१५ अगष्ट २०१७ । काठमाडौं 

विरल बर्षाको कारण तराई र मधेशमा भएकोल ठुलो धनजनको क्षतिलाई चीनले आपत्कालीन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरेको छ। 

नेपालको तीन दिने औपचारिक भ्रमणमा आएका चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको उच्चस्तरीय टोलीले क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त घोषणा गरेको हो । 

दुई देश विच शुरु भएको नेपाल–चीन उपप्रधानमन्त्रीस्तरीय वार्तामा चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले उक्त घोषणा गरेका हुन् । वार्तामा यसअघि भएका सम्झौता कार्यान्वयन र दुई पक्षीय हितबारे छलफल हुने बताईएको छ ।

उक्त द्विपक्षीय वार्तामा नेपालको प्रतिनिधित्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले गरेका छन् । वार्तामा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देव र सम्बन्धित मन्त्रालयका सचिव सहभागी छन् । लगानी बोर्ड, राष्ट्रिय योजना आयोग, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव पनि वार्तामा सहभागी छन् ।
आज विहान राजधानीको बसन्तपुरस्थित चीनले पुनर्निर्माण गर्ने ९ तले दरवारको उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्ण बहादुर महरा र वाङले उद्घाटन समेत गरेका छन् ।

यस्तै वाङ याङ नेतृत्वको उच्चस्तरीय टोलीले आजै राजनीतिक भेटघाट शुरु गर्दैछ । वाङ नेतृत्वको उच्चस्तरीय टोलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग अपरान्ह ३ बजे र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीसंग अपरान्ह ४ बजे भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवासंग भने भोली भेटवार्ता तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । ३ दिने भ्रमणका क्रममा वाङ नेतृत्वको टोली हिजो नेपाल आएको हो ।