imageनालापानी किल्लामा मारिएका महिला र बालबालिका गोर्खाली सेनाका पक्षमा युद्ध लड्न गएका महिला थिएनन्। त्यो बेलाको गोर्खाली सेना हिन्दु उच्च जातिय पुरूषवादी सोचबाट निर्देशित फौज थियो जसमा महिलालाई फौजमा राख्ने कुरा कल्पना पनि गर्न सकिँदैन थियो।
– किल्लाभित्र मारिएका महिला र बालबालिका गोर्खाली सेनाले आफ्नो मनोरन्जनका लागि लगेका वादी महिला र तिनका केटाकेटी हुन सक्छन्। वा, कर्णालीपारिका थुम बस्तीहरूबाट करको भर्पाइ गर्न गोर्खाली फौजले तानेर ल्याइएका महिला पनि हुन सक्छन्।

नेपालको इतिहासमा नालापानी युद्ध जति चर्चित छ, त्यहाँ मारिएका महिला र बालबालिका को थिए भन्ने विषय त्यति नै गुमनाम छ। तर, यो विषयमा प्रश्न उठाउनु जरुरी छ।
यो युद्ध सन् १८८४ को ३१ अक्टोबरदेखि ३० नोभेम्बरसम्म भएको थियो। गोर्खाली सेना बलभद्र कुँवरको नेतृत्वमा नालापानीमा किल्ला गाडेर युद्धमा ओर्लिएको थियो। पहिलो आक्रमणमा गोर्खाली सेना विजयी भयो। धेरै अंग्रेज सेना मारिए। दोस्रो आक्रमणमा अंग्रेज सेनाको नेतृत्व गरिरहेका जनरल जिलेस्पी पनि मारिए। केही समयपछि कर्णेल माबीको नेतृत्वमा अंग्रेज सेनाले फेरि नालापानीमा आक्रमण गर्‍यो। यसपटक अंग्रेजले नेपाली सेनाको किल्लामा लगिएको पानीको मुहान बन्द गरिदिए। आफ्ना अधिकांश सैनिकको मृत्यु भएपछि बलभद्र कुँवर युद्ध छाडेर खलङ्गा किल्लातर्फ गए भनी नेपाली इतिहास भन्छ।
गोर्खाली सेनाको वीरता अहिले पनि संसार प्रसिद्ध छ। उनीहरू एकनिष्ठताका साथ लडेका थिए। नालापानी युद्धमा नेपाली सेना बहादुरीपूर्वक लडेको भनेर अंग्रेजहरूले पनि प्रशंसा गरेका छन्। उनीहरूले बलभद्र कुँवर र नेपाली सेनाको सम्मानमा स्मारक नै बनाएका छन्। विरोधी सेनाले आफूसँग लडेको सेनाका बारेमा प्रशंसा गरेर लेख्नु ठूलो कुरा हो।
यो युद्धपछि बलभद्र कुँवर कहाँ गए, के गरे भन्ने प्रस्ट छैन। उनी पन्जाबी राजा रणजित सिंहको सेनामा भर्ती भए भनिन्छ। तर, थप अनुसन्धान गर्न बाँकी छ। योसँगै प्रश्न उठाउनुपर्ने मुख्य पाटो किल्लाभित्र मारिएका महिला र बालबालिका को थिए भन्ने नै हो।
नालापानी युद्धपछि अंग्रेज सेनाका तर्फबाट लेखिएको संस्मरणमा त्यहाँ महिला र बालबालिका पनि मारिएका थिए भन्ने उल्लेख छ। नेपालको इतिहासमा भने ‘महिला र बालबालिका पनि वीरतापूर्वक लडेका थिए’ भनेर व्याख्या गरिएको छ। नेपाली महिलाको सौर्यगान जस्तो गरी यो विषय इतिहासमा पढाइन्छ।
के साँच्चै नालापानीमा गोर्खाली फौजका तर्फबाट महिला र बालबालिका पनि लडेका थिए त?
