दीपक दाहाल / राजु अधिकारी (नागरिक दैनिक) 

बुधबार, १० कार्तिक २०७३ / काठमाडौ

मध्यनेपालको चितवनपछि पूर्वी क्षेत्रको झापामा डेंगुले प्रकोपको रुप लिएको छ। झापामा मात्रै पछिल्ला तीन दिनमा सयभन्दा बढीमा डेंगे प्रमाणित भएको छ। यस वर्ष साउन यता १६ जिल्लामा ४ सय ९९ जनामा डेंगे प्रमाणित भएकोमा छ।

झापा र चितवनमा मात्र ८० जनाभन्दा बढी अस्पताल भर्ना भएर उपचार गराइरहेका छन् ।

चितवनमा संक्रमणदर घट्दो रहेको सरकारी दाबी भए पनि हालसम्म ३ सय ६८ जनामा डेंगे प्रमाणित भएको छ । पछिल्लो २४ घन्टामा झापामा ४० र चितवनमा ४८ केस थपिएका छन् । तिहार र छठ नजिकिँदै जाँदा बढ्ने आउजाउले अझै संक्रमण फैलिन सक्ने चिकित्सकको चिन्ता छ ।

रोग फैलिए पनि तत्काल परीक्षण (र्‍यापिड टेस्ट) मा प्रयोग हुने सामग्री किट अभाव देखिएको छ । विशेष औषधि नभएको र लक्षणका आधारमा उपचारमा ठूलो समस्या नभएको समेत सरकारले दाबी गरेको छ।

8b0b65a31f2ce1694b03ed4f537af1f6इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. भीम आचार्यले केही दिनयताको रोग फैलिने प्रवृत्ति हेर्दा अझै केही दिन बिरामी बढ्न सक्ने बताएका छन् । ‘चितवनमा पिकमा पुगेर घट्न थालेको छ, झापामा अझै बढ्न सक्छ,’ उनले भने । हाल झापाको दमक, तोपगाछी र लखनपुर क्षेत्रमा ३४ बिरामी विभिन्न अस्पतालमा उपचाररत रहेको महाशाखाले जनाएको छ ।

चिकित्सकले रोगको संक्रमण सुरु भएपछि लक्षण देखा पर्नेसम्मको अवधि (इक्युभेसन पिरियड) भएको भन्दै झापामा ठूलो संख्यामा फैलिने आशंका जनाएका छन् । विज्ञका अनुसार मनसुन कमजोर भएपछि पुरानो पानी जमिरहने हुँदा लाममुट्टेले बढी फूल पारेर वृद्धिसमेत गर्ने हुँदा कात्तिक र मध्य मंसिरसम्म पनि डेंगी फैलिन सक्छ ।

सुरुमा केस देखिन थालेको ७ देखि १० दिनपछि ह्वात्तै बढ्न थाल्ने भएकाले झापामा छोटो अवधिमा धेरै केस देखिएकाले अझै थुप्रै बिरामी भेटिन सक्ने विज्ञले औंल्याएका छन् ।

चितवनमा केही महिनादेखि नै फैलिँदा पनि ३ सय ६८ केस प्रमाणित भएकोमा झापामा केही दिनभित्रै सय केस देखिएको छ। मकवारपुर–८ कैलाली ७ सहित धादिङ काठमाडौं, ललितपुर बारा, पर्सा, कैलाली, रुपन्देही, स्याङ्जा, कास्की, बाग्लुङ, सप्तरीलगायत जिल्लामा समेत डेंगुका बिरामी भेटिएका छन् ।

डा. आचार्यले सरकारका तर्फबाट नियन्त्रणका सबै उपाय अपनाइएको भन्दै समुदायमा जागरण आएर लाममुट्टेले फुलपार्ने स्रोत नष्ट गर्ने रोकाइबाट बच्ने उपाय नअपनाएसम्म नियन्त्रण कठिन हुने बताए ।

रोग नियन्त्रण गर्ने निकाय महाशाखाले रोग फैलिएको क्षेत्रमा विशेषज्ञसहितको समूह परिचालन भइसकेको र थप टोली पनि खटाउने तयारी भइरहेको बताए । महाशाखाका अनुसार टोलीमा इपिडिमियोलोजिस्टसहित प्रयोगशाला र किट विशेषज्ञसमेत छन् । तीबाहेक विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट समेत विशेष टोली झापा पुगेको छ ।

आचार्यका अनुसार किटको अभाव भए पनि उपचार नै भने रोकिएको छैन । अहिले अमेरिका र भारतबाट समेत गरेर १ हजार ५ सय थान किट मगाइएको सरकारी भनाइ छ ।

