[jcolumns model=”4,3″ inbordercss=”1px double gray”] हामी खस नेपाली भाषाको गीत–संगीतको प्रगति भयो भनिरहेका छौं। एउटा कोणबाट हेर्दा प्रगति भएको छ। यसले कोइलीदेवी, तारादेवी जन्मायो। यसले नारायण गोपालहरु जन्मायो। गोपाल योञ्जन, अम्बर गुरुङजस्ता प्रतिभालाई लिएर आयो र एउटा विरासत निर्माण गर्यो। तर, खस नेपाली भाषाका प्रत्येक लोक गीतसंगीत र त्यसको हजारौं वर्षको शास्त्रीयताको रक्षा भएन, त्यो मौलिकता क्रमशः मर्दै आयो। [jcol/]नेपालका एक प्रख्यात संगीतकारले चीनमा प्रस्तुति दिएपछि चिनियाँहरूको टिप्पणी संगीतकर्मीहरूबीच चर्चित छ। चिनियाँहरूले यस्तो टिप्पणी गरेछन्, ‘उहाँ निकै उच्चस्तरको संगीतकार हुनुहुँदोरहेछ तर संगीतचाहिँ भारतीय बजाउनु हुँदोरहेछ!’ टिप्पणी निकै नै गम्भीर र मर्मस्पर्सी छ।[/jcolumns]

imageनेपालमा लामो समयसम्म संस्कृति भनेका चाडपर्व र जात्रा मात्रै हुन् भन्नेजस्तो बुझाइ रहँदै आयो। तर, मानिसको दिमाग र हातले निर्माण गरेका प्रत्येक चिज संस्कृतिका अंग हुन्। ती सबैको समुच्चय संस्कृति हो भन्ने बुझाइले ठोस आकार र मान्यता प्राप्त गरिसकेको छ।

यसर्थ ललितकलाका सबै आयाम, दार्शनिक सोचको तरिका, वास्तुकला, औषधिशास्त्र, खाद्यशास्त्र, खेतीपातीको प्रविधि आदि सबै नै संस्कृतिका अंग हुन् भन्ने स्पष्ट नै छ। कुनै जाति, राष्ट्र र देश आफ्नो मौलिक संस्कृतिको जगमै एउटा पृथक राष्ट्रका रूपमा परिचित र गौरवान्वित हुने गर्दछ भनी धेरैले पटकपटक भन्ने गरेकै विषय हो।

नेपालमा सरकारी चलनचल्तीमा देवनागरी लिपि चलाइन्छ, तर राष्ट्रसंघको सदस्यता लिँदा नेपालले आफ्नो मौलिक लिपिका रूपमा नेपाल भाषामा प्रयोग गरिंदै आएको रञ्जना लिपि प्रस्तुत गरी आफू अलग राष्ट्र भएको दाबी गरेर सदस्यता लियो। जुन नेपाल भाषा नेपालमा दमनमा परेको थियो र छ, त्यसैको लिपिले नेपाललाई पृथक राष्ट्रको मान्यता दिलाउन भूमिका खेल्यो।

यही दृष्टान्तबाट पनि प्रस्ट हुन्छ, हाम्रो मौलिक संस्कृतिको महत्व कति छ!

नेपालको आधुनिक संस्कृतिको इतिहास भने मौलिक नेपाली संस्कृति मृत्युको इतिहास बन्दै छ। हामी आफैं त्यो इतिहासको पात्रका रुपमा भूमिका निर्वाह गरिरहेका छौं। जब नेपालमा आधुनिक संस्कृति निर्माणको क्रम सुरु भयो, तब मौलिक संस्कृति मर्ने क्रम पनि सुरु भयो। यो क्रम अहिले पनि जारी छ।

नेपालको आधुनिक सांस्कृतिक यात्रा पृथ्वीनारायण शाहको राज्य विस्तारसँगै सुरु हुन्छ। त्यसपछि नेपाल–अंग्रेज युद्ध र सुगौली सन्धी, जंगबहादुरको बेलायत यात्रा, चन्द्रशमशेरको बेलायत यात्रा सँगसँगै अघि बढ्छ। विसं २००७ सालपछि यसले अझ तीव्र गति लिँदै आएको छ।