यस्तो दाबीको कुनै ठोस आधार भने भेटिँदैन।
गोर्खाली सेनाले कर्णालीपारि वा आजको सुदूरपश्चिमलाई नेपाल राज्यमा गाभ्दा र गाभेपछि पनि व्यापक दमन भएको थियो। त्यहाँ गोर्खाली सेनालाई अत्याचारी वा बलात्कारी सेनाका रूपमा चिनिन्थ्यो। त्यो समय युद्ध भएपछि यस्तो हुनु स्वाभाविक पनि थियो। डोटीका राजा दीप शाही र कुमाउँका राजनीतिज्ञ हर्षदेव जोशी त यसअघि अंग्रेजसँग मिलेर नै गोर्खाली सेनासँग लडेका थिए।
पानीको मुहान अंग्रेजहरूले बन्द गरेका कारण गोर्खाली सेना हारेको भनिन्छ। इतिहासमा कहीँकतै मुहान खोल्न जाँदा यति मारिए वा यस्तो झडप भयो भन्ने उल्लेख छैन। सामान्यतया पानीको मुहान भनेको सधैं स्थानीयको नियन्त्रणमा वा पहुँचमा हुन्छ। स्थानीय जनताले पनि पानीको मुहान खोलिदिन प्रयास नगरेको नै बुझिन्छ। कर्णालीपारिकै स्थानीय किल्लाभित्र रहेको भए उनीहरू पानी नपाएर मर्ने स्थिति आउँदा त्यहाँका स्थानीयले केही न केही गरेको वा गर्न खोजेको हुनुपर्ने हो। त्यस्तो भएको भए इतिहास लेखनमा त्यो प्रसंग लुकाउनुपर्ने जरूरी थिएन। यसप्रकारको इतिहासलाई आधार बनाएर हेर्दा स्थानीय जनता गोर्खाली सेनाको साथमा युद्ध मैदानमा नरहेको सजिलै बुझिन्छ।
अर्को कुरा गोर्खाली सेनाले कहिले पनि महिलाको भर्ती लिएको इतिहास छैन। आजको नेपाली सेना त्यही गोर्खाली सेनाको विकसित रूप हो। यो सेनामा पञ्चायत कालको अन्त्यतिरदेखि महिलालाई लिन थालिएको हो, त्यो पनि युद्धकार्यका लागि नभएर बन्दोबस्ती लगायतका कामका लागि मात्रै। पछि बहुदल आएपछि सबै सैन्य कामका लागि सानो संख्यामा महिलाको भर्ती सुरु गरिएको हो।
त्यो बेलाको गोर्खाली सेना हिन्दु उच्च जातिय पुरूषवादी सोचबाट निर्देशित फौज थियो जसमा महिलालाई फौजमा राख्ने कुरा कल्पना पनि गर्न सकिँदैन थियो। त्यसकारण गोर्खाली फौजले कर्णालीवारिबाट नै महिलाहरूलाई भर्ती गरेर लग्यो भन्ने त मान्नै सकिँदैन।
गोर्खाली फौजले महिलालाई भर्ती गरेको मान्दा पनि त्यहाँ अर्को प्रश्न उठ्छ- बालबालिका त्यहाँ किन आए त? फौजमा भर्ती भएका महिलाले युद्ध लड्न जाँदा आफ्ना छोराछोरी पनि लिएर त पक्कै गएनन्। यस तर्कले पनि गोर्खाली फौजमा महिला भर्ती भएका थिएनन् भन्ने नै पुष्टि हुन्छ।
गोर्खाली फौजले कर्णालीपारि विजय हासिल गरेपछि आफ्नो अधिनमा आएका राज्यहरूलाई कर तोकेको थियो। जसले कर तिर्थ्यो, उसलाई सजिलै थियो। जसले कर तिर्न सक्दैनथ्यो, उसले आफ्नो थुम बस्तीबाट चेलिबेटीसमेत करको भर्पाइस्वरूप गोर्खाली फौजलाई सुम्पनुपर्थ्यो। आफूले चाहेका युवती गोर्खाली सेनाले आफैं राख्थ्यो, बाँकी युवतीलाई काशीमा लगेर बेचिन्थ्यो। १० देखि १५० रूपैयाँसम्ममा पाँच सयजति महिलालाई गोर्खाली सेनाले बेचेको कुरा भारतको उत्तराखण्डको इतिहासका पुस्तक र कर्णालीपारिका बस्तीहरूको जनश्रुतीमा अहिले पनि जिउँदै छ। युद्धका कतिपय घटना र अत्याचारबारे थुप्रै लोकगीत नै छन्। यस्तो अवस्थाले भन्छ- स्थानीय महिला गोर्खाली फौजका लागि युद्ध लड्न आउने कुरै भएन।
