो सर ?’ हामीले उनीहरूलाई पिकअप गाडीको पछाडिको ट्रलीमा राख्यौं । भार पाएपछि पिकअप पनि कच्ची बाटोमा मजाले उक्लिन थाल्यो । हाम्रा चालक पनि खुसी हुँदै भने, ‘बल्ल गाडीले भार पायो सर । बारपाकसम्म लानुपर्छ कि क्या हो ?’ गाडीमा हाँसो गुन्जियो । — लाप्राक पुरानो गाउँको बीचमा सानो चौरमा युवाहरू भलिबल खेलिरहेका थिए । पर गाउँमा ‘भूकम्पले गर्नुगर्‍यो,’ गीत बजिरहेको थियो । त्यो गीतले गाउँमा विरह थपिरहेको थियो । भूकम्पमा मृत्यु भएका परिवारलाई त्यो गीतले झन् पीडा दिन्थ्यो । छोरी र नातिनी गुमाएकी बुन्नी गुरुङ भूकम्पको कुरा गर्नेबित्तिकै भक्कानिइन् । पत्रकारको काम यति बेला गाह्रो हुन्छ, जति बेला प्रश्न पीडा बन्छ । लालीगुराँसजस्ती मृत्यु भएकी छोरीको तस्बिर देखाउँदै उनले भनिन्, ‘बिर्सूं भन्छु सकिंदैन । कुरा गरेपछि अलि हल्का हुन्छ ।’ गाउँको बीचमा केटाहरू भलिबल खेलिरहेका थिए । भूकम्प गएको एक वर्ष भएकै दिन त्यो दिन बिर्सने प्रयत्न गर्दै थिए । म पनि युवाहरूसँग भलिबल खेल्न मिसिएँ । मेरो खेल्न शैली देखेर उनीहरू अनुहार रातो हुने गरी हाँसे । भलिबल खेल्न नजानेर उनीहरूलाई हँसाउने मौका मिल्यो । त्यहाँ दुई पक्कीबाहेक छ सयभन्दा बढी घर सबै भत्किएका थिए । हाल सबैले बस्नलायक छाप्रा बनिसकेछन् । तल गाउँमा आफ्नै घर, माथि गुप्सी पाखामा अनुदानबाट बनेका अस्थायी टहरा । अब उनीहरूका माथि र तल घर हुनेछन् । हुनेखानले गुप्सी पाखामा राम्रो जग्गा लिइसकेछन् । नसक्ने छेउछाउतिर लागेछन् । आउँदै गर्नू, माया नमार्नू फरासिला छन्, लाप्राकी । सोधेको कुरा जानीनजानी बताउँछन् । बारपाकमा भने त्यस्तो छैन, केही कुरा सोध्यो कि झनक्क रिसाउने । घर कहिले बन्छ भन्ने प्रश्नमा एक वृद्धले मुखै छोडेर भने, ‘तिमी… पत्रकारलाई थाहा होला । हामीलाई सोध्छौ ।’ लाप्राक जो जान्छ, उनीहरू पाहुना हुन्छन् । चर्किएको पुरानो गाउँमा केही विदेशी पाहुना टेन्ट टागेर बसेका थिए । जिविसका प्राविधिक टोली पनि त्यहाँ थिए । थप पाहुना हामी भयौं । लाप्राक पुनर्निर्माणका अगुवा गणेश गुरुङ भन्दै थिए, ‘तपाईंहरू हाम्रो स्पेसल पाहुना हो । हाम्रा दु:खका कुरा राजधानी पुर्‍याउने तपाईंहरू नै हो ।’ गणेश बिहानभरि हामीसँग गाउँ घुमे । हामीलाई उकालो चढाएपछि उनी पुनर्निर्माणसम्बन्धी बैठकमा सहभागी हुन उनी गाउँ पसे । लाप्राकको पुरानो गाउँ गुज्जमुज्ज थियो, भत्कनुअघि पर्यटक दिनभर मजाले हराउँथे । गुप्सी पाखाको अस्थायी बस्तीमा स्वास्थ्य केन्द्र पनि सरेको छ । औषधिले टनाटन भरिएको छ । सरकार, दाताको अनुदानले औषधि अभाव रहेनछ । स्वास्थ्य केन्द्र प्रमुख अहेब अनार्द गुरुङ फरासिली रहिछन् । बिरामीलाई सकेजति सेवा गर्न पछि नपर्ने । मौसम फेरिएर होला मेरो टाउको दु:खेको थियो । औषधि लिनु थियो, संँगसँंगै अवस्थाबारे कुराकानी गर्ने मेसो मिल्यो । अनार्द भन्दै थिइन्, ‘चाहिने औषधि सबै छ, औषधि अनुदान दिने संघसंस्था आएका छन्, जिल्ला जनस्वास्थ्यको अनुमतिबिना लिन मिल्दैन । कति रिसाएर जानुहुन्छ ।’ हामीलाई सिटामोल दिंदै उनले हाँस्दै भनिन्, औषधि लिनेको नाम र ठेगाना लेख्नुपर्‍यो नि । नाम र घर रुकुम बताएपछि भन्दै थिइन्, ‘रुकुमका नयाँ बिरामी आउनुभयो, आउँदै गर्नू, माया नमार्नू ।’ धन्यवाद भन्दै कान्तिपुर टोली ‘लाप्राकी माया बिर्सन गाह्रो’ भन्दै उकालो लाग्यो । कान्तिपुरवाट  साभार