काठमाण्डौ, जेठ २७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारले आतंकवादलाई आर्थिक सहयोग पुर्याउने गरेको आरोप लगाएका छन्। उनले भने, ‘आतंकवादलाई सहयोग कतारको लागि असहज यात्रा हुनेछ।’ तर कतारले आतंकवादलाई आफूले सहयोग नगरेको दावी गरिरहेको छ।

यसैबीच, कतारमाथि लागेको नाकावन्दीको विषयमा पनि ह्वाइट हाउसले प्रतिक्रिया दिएको छ। अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले कतारविरुद्धको नाकाबन्दी खुकुलो पार्न साउदी अरेबिया तथा अन्य खाडी देशलाई आग्रह गरेका छन्। उनको यो आग्रहलगत्तै ट्रम्पले कतारको विषयमा यो प्रतिक्रिया दिएका हुन्।

विदेशमन्त्री टिलरसनले पछिल्ला घटनाक्रमका कारण अमेरिकी सेनाको सो क्षेत्रको कारबाही र आइएसविरुद्धको लडाईंमा असर परेको बताए।

तेल तथा ग्यासमा समृद्ध खाडी मुलुक कतारलाई उसका शक्तिशाली अरब छिमेकीहरु साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन तथा इजिप्टले यसै साता अकस्मात् एक्ल्याउने निर्णय गरेका थिए।

यो निर्णयसँगै साउदी अरेबियाले कतारसँग उसको स्थल सीमामार्ग बन्द गराएको छ। कतारका विमानलाई छिमेकीका हवाईमार्ग समेत प्रयोग गर्न बन्देज लगाइएको छ।

छिमेकी खाडी मुलुकहरुले कतारले गाजा क्षेत्रमा प्यालेष्टाइनी इस्लामवादी समूह हमास, इजिप्टमा मुस्लिम ब्रदरहुडसँग सम्बन्धविच्छेद गर्नुपर्ने भनिरहेको छ।

कतार

कतार

‘हामी सफल र प्रगतिशील मुलुक भएकाले एक्ल्याइएको हो,’ बिहीबार कतारका विदेशमन्त्री शेख मोहम्मदले भने, ‘हामी आत्मसमर्पण गर्न तयार छैनौं। हाम्रो विदेश नीतिको स्वतन्त्रता आत्मसमर्पण गर्न हामी कहिल्यै तयार हुने छैनौं।’ बीबीसीबाट