gaipalan

हरि कोईराला
२६ भाद्र २०७३

र्लाबारीमोरङ राजघाट –८ को लक्ष्मी ब्यावसायिक पशुपालन समूहले शनिबार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रम स्थानीय जल्पादेवी मन्दिर परिसरमा भएको हो । कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय मोरङको उर्लाबारी सेवा केन्द्रका प्रमुख श्यामनन्द यादवले समूह र पशु सेवा कार्यालय मोरङबीच भएको साझेदारी गाई पालन कार्यक्रमका विषयमा किसानलाई सहजीकरण गराउनु भएको थियो ।

सरकारी स्तरबाट यादव र समूहका तर्फबाट अध्यक्ष खड्गबहादुर कार्कीले किसानले उठाएका जिज्ञाषाको जवाफ दिनु भएको थियो । २०५७ सालमा स्थापना भएको समूहका ५० किसान मध्ये १० जनाले ब्यावसायिक रुपमा गाई पाल्दै आएका छन् । पछिल्लो समय नजिकैका गाउँहरू शहरमा रुपान्तरण हुँदै जाँदा दूधको माग पनि बढ्दै गएकोले अरु ४० जना किसान पनि ब्यावसायिक गाईपालनमा आकर्षित भएपछि पशु सेवा कार्यलयको सहयोगमा गाईपालन कार्यक्रम सञ्चालनमा ल्याइएको कोषाध्यक्ष डिल्ली नेपालले बताउनु भयो ।

नेपालका अनुशार पशु सेवा कार्यालयले समूहलाई कार्यक्रम सञ्चालन गर्न ४ लाख रुपैयाँ अनुदान दिएको छ । जसमा समूहले ४ लाख रुपैयाँ थप गरी ब्यावसायिक घाँस उत्पादनका लागि ३० हजार,भ्रमण अवलोकनका लागि ६० हजार,तालिमका लागि ५० हजार र खोप कार्यक्रमका लागि २० हजार रुपैयाँ खर्च गर्ने भएको छ । बाँकी रकम ५० जना किसानलाई १२÷१२ हजार रुपैयाँका दरले अनुदान दिइने सचिव नीरबहादुर कार्कीले बताउनु भयो ।

जिल्ला पुश सेवा कार्यालय मोरङमा दर्ता भई सञ्चालनमा आएको समूहमा हाल १२ लाख रुपैयाँ जम्मा भएको छ । किसानहरूले मासिक १ सय रुपैयाँ नियमित बचत गर्दै आएका छन् । हाल किसानहरूले सो क्षेत्रबाट दैनिक २ सय ५० लिटर दूध नजिकैको बजारमा बिक्री गर्दै आएका छन् ।