maxresdefault

१७ अक्टोबर / २०१६

चलचित्र छक्कापञ्जाको एकोहोरो तारिफ भइरहेको छ । हिन्दी फिल्मले नेपाली बजारमा जमाएको कब्जा तोड्न सफल छक्का पञ्जाको सफलताले नेपाली चलचित्र प्रेमी जो कोही प्रशन्न हुनु स्वभाविक हो । छक्कापञ्जा मनोरञ्जनपूर्ण, हास्यप्रधान चलचित्र हो भन्ने कुरामा कुनै विमति राख्न आवश्यक छैन । छायांकन, संवाद, अभिनय, प्रस्तुती आदि हिसाबले यो चलचित्रमा खोट लगाउने ठाउँ पाइन्न । चानचुन त्रुटि उल्लेख गर्नु भनेको नियत नै आलोचना गर्ने रहेछ भन्ने बुझिन्छ । तर चलचित्र छक्का पञ्जामा केही यस्ता महाभूल छन् जुन उल्लेख गर्न आवश्यक हुन्छ ।

विदेश जानेका श्रीमती सबै उस्तै हुन्ः वैदेशिक रोजगारीमा जाने युवाका पत्नीहरु सबै परपुरुषसँग लस्किन्छन् भन्ने मान्यता चलचित्रले स्थापित गर्न खोजे जस्तो लाग्छ । चलचित्रमा देखाइएका सबै महिलाहरु परपुरुषसँग लस्किएकै मात्रै छन् । अर्काकी पत्नी ताक्दै हिँड्ने पुरुषलाई कुनै महिलाले पनि थप्पड हानेको घटना देखाइँदैन । मानौं जसका पति विदेशमा हुन्छन् तिनका सबै पत्नी नेपालमा परपुरुषसँगै सम्बन्धमै हुन्छन् । सबैलाई एउटै टोकरीमा राखेर देखाइदिँदा विदेशमा रहेका लाखौ नेपाली युवाहरुले नेपालमा रहेका आफ्नी पत्नीलाई कसरी सम्झिदा हुन् ? वैदेशिक रोजगारीले सामाजिक समस्या सिर्जना गरिरहेको छ । फिल्मले त्यसलाई अझै बल पुर्याएको जस्तो लाग्छ ।

पुरुषलाई पनि अपमानः चलचित्र सकिने बेलामा कलाकार बुद्धि तामाङ पनि कामका लागि विदेश जाने निधोमा पुग्छन् । अनि गाउँका सबै युवालाई ‘लाइन’ लगाएर आफ्नी पत्नीसँग भाइटीका लगाइदिन्छन् । दृश्य हसाउँनका लागि राखिएको हो भन्ने कुरामा सहमत हुन सकिन्छ । तर यसले दिने सन्देश चाहिँ नमिठो लाग्छ । यो दृश्यले एक त कुनै पनि महिला विश्वास योग्य हुँदैनन् र युवा पनि सबै एउटै ड्याङका मुला हुन् भन्ने बुझाउँछ । समाजमा परपुरुषसँग लाग्ने र परस्त्रीसँग लाग्ने सबै खाले मानिस हुन्छन् । तर यसको मतलव सबै त्यस्तै हुन्छन् भन्न कसरी सकिन्छ ? विषयलाई सामान्यीकरण गर्नु चलचित्रको महाभूल हो ।

नेपालीहरु विदेशमै काम गर्न जन्मिने गर्छन्ः यो चलचित्रले स्थापित गर्न खोजको अर्को विषय के हो भने नेपालीहरुको जन्म नै विदेशमा काम गर्नका लागि हुने गर्छ । अर्थात चलचित्रमा गाउँका आवारा केटाहरु सबै नै विदेश पलायन भएको देखाइन्छ । दीपकराज गिरी (पात्रः भगवान) चाहिँ पुख्र्यौैंली सम्पन्न भएका कारण उ विदेश जाँदैन । केदार घिमिरे (पात्रः माग्ने बुढा) विदेश जान हिड्छ । तर काठमाडौंमा मिर्गौला बेचेर गुण्डागर्दी शुरु गर्छ । कम्तिमा एउटा पात्रले मात्रै भए पनि नेपालमै केही गर्न सकिन्छ भन्ने सन्देश दिएको भए अझ राम्रो हुने थियो । युवाहरुले नेपालमा केही काम पाउँदैनन्, कि मिर्गोला बेच्ने कि गुण्डागर्दी गर्ने मात्रै हो भन्ने जस्तो लाग्छ ।