त्यसैले, किल्लामा मारिएका महिला र बालबालिका गोर्खाली सेनाका पक्षमा युद्ध लड्न गएका महिला थिएनन् भन्ने पुष्टि हुन्छ। इतिहासमा अहिलेसम्म हामी जे पढिरहेका छौं, त्यो गलत छ भन्ने प्रमाणित हुन्छ। नेपाली महिलाहरूले साँच्चिकै युद्ध लडेका भए, एक एक सैनिकको नाम लेख्ने राज्यसत्ताले ती महिला नायिकाको नाम किन लेखेन त? उनीहरूमध्ये कोही अलि बहादुर लडाकु महिला भएको भए उनलाई पनि बलभद्रलाई झैं ‘आइकन’ बनाउन किन छोड्थ्यो? यो त अझ ठूलो गौरवको कुरा हुन्थ्यो। भृकुटी र सीताजस्ता पीडित नारीलाई त महान् नारीका रुपमा प्रस्तुत गर्ने राज्य नालापानीमा पछि पर्ने थिएन। तर ती महिला लडेकै थिएनन्, उनीहरू युद्ध लड्न गएकै थिएनन्। त्यसैले कसैको नाम उल्लेख भएन।
अब प्रश्न उठ्छ, को थिए त ती महिला र बालबालिका ?
जसरी ती महिला गोर्खाली फौजका पक्षमा युद्ध लड्न गएका थिएनन् भन्ने स्पष्ट हुन्छ, ती महिला को थिए भन्नेचाहिँ त्यति स्पष्ट हुँदैन।
मेरो अध्ययनमा यसका दुईवटा सम्भावना छन्।
पहिलो सम्भावना- ती वादी महिला हुन सक्छन्। भेरी वारिपारीका सल्यान, रुकुम र जाजरकोट लगायत राज्यहरू नेपालमा गाभिएपछि त्यहाँको वादी समुदाय अकस्मात दरबारको संरक्षणबाट सडकमा आइपुग्यो। उनीहरू जीविका चलाउनै नसक्ने अवस्थामा पुगे। उनीहरू दरबारको संरक्षणमा बस्थे। वादी महिलालाई ‘पातर’ भनिन्थ्यो। त्यसबेला पातर भनेका नर्तकी हुन्। उनीहरूलाई धेरै ठूलो सम्मान गरिन्थ्यो। उनीहरूलाई त्यसबेलासम्म छुवाछुत पनि गरिदैँन थियो भन्ने मानिन्छ।
युद्धमा हारेपछि भेरी नदी वारिपारीका राजा कोही काठमाडौंसँग सम्झौता गरेर काठमाडौंतिर गए। कोही भागेर भारततिर गए। निष्कर्षमा, उनीहरू कर उठाएर सोख गर्नबाट वञ्चित हुन पुगे। किनकि, त्यहाँको कर गोर्खाली फौजले उठाउन थाल्यो। पातरहरू एक्कासि रोजगारविहीन भए। यसअघि नाच्ने, गाउने र दरबारको संरक्षणमा बस्ने भएकाले उनीहरू खेतीपाती पनि गर्दैनथे। उनीहरू जे गरेर भए पनि जीविका चलाउनुपर्ने ठाउँमा पुगेका थिए। त्यसैकारण उनीहरू यौन अत्याचार भोग्नसमेत बाध्य हुने अवस्थामा पुगे। पछि उनीहरूमाथि छुवाछुत थोपरियो।

यसअघि त्यो समाजका राजा-महाराजा, सामन्तहरूले निम्तो गरेर विशेष अवसरमा नाच्ने महिलालाई गोर्खाली सेनाले सडकमा आएको अवस्थामा फेला पारेको थियो। फौजको रमाइलोका लागि उनीहरूलाई नाच्न लगाउन सजिलो त भयो नै, उनीहरूमाथि यौन शोषण पनि गर्न सकिने अवस्था भयो। यसरी फौजको मनोरञ्जनका लागि किल्लामा लगिएका महिलाले आफ्नो बालबच्चा त छोड्न सक्दैन थिए। त्यसैले, उनीहरू आफ्ना बालबच्चासहित किल्लामा लगिएका थिए। किल्लाभित्र मारिएका महिला र बालबालिका तिनै वादी पातर महिला हुन सक्छन्।
