अनाेज राेक्का

मोरङ,पथरी असोज – १०  ।

मोरङको पथरीशनिश्चरेमा रहेको आइतबारेमा यहि असोज १९ गतेदेखि पूर्वाञ्चल स्तरीय सातौँ विरेन्द्रनगर कप क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोजक विरेन्द्रनगर क्रिकेट क्लबले मंगलबार पत्रकार सम्मेलन गरेर प्रतियोगिता बारे जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष राजेश कुँईकेलले विगतमा गर्दै आएको प्रतियोगितालाई यस बर्ष अझ व्यवस्थित गरी संचालन गर्न लागिएको बताए । स्थानीय खेलाडीलाई अवसर प्रदान गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको र प्रतियोगितामा केही राष्ट्रिय स्तरका खेलाडीको समेत सहभागिता रहने क्लबले जनाएको छ । असोज ३१ गतेसम्म संचालन प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन सेभेन स्टार क्लब इटहरीसहित पूर्वाञ्चलका २० टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक हेमन्त ओझाले बताए ।

प्रतियोगिताको विजेता टोलील ५१ हजार रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेता टोलीले ३१ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ बराबरको मोवाइल प्रदान गरिने तथा उत्कृष्ट ब्याट्सम्यान, बलर र फिल्डरलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।