‘बजारमा नपाएर हो, पैसा अभाव छैन,’ आचार्यले भने, ‘नीति र निर्णयले रोकिएको होइन ।’ अहिले पनि स्थानीय स्वास्थ्य टोली परिचालन गरेर लामखुट्टे हुन सक्ने ठाउँ पहिचान गरी नष्ट गर्ने अभियान (सर्च एन्ड डिस्ट्रोइड) प्रभावकारी रुपमा सञ्चालन भइरहेको महाशाखाले जनाएको छ ।

अहिले रोगको तत्काल जाँचका लागि किट नभए पनि प्रकोपग्रस्त क्षेत्रमा लक्षणका आधारमा पनि विशेषज्ञले रोग पहिचान गरेर सोअनुसार उपचार भइरहेको छ ।

यो भाइरसले रगतमा भएको प्लेटलेट्समा आक्रमण गर्ने हुनाले खतरनाक मानिन्छ । डेंगेको खोप र छुट्टै उपचार छैन । बिरामीको उपचार लक्षणका आधारमा गरिन्छ ।  डेंगे सक्रमणले शरीरमा रगत जम्ने प्रक्रिया अव्यवस्थित हुन्छ । यसले घातक रूप लिँदा छाला, पेट, आन्द्राजस्ता शरीरका भित्री भागमा रक्तश्राव हुन्छ । डेंगी भाइरसले रक्ततŒव प्लेटलेटमा कमी ल्याएर रगत जम्ने प्रक्रिया प्रभावित पार्छ ।

महाशाखाकै विशेषज्ञ डा. गुणनिधि शर्माले प्रकोपको अवस्थामा राज्यले लिने नियन्त्रण नीतिसँगै रोगबारे जनचेतना र जोखिम हटाउन समुदायको भूमिका महŒवपूर्ण हुने बताए । ‘समुदायमा सफा पानी जम्ने र डेंगे सार्ने लामखुट्टे हटाउने कार्यक्रम चलाउने हो भने रोकथाम गर्न सकिन्छ,’ शर्माले भने ।

डेंगे ज्वरो एडिज जातको लामखुट्टेको टोकाइबाट सर्छ । यो प्रजातिको लामखुट्टेले संक्रमित व्यक्तिलाई टोकेपछि स्वस्थ मानिसलाई टोक्नासाथ डेंगे सार्छ । यो लामखु«ट्टे अन्य लामखु«ट्टेभन्दा अलि ठूलो आकारको र कालोसेतो छिर्केमिर्के रंगको हुन्छ । विज्ञहरुका अनुसार यो जातको लामखुट्टे सहर तथा नगरउन्मुख गाउँमा बढी पाइन्छ । त्यस्ता ठाउँका गाडीका टायर, प्लास्टिक र पानीका बोटल, गमला र फुटेका भाँडाकुँडामा बस्ने गर्छ । ‘पानी जम्ने अवस्था नै आउन नदिनु सबैभन्दा प्रमुख बच्ने उपाय हो,’ उनले भने, ‘सहरी क्षेत्रमा पानी भाँडामा राखेर नछोपी राख्दा पनि जोखिम हुन्छ ।’

यसका लक्ष्ण एक्कासि ३ देखि ५ दिनसम्म ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, मांसपेसी तथा जोर्नी दुख्ने, आँखाका गेडी दुख्ने, खान मन नलाग्ने, पेट तथा आन्द्रामा गडबडी हुने र डाबर आउने डेंगेका लक्षण हुन् । चिकित्सकका अनुसार डेंगे संक्रमण हुँदा सुरुमै शरीरमा रातो बिमिरा देखा पर्ने र केही बिरामीमा नाक तथा गिजाबाट रगत बग्ने र छालामुनि रक्तस्राव हुनेसमेत हुन्छ । महामारी विज्ञले डेंगे महामारीको रुप लिने साइकल हेर्दा पनि ३ देखि ६ वर्षमा जोखिम बढी हुने भएकाले यो वर्ष महामारीको जोखिम औंल्याउँदै आएका छन् ।  नेपालमा सन् २००४ मा पहिलोपटक देखा परेको डेंगेले २००६ र सन् २०१० मा महामारीको रुप लिएको थियो । सन् २०१० मा हजारौं संक्रमित र १९ जनाको ज्यान गएको थियो ।

सावधानी

टोकाइबाट बच्ने

सफा पानी पनि छोपेर राख्ने

खुला ठाउँमा पानी जम्न नदिने

झ्यालढोकामा तारको जाली लगाउने

बिरामीलाई कम्तीमा पाँच दिनसम्म अलग्याएर राख्ने

घर तथा छिमेकमा लक्षण देखिए स्वास्थ्य संस्थामा खबर गर्ने