14699832_1166040716818505_988535718_n

पथरी समाचारदाता
असोज २९, शनिबार
मोरङको पथरीशनिश्चरे १ मा अवस्थित मनोहर पार्कमा शुक्रबार साँझ हारमोनियम र तबलाको धून गुन्जिरहेको थियो । ती दुई वाद्यवाधनको समिश्रणमा ‘चङ्गा जस्तो नउड्नु, चरा जस्तै उड्नु…’ भन्दै गीत गाइरहेका थिए गायक विनोद राई । त्यो शब्दले सबैको मन खिचेको थियो ।

चलचित्र पत्रकार संघ पूर्वाञ्चलको आयोजनामा भएको विनोद राईको ‘पारा’ गीति एल्वमको परिचर्चा समारोह थियो सो पार्कमा । त्यही भएर भेला भएका थिए संगीतका डाइहार्ट फ्यान, साहित्यकार, पत्रकार, व्यापारी र शिक्षकहरु ।

इलामको लुम्देमा जन्मिएका गायक राई पथरीबाट नै सांगीतिक फाटमा उदाएका हुन् त्यही भएर एल्वम विमोचन काठमाडौंमा गरेपनि एल्वमको बारेमा विस्तृत जानकारी दिन र गीत प्रस्तुत गर्न परिचर्चा कार्यक्रमको आयोजना गरेको उनले सुनाउँदै थिए त्यस कार्यक्रममा । सो समारोहमा विनोदले आफ्ना उतार चढावका कुराहरु सुनाउँदै लाइभ प्रस्तुति पनि दिन भ्याए । उनले ‘पारा…’, ‘आँखाभरि सपना..’, ‘सिरानीमा तिम्रो मेरो….’ र ‘सेवारो…’बोल गीत सुनाएर उपस्थित सबैलाई भावविभल बनाए ।

14696787_1166040723485171_695431564_n

चलचित्र पत्रकार संघ पूर्वाञ्चलका अध्यक्ष सन्तोष राईको सभापतित्वमा भएको सो कार्यक्रममा पथरी उद्याग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङ, रेडियो सिम्रिकका अध्यक्ष अमिर राई, लायन्स क्लब पथरीशनिश्चरेका अध्यक्ष तुलसी ढकाल र साहित्यकार रोहित पराइले शुभकामना मन्तव्य राखेका थिए ।

‘पारा’ एल्वममा प्रकाश आङ्देम्बे, पुरुषोत्तम ढुंगेल, बासु थापा पुलामी, युगल लुम्फुवा“ र रोशन सुवेदीको शब्द रहेको छ । पारस मुकारुङ, मनोजराज शिवाकोटी, अनिल फागो, देव गुरुङ, कमल रसाइली, बाबु बोगटीले संगीत भरेका छन् भने नोर्बु शेर्पा, फणिन्द्र राई, किरण कंडेल, अशोक राई, राजन इसान र मोहित मुनालको ‘पारा’मा संगीत संयोजन रहेको छ ।

14694692_1166040753485168_1188164252_n