यसलाई गहिरिएर हेर्यो भने संस्कृतिका विविध क्षेत्रको प्रगतिको इतिहास हाम्रो मौलिक संस्कृतिको क्रमशः मृत्यको इतिहासका रुपमा देखिन्छ। किनभने, कुनै पनि देश, राष्ट्र वा समुदाय आफ्नै मौलिक संस्कृतिसहित मात्रै समुदाय वा राष्ट्रका रुपमा जीवित हुन्छ। प्राणीहरुमध्ये मानिस मात्रै सांस्कृतिक प्राणी हो। यही संस्कृतिले मानिसको जीवन र चेतनाको परिचय दिन्छ।

हाम्रो गीत–संगीतको मृत्युको इतिहास हेरौं। नेपाली गीत–संगीत रेडियो नेपाल स्थापना हुनुपुर्व धनी थियो कि त्यसपछि? मौलिक नेपाली गीत–संगीतको कुरा गर्ने हो भने रेडियो नेपाल स्थापनापूर्व धनी थियो। रेडियो नेपालको स्थापनासँगै निश्चित भाषाको गीत र निश्चित प्रवृत्तिको संगीतलाई देशव्यापी बनाउने क्रम सुरु भयो। नेपालका सयौं भाषाका लोकगीत र यी गीतसँग जोडिएका संगीतका परम्परामाथि हस्तक्षेपलाई निरन्तरता दियो। यी सबै लोकगीत र संगीत नेपालका मौलिकता थिए, यिनीहरु मर्ने क्रम सुरु भयो।

हामी खस नेपाली भाषाको गीत–संगीतको प्रगति भयो भनिरहेका छौं। एउटा कोणबाट हेर्दा प्रगति भएको छ। एउटा निश्चित प्रवृत्तिको प्रगति नै भयो। यसले कोइलीदेवी, तारादेवी जन्मायो। यसले नारायण गोपालहरु जन्मायो। गोपाल योञ्जन, अम्बर गुरुङजस्ता प्रतिभालाई लिएर आयो र एउटा विरासत निर्माण गर्यो। तर, खस नेपाली भाषाका प्रत्येक लोक गीतसंगीत र त्यसको हजारौं वर्षको शास्त्रीयताको रक्षा भएन, त्यो मौलिकता क्रमशः मर्दै आयो।

नेपालका एक प्रख्यात संगीतकारले चीनमा प्रस्तुति दिएपछि चिनियाँहरूको टिप्पणी संगीतकर्मीहरूबीच चर्चित छ। चिनियाँहरूले यस्तो टिप्पणी गरेछन्, ‘उहाँ निकै उच्चस्तरको संगीतकार हुनुहुँदोरहेछ तर संगीतचाहिँ भारतीय बजाउनु हुँदोरहेछ!’ टिप्पणी निकै नै गम्भीर र मर्मस्पर्सी छ।

हामीले ‘सारेगमपधनि’ नै संगीतको एकमात्र भाषा हो भन्ने अर्थमा पढ्दै र बुझ्दै आयौं। खस नेपाली भाषाका प्रत्येक लोकगीत ‘सारेगमपधनि’ मा नै सिर्जना गरिएका थिए? खसआर्य समुदायमा खाँडो जगाउने परम्परा छ। खाँडो जगाउँदा प्रयोग गरिने लय पनि पूर्वीया वा भारतीय शास्त्रीय संगीतकै आधारमा सिर्जना गरिएको थियो त?

