अनोज रोक्का
श्रावण ०३  / २०७४

बहुप्रतिक्षित चलचित्र म यस्तो गीत गाउँछु हेर्नका लागि हङ्कङमा मानवसागर उर्लियो । पहिलोपटक नेपाली चलचित्र हेर्नका लागि यतिको भिड जम्मा भएको हो । याउमा तेई स्थित कम्युनिटी हलमा प्रर्दशन गरिएको फिल्मको टिकट प्रर्दशन अगावै सोल्ड आवट भएको थियो । हलको क्षमता भन्दा बढि दर्शक आएकाले उभिएर समेत फिल्म हेरिरहेका थिए दर्शकहरु ।

नेपाली संस्कृत र कलाको लागि हङ्कङ उर्वरभूमि हो । हप्तौ जस्तो आयोजना गरिएको सांस्कृतिक कार्यक्रम, चलचित्र प्रर्दशनीमा दर्शकहरुको खडेरी लाग्ने गर्छ । अपवादकोरुपमा चलचित्र म यस्तो गीत गाउँछुले नयाँ रेकर्ड कायम गर्यो ।

माया, प्रेमलाई फिल्मको मसला बनाई दर्शकहरुको ईमोशनसँग खेल्न खप्पिस निर्देशक सुर्दशन थापा फेरि एकपटक वाहवाहीको पात्र बनेका छन् । अभिभावकले आफ्ना सन्तानप्रति हेर्ने संकुचित दृष्टिकोण, अनि सन्तानले चाह्ने स्वतन्त्रताबीचको द्धन्द्ध र बिशुद्ध प्रेमको स्वादबाट हङ्कङेली दर्शकहरुले भरपूर मनोरञ्जन बटुले । शुन्दर लोकेशन र गीत संगितले हलभरि तालीको बर्षा गरायो । लामो समयपछि प्रेमिल चलचित्रसँगै पल र पुजाको जोडीको प्रशस्त प्रंशसा गरिरहेका थिए दर्शकहरु ।

फिल्ममा संजय लामाको छायाङ्कन, प्रितम पाण्डेको सम्पादन, दिनेश न्यौपानेको पटकथा र संवाद, विश्व गौतमको कस्ट्युम डिजाईन रहेको छ ।

बेबी होम सहयोगार्थ प्रर्दशन गरिएको फिल्मलाई दिपक पुन, सगुन राना, देभिना आले, सुनैना राईले हङकङ प्रर्दशनको जिम्मा लिएका थिए । फिल्ममा पल शाह, पुजा शर्माका अतिरिक्त सरोज खनाल, पुजा राना, राजाराम पौडेल, मोहन निरौला, नवि मानन्धर, विक्रम सेन, अर्जुन गुरुङ लगायतको बेजोड अभिनय, अर्जुन पोख्रेलको संगित र कविराज गहतराजको कोरियोग्राफी देख्न सकिन्छ ।

तस्बिर : गणेश मगर