for vedio please click here

साप्तिङटार (धनकुटा) ।

आखिसल्ला–२ साप्तिङटारकी सावित्रा खपा¨ीको दिनचर्या हिजोआज वाख्रा हेरचाह वित्ने गर्छ । उन्नत जातका २८ माउ वाख्रा पालेकी उनको बर्षमा खर्च कटाएर डेढ लाख रुपैया आम्दानी हुन्छ । छिमेकी सम्झना भण्डारीले पनि १५ माउ वाख्रा पालिरहेकी छिन् । वर्षमा २२ ओटा सम्म उन्नजातका खसीवोका विक्री गर्छिन् । उनको दैनिकी अहिले वाख्राको स्याहारसुसारमै वित्न थालेको छ । खपा¨ी र दाहाल त उदाहरणका पात्र मात्र हुन् । साप्तिङटारका हरेक घरका महिलाहरु अहिले व्यवसायिक वाख्रापालनबाट जीविकोपार्जन गरिहरहेका छन् । बाख्रापालन व्यवसायले आर्थिक उन्नतिसँगै महिलाहरुको जीवनस्तरमा परिवर्तन समेत ल्याएको छ ।

२०५६ सालमा हेफर इन्टरनेशनल संस्थाले साप्तिङटारका महिलाहरुलाई व्यवसायिक वाख्रा पालन व्यवस्थापन सम्वन्धी तालिम दिएको थियो । हेफरले तालिम पश्चात विहानी समुहका २० घरपरिवारका महिलाहरुलाई माउ वाख्रा वितरण गर्यो । त्यसपछि गाउँका महिलाहरु व्यवसायिक वाख्रापालनतर्फ आर्कषित भए । सुरुमा गठन भएको विहानी समुहले एक वर्षपछि वहिनी समुह जागृतिलाई आफुले लिएको बाख्राबाट जन्मिएको पाठापाठी हस्तान्तरण गरे । साप्तिङटारमा अहिले विहानी, जागृति, मखमली, प्रगति, सहनशील र सयपत्री गरी ६ वटा महिला समुह सक्रिय छन् । हरेक समुहका सदस्यहरुले नयाँ समुहका सदस्यलाई प्रत्येक वर्ष बाख्रा साटासाट कार्यक्रम मार्फत जन्मिएको नयाँ पाठापाठी वितरण गर्छन् । त्यस्तै सोही गाउँकी देवकुमारी भण्डारीले समुहबाट उपहार पाएर व्यवसायिक वाख्रा पालन गरिरहेकी छिन् । उनको खोरमा अहिले २५ ओटा उन्नत जातका माउ छन् । ‘पोहोर साल खसीबोका बेचेर १ लाख रुपैया कमाए’,–भण्डारी भन्छिन्,–‘यो वर्ष डेढ लाख कमाई हुने अनुमान छ ।’

तमोर नदीको सतहमा रहेको साप्तिङटार पशुपालनका लागि पकेट क्षेत्र हो । वगर छेउमै तमोर बगिरहेपनि सिँचाई अभावले यहाँ व्यवसायिक खेती हुन सकेको छैन । भिरालो र समतल भएको उक्त ठाउँमा वाख्रा पालनको लागि चरण क्षेत्र पर्याप्त छ । खेतीको सट्टा वाख्रापालन आर्थिक उपार्जनको गतिलो माध्यम वनेको विहानी समुहकी अध्यक्ष सावित्रा खपा¨ीले बताइन् । ‘हरेक घरपरिवारले उन्नत जातका वाख्रा पालेका छन् । वाख्रापालन साह्रोगाह्रो पर्दा गर्जो टार्ने माध्यम बनेको छ,’उनले भनिन्, ‘उन्नत जातको पाठापाठीको माग धेरै छ । उन्नत जातका वाख्रा खरिद गर्न टाढाबाट किसानहरु घरमै आउँछन् ।’ यहाँ उन्नत जातका जिउँदो पाठा ५ सय ५० र पाठी ५ सय प्रतिकिलोमा कारोवारी हुन्छ । साप्तिङटारका ३ सय १६ घरमध्ये २ सय घरपरिवारले वाख्रा पालन गरिरहेका छन् । ‘घरको सम्पुर्ण व्यवहार हामी महिलाको काँधमा हुन्छ, त्यसैले घर खर्च धान्न सजिलो भएको छ,’–खपाङी बताउँछिन् ।

वाख्रापालनबाट हुने आम्दानी यहाँका हरेक महिलाले आवद्ध समुहमा वचत गर्छन् । वचत भएको रकम समुहका अन्य महिलाहरुलाई शुलभ व्याजमा ऋण दिइन्छ । कतिपय महिलाहरुले ऋण लिई उन्नत जातका वाख्रा खरिद गरी पालेका छन् । आर्थिक अवस्था कमजोर भएका महिलाहरुले आफै लगानी सक्दैनन् । समुहबाट लिइने ऋण नै उनीहरुको लगानी गर्ने माध्यम हो । महिनाको २ पटक समुहको वैठक वस्छन् । वर्षमा एक पटक सबै समुहका सदस्यहरु भेला भई सार्वजनिक सुनवाई गर्छन् । र आगामी दिनमा कसरी अघि बढ्ने भन्ने बारे योजना बनाउँछन् । व्यवसायिक वाख्रा पालनले यो गाउँका महिलाहरुलाई आत्मनिर्भर बनाएको समाजसेवी युद्धबहादुर खड्काको भनाई छ । उनी भन्छन्,–‘महिलाको जीवनस्तर उकास्न सहयोग गरेको छ । धेरै महिलाहरु साहुको चर्को व्याज मुक्त भएका छन् । महिलाहरु आत्म निर्भर भएका छन् ।’ खड्काको अनुसार साप्तिङटारका हरेक घरपरिवार १५ देखि ३० ओटा सम्म वाख्रा पालन गरिरहेका छन् । महिलाहरु आत्मनिर्भर भएको देखेर यसैवर्षबाट उन्नत जातका ५० माउ बाख्रा खरिद गरेर व्यवसायिक वाख्रा पालन गर्ने उनले तयारी गरेका छन् । वाख्रा राख्ने आधुनिक र व्यवस्थित रुपको खोर समेत बनाइसकेको उनले बताए ।