प्रधानमन्त्रीले गएको महिना प्रगतिशील लेखक संघको सम्मेलनमा भने, ‘हामी त्यस्ता ऋृषिमुनिका सन्तान हौं जसले सात सूरको आविष्कार गरे, न त्यो अब आठ बनाउन सकिन्छ न छ सुरमा झार्न सकिन्छ।’ नेपालको सत्ताधारी धारको परम्परागत बुझाइको यो उत्कृष्ट नमूना हो जुन सत्य होइन।

‘सारेगमपधनि’ बाहेक संसारमा संगीतका अरु पनि थुप्रै भाषा छन्। के चिनियाँ संगीतलाई ‘सारेगमपधनि’ ले समेट्न सक्छ? अफ्रिकाको लोक संगीत सात सुरभित्र समाहित छ कि अलग? के ‘सारेगमपधनि’ कै सुत्र प्रयोग गरेर लिम्बू संस्कृति र भाषालाई न्याय हुने गरी मुन्धुम भट्याउन सकिन्छ?

सभ्यताको स्तरमा विकास भएका प्रत्येक संगीतले आफ्नो भाषा र व्याकरण बनाएकै हुन्छ, भलै त्यो लिखित र प्रागिक बनाइनसकिएको हुन सक्छ। नेपालमा रहेका प्रत्येक भाषाका लोक संगीत पनि आफ्नो शास्त्रीयता सहित थिए र छन्। त्यसैले नै हाम्रा मौलिक संगीत हजारौं वर्ष बाँचेका थिए। जस्तो, राई लिम्बू संस्कृतिको मुन्धुमलाई सारेगमपधनिसा भित्र राखेर गाउन खोज्दा मिल्छ? मिल्दैन। त्यो संगीतको छुट्टै शास्त्र छ।

हामीले गंगामैदानमा विकसित शास्त्रीय संगीतको आधारमा खस नेपाली भाषामा संगीतको विकास गर्यौं। यो विकासले मौलिक खस नेपाली भाषा परम्पराका विविध सुरहरुको रक्षा चाहिँ भएन। यसले भारतमा विकास भएको एउटा निश्चित प्रकारको संगीतलाई नै हाम्रो भाषामा फलाउने फूलाउने काम मात्रै गर्यो। यो निकै गम्भीर विषय हो।

सिञ्जाली सभ्यताबाट विकास भएर आएको खस नेपाली भाषाको मौलिक संगीतको पनि मृत्यु हुँदै गएको देखिन्छ। चार–पाँच हजार वर्ष लगाएर यो समुदायले विकास गरेको संगीत भारतीय शास्त्रीय संगीत होइन। अहिलेसम्म नेपालमा ठूल्ठूला संगीतकारहरुले महत्वपूर्ण योगदान गरे। तर, उनीहरुले खस नेपाली भाषाको मौलिक संगीत परम्पराको विकास र रक्षा गरेनन्। उनीहरुले त विश्वले चिनेको भारतीय शास्त्रीय संगीतको अभ्यास खस नेपाली भाषामा गरे। जसकारण मौलिक खस नेपाली संगीत परम्परा भने मर्दै गयो। अहिले केही भाका र संगीत अवशेषको रुपमा मात्र बाँकी छन्।

राज्यले आफ्नो भाषा ठानेको खस नेपाली संगीतको इतिहास त यसरी मर्दै गएको छ भने अरु भाषाका संगीत परम्पराको अवस्था के होला? हामी सहजै अनुमान गर्न सक्छौं।

नेपालमा प्रत्येक समुदायका आ–आफ्नै भाषा र संस्कृति छन्। ती सबैसँग आफ्नै मौलिक संगीत परम्परा थियो। तर राज्यले ती संस्कृतिमाथि दमन गर्यो। फलस्वरुपः ती मौलिक संगीत परम्परा पनि मर्दै गए। कतिपय समुदायको त संगीत परम्परा कस्तो थियो भनेर थाहा पाउन पनि मुस्किल हुने अवस्था आएको छ। नेपाली गीतसंगीतको आधुनिक इतिहासलाई नेपालको मौलिक लोक संगीत परम्परा मृत्युको इतिहास पनि हो भन्ने कोणबाट गम्भीर बहस अब सुरू हुनैपर्छ। लेखक- आहुति