chhakka-panja-mm-702x336

कबड्डी कबड्डीको सिकोः छक्का पञ्जामा मौलिकता अधिक छ । तर दीपकराज गिरीको ड्रेस अप र तौरतरिका कबड्डी कबड्डीमा दयाहाङ राईको जस्तो लाग्छ । टोपी, चश्मा, हाफ कोट, हेलमेट नलगाई मोटरसाइकल चलाउने आदि । कबड्डीका काजी र छक्कापञ्जाका राजाको धेरै शैली मिल्दो लाग्छ । यद्यपि यो शैली राम्रै छ ।

सस्पेन्स सिर्जना गर्न खोज्दा प्राविधिक गडबडीः कथाको महत्वपूर्ण मोड स्वभाविक नभएर प्रायोजित हो भन्ने देखाइन्छ । जुन हेर्दा मज्जा पनि लाग्छ । दीपकराज गिरी (भगवान) र चम्पा (प्रियंका कार्की) बीच विवाहको कुरा टुंगिन्छ । यसपछिको दृश्यमा दीपकसँग नाजायज सम्बन्ध राख्ने महिला पात्र( कथामा शिवहरी पौडेलकी पत्नी) ले उनीसँग बेदना पोख्छिन् । छातीमा टाँसिन्छिन् । त्यो दृश्य शिवहरीले देखेको अन्तिममा खुलासा गरिन्छ । अनि शिवहरीले योजना बनाएको देखाइन्छ । शिवहरीले देखेको दृश्य पछि विवाहको नाटक गरिएको कुरा कसरी पत्याउने ? जबकी विवाहको प्रक्रिया त्यसअघि नै अगाडि बढीसकेको हुन्छ । यहाँ सस्पेन्स सिर्जना गर्न खोज्दा निर्देशक चिप्लेको देखिन्छ ।

अमिल्दो शर्तः शिवहरीले प्रतिशोध लिन समस्यामा रहेकी एक युवतीलाई भन्छन् कि ‘तिमीलाई १० लाख दिन्छु । विवाहको नाटक गर । अनि अन्तिममा विवाह चाहिँ मैसँग गर्नुपर्छ ।’ पैसाको बलमा नक्कली विवाह गराउने, अन्तिममा श्रीमती पनि बनाउने शर्त स्वभाविक लाग्दैन । विवाह पैसाको बलमा कि विश्वासको आधारमा हुनुपर्छ ?

यौन सम्बन्ध राख्न हुने घरजम गर्न नहुनेः चलचित्रका पात्रले अर्काकी पत्नीसँग सम्बन्ध राख्छन् । गर्भवती बनाउँछन् । तर जब उनैसँग घरजम गर्ने बेला हुन्छ अनि ती पात्र जोगी बन्छन् । अर्काकी पत्नीसँग सम्बन्ध राख्न हुने, गर्भवती बनाउन हुने, भावनासँग खेलवाड गर्न हुने तर घरजम गरेको देखाउँन चाहिँ किन नहुने ?

यस्ता गडबडी प्रशस्तै छन् चलचित्रमा । यसो भन्दैमा यो फिल्म कमजोर भने छैन । धेरै कोणबाट सशक्त छ । मनोरञ्जन दिन सफल छ । हाँस्न बाध्य बनाउँछ । कथावस्तु हाम्रै समाजको लिइएको छ । बेजोड प्रस्तुती छ । फिल्म बनाउन अक्कल चाहिन्छ, हिन्दी फिल्मको नक्कल गर्ने दिन गए भन्ने प्रमाणित गर्न यो चलचित्र काफी छ । फिल्मले १२ करोडमाथिको व्यापार गरेको खबर केही दिन अघि बाहिरिएको थियो । अझै १२ करोड कमाउनु पर्छ यो चलचित्रले । ९२ लाखमा बनेको फिल्मले १० गुणा बढी कमाउँदा अरु १० वटा फिल्म बन्छन् । २५ गुणा बढी कमाउँदा २५ वटा नयाँ फिल्म बन्छन् । फिल्म उद्योग फस्टाउँछ ।

नेपाल अाजबाट