दोस्रो सम्भावना- गोर्खाली फौजले तोकेको कर बुझाउन नसकेपछि कर्णालीपारिका थुम बस्तीहरूबाट करको भर्पाइ गर्न गोर्खाली फौजले तानेर ल्याइएका महिला हुन सक्छन्। जसलाई उनीहरूले काशी लगेर बिक्री नगरी आफैंसँग भोगविलासका निम्ति राखेका थिए। गोर्खाली फौजले कर्णालीपारि दखल गरेपछि नतिरेको कर भुक्तानीका रुपमा महिलाहरू लिने गरेकाले त्यतिबेलासम्म ती महिलाबाट सन्तान जन्मिसकेको हुनसक्ने सम्भावनालाई इन्कार पनि गर्न सकिन्न। यसरी त्यस किल्लामा मारिएका महिला र बालबालिका यी पनि हुनसक्छन्।
भेरी नदी वारिपारिदेखि कर्णाली वारिपारिसम्मको समाजशास्त्र, इतिहास र जनश्रुति हेर्दा यी दुई सम्भावना प्रमाणित हुनसक्ने आधार भेटिन्छ। नालापानी युद्धमा नेपाली महिलाहरू वीरतापूर्वक लडेका थिए र लडाइँमा भाग लिन उनीहरू किल्लामा बसेका थिए भन्ने दाबी गलत हो भनेर सजिलै भन्न सकिन्छ। यो त सत्य ढाकछोप गर्न र झुट स्थापित गर्न अतिरञ्जित गरी बनाइएको पञ्चायती इतिहास मात्रै हो।
किल्लामा मारिएका ती महिला जो भए पनि नेपाली हुन्। नेपालीहरूले अंग्रेजसँगको युद्धमा गरेको वीरताको बयान गर्दा त्यतिबेलाको गोर्खाली फौजले नेपाली महिलामाथि गरेको अत्याचारलाई छोप्न मिल्छ र? मिल्दैन। यो इतिहास बाहिर ल्याउँदा नेपाली सेनाको मानमर्यादामा आँच आउने कुरा होइन। यो त त्यतिबेलाको परिघटना हो, त्यसबेलाको राज्यको नीति हो। नेपाली सेना वीरतापूर्वक लडेको छ, रगत बगाएको छ, त्यसको महिमागान गर्ने कुरा एउटा पाटो भयो। तर, त्यसभित्र निरपराध नेपाली महिला र बच्चा युद्धमा मारिनुपर्ने जुन परिस्थिति निर्माण भयो, त्यो शोषणको विशिष्ट चक्र थियो भन्ने कुरा किन नभन्ने?

कर्णालीपारिका मानिस अहिले पनि वारिकालाई पूर्वीया भनेर फरक दृष्टिले हेर्छन्। यस्तो दृष्टिकोण त्यसै बनेको त होइन, बरू त्यही दर्दनाक इतिहासको निरन्तरता नै हो। त्यो घृणाको कारण त इतिहासमा छोपिएको छ। इतिहासमा छोपिएको तथ्यलाई आज पनि न्याय गरेनौं भने उनीहरूको मनमा अहिले पनि घृणा भइरहने भयो। अत्याचार भएको विषयलाई एक हजार वर्षपछि भए पनि जस्ताको तस्तै अत्याचार नै हो भन्न सक्नुपर्छ। मानवचेतना र अरूमा एउटा फरक यही त हो। हाम्रो इतिहासको थुप्रै सन्दर्भ गलत सूचना लुकाउने या मनगढन्ते सूचना दिने गरी पञ्चायतले तयार पार्यो। त्यसरी त नयाँ पुस्ता अगाडि जान सक्दैन वा भ्रममा बाँच्न बाध्य हुन्छ। इतिहासमा भएका अत्याचारलाई छोप्दै जाने, फेरि नयाँ अत्याचार गर्दै जाने, यसरी मानिसको मनमा घृणा रहिरहने हो भने त समाज कसरी अगाडि जान सक्छ?
त्यसैले, यो महत्वपूर्ण घटनाको कथित इतिहाससँग नयाँ पुस्ताले जोरी खोज्नै पर्छ, थप अनुसन्धान आवश्यक छ।-  आहुति