"चुइदै छ छानो मेरो"

चुइदै छ छानो मेरो बास खोज्न जाउ कहाँ 
 मरेतुल्य बाँचेको छु लाश खोज्न जाउ कहाँ 

जिउनु छ अझै पनि चाह सबै मरी सके   
झै बाँच्न भनी झुटो आश खोज्न जाउ कहाँ 

उजाड भो बस्ती मेरो डडेलोले खरानी भो  
आफ्नै चिता बाँध्नलाई बाँस खोज्न जाउ कहाँ 

निन्द्रा कहाँ लाग्छ हजुर खाली पेट सुते पछी  
छैन माम पेट भर्ने गाँस खोज्न जाउ कहाँ  

बन्दकीमा बसेको छु हाँसी खुशी धितो राखी 
भएको छु तिम्रो दासी दास खोज्न जाउ कहाँ  

तिमी जस्तो अर्ध नग्न घुम्न कहाँ सक्छु र म  
आफ्नो लाज छोप्न लाई कपास खोज्न जाउ कहाँ 

अध्यारोमै रुमलिएछु गन्तब्य नै बिर्सिएर  
आफै भित्र हराएछु खास खोज्न जाउ कहाँ

  जीतु खड्का गाउले   

   मोरंग उर्लाबारी   हाल रियाध साउदी अरेविया

” हिजो “
हिजो परको क्षितिज नियाल्दै देख्थेँ,
सपनाको दर्बार त्यो बादलहरुमा।
मनभित्रै भनाभन हुन्थ्यो दुइमन बीच
अदभूत तृष्णाका भुतहरु हुर्किदै थिए ।
आशाहरुले भोलिको चित्र कोर्थे र भर्थे उज्याला रङ्गहरु,
सजिन्थ्यो कल्पनाको सन्सार उसैगरी ,
तर आज
अपुर्ण बन्न चाहन्छन्,स्वप्निल रातहरु
तप् तप् चुहिन्छन् सितका थोपाहरु र
च्यातिन हतार गर्दैछन् सपनाका तमासुकहरु ।
आशाका प्रतिबिम्बहरु हुदैछन् फिक्का प्रतिदिन ,
ठडिदैछन विशाल पर्खालहरु मेरो बाटोहरुमा।
हिजो मेरो पैतालाहरु सँग हच्किने पत्थरहरु आज,
तिखारिदै छन् र खनिदैछन् मेरो जिर्ण पदचापमाथी
मेरो निर्दोष ओठहरु सुकिसके तैपनी ,
चिच्याइरहेछ भगवान्,पुकारिरहेछ देवता ।
जवाफ सुन्न आतुर छन् मेरा निर्दोष एक जोडि कानहरु ।
बस् थाकेका आभास यसो भन्छ,कि भगवान बहिरो छ,
कि त मेरो चिच्याइमा कुनै दम छैन , हो साचै
बहिरो छ भगवान,टुलुटुलु हेर्छ तर सुन्न सक्दैन ।
हाँस्दै भोलिको परिभाषा दिने मेरो हर्कतहरु खोसिदैछ सायद ।
केवल हिजो र आजको थोरै अनुभवहरुमा चित्त बुझाउनु पर्ने छ मैले,
र बन्द गर्नु पर्नेछ यी आँखाहरु, हल्लिनेछन् बिदाइका हातहरु ।
गुन्जिने छन केही सान्त्वनाका शब्दहरु,र खस्नेछन् दुई थोपा आँसुहरु,
मेरो निर्जीव शरीरमाथि ।।

सुरेश अर्याल " नलाङ"

" अबैध बेश्या "
खै कसरी आत्मा बेचें
क्रय बिक्रयको होडबाजीहरुमा
अमूल्य यो शरीर बेचें
हाट बजारमा, गल्ली चोक चौताराहरुमा
लीलाम बिक्रिमा आफैलाई बेचें
म रित्तिसकेकी थिएं
म थोत्रिसकेकी थिएं
तर म मा चेतना बेचिन बांकी थियो
यि अस्थिपञ्जरहरु
एउटा कृतिम ह्यांगरमा झुण्ड्याइरहें
आउने जानेहरुले ओल्टाए पल्टाए
हेरे छामे अनि बाटो लागे
कसैले यो खोक्रो शरीर
सधैंको लागि किन्ने आँट गरेन
हुरी बतासमाझ लट्किरहेको शरीर
मक्किएको कहिल्यै याद भएन
म टुक्रिएर झर्न थालें
ग्रिष्म ऋतुको चर्को घामले
दिनहु सड्न थालें
मलाई थाहा थिएन
म दुर्गन्ध फैलाइरहेकी छु
टोलछिमेकमा झुण्डिनै नसक्ने गरि
बाटो बस्तिहरुमा नअटाउने गरि
म भित्रभित्रै कुहिसकेकी छु
अर्धमुर्छनामा जब आँखा खुल्यो
म दैलो दैलोहरुमा बेचिदै थिएं
कोही आए गए
उन्मात बैशको सदुपयोग गरे
म चुपचाप उनैलाई हेरिरहेकी थिएं
जीवनको अनौठो यात्रा
उनी आए हात समाए
धेरै माया दिए
उनकै अनुरोधमा फेरि
कैयौ पटक बेचिएं
तर थाहै नपाई
म मा कलंक लागिसकेको रहेछ
कहिल्यै नमेटिने अनि भूल्न नसक्ने कलंक
बेश्या! बेश्या!! बेश्या!!!
हो म एक अबैध बेश्या बनिसकेकी रहेछु
कसैलाई माया गर्नु मेरो पाप हो भने
म त्यो पापको प्रायश्चित गर्न चाहन्छु
तर बिन्ती छ !
यो मेरो निधारमा लागेको
बेश्यारुपी कलंक
सधैंको लागि मेटाइदेउ ।
काली बहिनी