काठमाडौं— हङकङ पोलिटेक्निक विश्वविद्यालयको होटल एन्ड टुरिज्म म्यानेजमेन्टका डिन प्राध्यापक केय चोनले नेपालको पर्यटन क्षेत्रलाई गति दिन पर्यटकको आवश्यकताअनुसार नयाँ–नयाँ पर्यटकीय प्याकेजका कार्यक्रम ल्याउनुपर्ने बताएका छन्।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)–नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा आयोजना गरेको ‘इन्नोभेसन्स एन्ड लिडरसिप इन हस्पिटालिटी एन्ड टुरिज्म’ विषयक दुई दिने कार्यशालाको अन्तिम दिन प्राध्यापक चोनले गत वैशाखमा आएको विनाशकारी भूकम्पबाट नेपालको पर्यटन क्षेत्र समस्यामा परको भन्दै विश्वभरका पर्यटक आकर्षित गर्न नौला प्याकेज सार्वजनिक गर्नुपर्ने सुझाव दिएका हुन् ।

उनले एसिया प्रशान्त क्षेत्रमा पर्यटन उद्योगले फड्को मारिरहेको तथा पर्यटन पूर्वाधार निर्माणका काम तीव्र गतिमा अगाडि बढिरहेको सन्दर्भ उल्लेख गर्दै नेपालले पर्यटक आकर्षित गर्न नयाँ प्याकेज बनाउनुपर्नेमा जोड दिएका हुन्।’सर्वोच्च शिखर सगरमाथाजस्तो विश्वमा कसैले नक्कल गर्न नसक्ने अद्वितीय पर्यटन सम्पदा रहेको नेपालको पर्यटन क्षेत्रलाई अब स्थानीय जनशक्तिले नै प्रभावकारी तरिकाले नेतृत्व गर्नुपर्छ,’ चोनले भने, ‘अब पर्यटनलाई थप माथि लैजान स्थानीय स्तरबाट काम गर्नुपर्छ।’विगतमा यस क्षेत्रको पर्यटन पश्चिमी देशका पर्यटकले धान्ने गरेका कारण होटल तथा आतिथ्य सत्कार उद्योगका उच्च व्यवस्थापक पनि उतैका हुने गरेको उनको भनाइ छ ।

यस क्षेत्रले अब आफै सक्षम जनशक्ति विकास गर्न थालिसकेका कारण पर्यटन क्षेत्रमा अबको नेतृत्व स्थानीय जनशक्तिले नै गर्नुपर्ने उनले सुझाव दिए।प्राध्यापक चोनले युरोप र अमेरिकाबाट आर्थिक शक्ति एसियातिर सरेको तथा अहिले एसियामा त्यसको नेतृत्व चीनले गरिरहेको उनले बताए। त्यसैगरी संसारभर घुम्न निस्कने एसियाली देशका पर्यटकको संख्या बढ्दै गएको उदाहरण दिँदै उनले एसियाका विभिन्न राष्ट्र घुम्नेमध्ये ८० प्रतिशत पर्यटक एसियाली नै रहेको तथ्य उनले बताए।’त्यसकारण पर्यटनका लागि एसिया आफैंमा वृहत बजार हो । अहिले संसारभर एसियाली पर्यटकले नेतृत्व गरेको ‘रेन्बो टुरिज्म’ फस्टाउँदैछ,’ चोनले भने, ‘त्यो भनेको विभिन्न रंग, रूप, भाषा भएका विविधतायुक्त पर्यटकहरूको अवधारणा हो ।’

उनका अनुसार विगतमा एसियाली देश घुम्न आउने पर्यटकमा अमेरिकी र युरोपली धेरै हुने गरेका थिए । तर, पछिल्लो पटक चिनियाँ, भारतीयलगायत अन्य एसियाली देशका पर्यटकको संख्या वृद्धि हुँदै जानुले यो क्षेत्रको पर्यटन विकासको वृृहत सम्भावना उजागर गरेको छ ।

‘तीन वर्षअघि विश्व पर्यटन आगमनमा ठूलो खुसी मनाइएको थियो किनभने त्यसबेला संसारभरको पर्यटक आगमन संख्या बढेर एक अर्ब पुगेको थियो,’ प्राध्यापक चोनले भने, ‘तर, त्यसको ठूलो हिस्सा एसियाली पर्यटकले धानेका थिए ।

‘त्यसैगरी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन उद्योगलाई गतिशील बनाउन मानव संशाधन अतिआवश्यक रहेको बताए । पर्यटन प्रवद्र्धनका लागि विविध तालिम, गोष्ठी, कार्यशाला थप उपयोगी हुने उनको भनाइ थियो ।कार्यशालामा पाटा–नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले गत वैशाखको विनाशकारी भूकम्प र छिमेकी भारतले लगाएको नाकाबन्दीजस्ता संकटबाट गम्भीर रूपमा प्रभावित मुलुकको पर्यटन उद्योगलाई ब्युँताउन अब उपयुक्त रणनीतिका साथ अगाडि बढ्नुपर्ने बताए ।’जस्तोसुकै कठिन घडिमा पनि दुःख बिर्सिएर मुस्कुराउन सक्छौं र घरदैलोमा आइपुगेका अतिथिलाई सेवा दिन सक्छौं भन्ने हामीले प्रमाणित गरिसक्यौं,’ पाण्डेले भने, ‘नाकाबन्दी खुलेसँगै अब नेपालको पर्यटन उद्योगलाई थप बलियो, आकर्षक र अन्तर्राष्ट्रिय स्तरको बनाउन सबैले हातेमालो गर्दै ठोस काम गर्नुपर्ने बेला भएको छ ।

‘भूकम्प र नाकाबन्दीसँगै राजनीतिक संक्रमणकालमा परेको मुलुकको पर्यटन उद्योगको पुनरुत्थानका लागि अझै ऊर्जा थप्न, पर्यटनका नयाँ आयाम खोजी गर्न, दक्ष जनशक्ति उत्पादन गर्न र आधुनिक प्रविधियोग्य सीपको विकास गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरको कार्यशाला आयोजना गरिएको उनले जानकारी दिए ।

राजधानीमा मंगलबार आयोजित कार्यशालामा पर्यटन क्षेत्रसम्बद्ध वायुसेवा कम्पनी, होटल, ट्राभल व्यवसायी तथा विद्यार्थी गरी करिब १ सय ८० जना सहभागी थिए । त्यस्तै गत आइतबार मन्डिखाटारस्थित गेट कलेजमा आयोजित ‘टुरिज्म, वल्र्ड एन्ड योर करिअर’ विषयक एक दिने कार्यशालामा राजधानीका नौवटा होटल, पर्यटन व्यवस्थापन कलेजमा अध्ययनरत २ सय विद्यार्थी तथा पर्यटन क्षेत्रका सरोकारवालाको सहभागिता थियो । – See more at: http://nagariknews.com