दिमाग बाहेक आफ्नो शरीरको कुनै अंगले काम नगरेपनि एलियन र ब्ल्याक होल माथि अनुसन्धान गरी नाम कमाएका भौतिक विज्ञान शास्त्रका प्रसिद्ध बेलायती वैज्ञानिक स्टेफन हकिनको ७६ बर्षको उमेरमा निधन भएको छ । बेलायतको लण्डनस्थित क्याम्ब्रिजमा रहेको घरमा हकिनको निधन भएको पारिवारिक श्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सन् १९६३ मा मोर्टन न्युरोन रोग लागेको पत्ता लागेपछि उहाँलाई चिकित्सकहहरुले २ बर्ष बाँच्ने बताएका थिए । तर चिकित्सकीय भनाइलाई चुनौती दिंदै हकिन आधा शताब्दीभन्दा धेरै बाँच्न सफल हुनुभयो ।

चर्चित ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ पुस्तकका बेलायती लेखक समेत रहेका हकिन सापेक्षवादको सिद्धान्त र ब्ल्याक होलकाबारे विभिन्न नयाँ तथ्य पहिल्याउने प्रखर वैज्ञानिक मानिन्छन् । सन् १९४२ मा जन्मिएका हकिन भौतिक विज्ञानका ज्ञातामात्र नभई क्याम्ब्रिज विश्वविद्यालयमा सैद्धान्तिक ब्रम्हाण्ड विज्ञान केन्द्रका शोध निर्देशक समेत हुनुहुन्थ्यो ।

१९५९ मा अक्सफोर्ड विश्वविद्यालयमा नेचुरल साइन्स पढ्ने अवसर पाएसँगै उहाँले क्याम्ब्रिजबाट विद्यावारिधी गर्नुभएको थियो । १९७४ मा उनले ब्ल्याक होलले ’हकिङ रेडियसन’ फाल्छ भन्ने सिद्धान्त प्रतिपादन गर्नुभएको थियो । १९८८ मा प्रकाशित उहाँले लेखेको पुस्तक ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ १ करोडभन्दा बढी प्रति विक्री भइसकेको छ । उहाँको जीवनीमा आधारित भएर सन् २०१४ मा ‘द थेउरी अफ एभ्रीथिङ’ नामक चलचित्र नै बनेको थियो ।

आफ्नो जीवनको लामो समय ह्वीलचेयरमा बिताउनुभएका उहाँले आफ्नो शारीरिक असक्षमतालाई पछि छोड्दै इच्छाशक्ति भयो भने कुनै दुर्बलताले रोक्दैन भन्ने प्रमाणित गर्नुभयो । त्यसैले ईच्छा शक्तिलाई ससक्त बनाएमा सम्भव भएसम्म मानिसले आफुलाई दरिलो वनाउन सक्नेकुरा समेत प्रमाणित गरेर देखाई दिएकाछन।