बिचार / बिष्लेषण 

लेखक- युग पाठक 

इलाबहादुर सार्कीदाईलाई संझदापनि ऐंठन हुन्छ – युग पाठक 

इलाबहादुर दाइ ! तपाईंको सम्झनाले मात्र पनि ऐंठन हुन्छ । दाजै, पृथ्वीनारायणको अग्लाइ नापेर आफ्नो होचाइको उत्सव मनाइरहेका एक हूल ‘प्रगतिशील’ हरूले अपहरण गरेको दिन हो, पुस २७ । अनि हो एउटा जर्नेलले प्रश्नवाचक आमनागरिकमाथि जुत्ता प्रहार गरेको दिन । कम्ता जगजगी छैन हौ दाजै सहरमा ! त्यस दिन एकाबिहानै पृथ्वीनारायणको सालिक ढोका ढक्ढक्याउन आइपुग्यो । सालिकले भन्यो, गणतन्त्रको नागरिक भइस् भन्दैमा मेरो जन्मजयन्ती बिर्सने तँ को होस् ? त्यतातिर पोकली छाँगो उसैगरी छङछङ छल्किरहेको होला । ओखलढुंगाको त्यो गाउँमा तपाईंको दिनचर्या उसैगरी बितिरहेको होला । भाउजुको दम फुलेर उस्तै सकस होला । तपाईंको गाउँतिर गणतन्त्रको हालखबर कस्तो छ कुन्नि, यता सहरमा भने गणतन्त्रको दिनचर्या शरमले पानीपानी छ । पोकलीको पानी त के पानी, यो शरमको पानीमा बगेर छताछुल्ल छन् नेता, प्राज्ञ र कविहरू । साँच्ची, पृथ्वीनारायणको जन्मजयन्ती मनाउने उर्दी गाउँतिर आयो कि आएन ?

सम्झना बलियो कि बिर्सना दाजै ? लाग्छ, यो मुलुकमा बिर्सना नै बलियो छ । अस्ति भर्खरकै त कुरो हो । जनआन्दोलनको गडगडाहटले राजतन्त्रको जगमा भूकम्प ल्याइदिएको थियो । तपाईंले पत्तो पाउनुभो कि भएन कुन्नि, त्यो बेला सहरमा श्रवण मुकारुङको कविता ‘बिसे नगर्चीको बयान’ खुब चर्चित थियो । इतिहासमा पहिलोपटक सर्वसाधरण जनताले यो देशको अस्तित्वमा आफ्नो दाबी प्रस्तुत गरेको बेला थियो, त्यो । मुकारुङको कवितामा पनि बिसे नगर्चीको दाबी छ, यो देश मैले पनि आर्जेको हुँ । आन्दोलनमा तपाईं पनि हुनुहुन्थ्यो, आफ्नै सदरमुकामतिर । आन्दोलनमा सबै थिए र सबैले यो र यस्तै कविता हजारौं पटक दोहोर्‍याएका थिए । बिसे नगर्चीको यस्तो बयान :

अढाई सय वर्षदेखि मैले तुनेका थाङनामा हुर्केका

मेरा दरसन्तानहरू कहाँ कहाँ पुगे

मैले खोज्न चाहेँ हुँला

मेरा औंलामा खोपिएका छ्यान्द्रा

र बगेका रगतहरूले मलाई उक्साएर

तरबारले आर्जेको मुलुकभन्दा

मैले धागोले उनेको मुलुक विशाल ठाने हुँला

खोई मेरो पैताला कहाँनिर छ ?

कहाँनिर छ बिसे नगर्ची ?

हिजो हेलिकप्टरबाट धम्की दिन्थे जर्नेलहरू, आज प्रज्ञा प्रतिष्ठानमा डाकिन्छन् । पृथ्वीनारायणको सालिक बोकेर जर्नेलहरू एउटा यात्रामा निस्केका छन्, जुलुसमा छन् गणतन्त्रका हिमायतीहरू ! कुरो सुल्टो भो कि उल्टो ? बिसे नगर्चीको दाबीलाई बन्दुकले उडाइदिने धम्की यो गणतन्त्रमा कसको बुई चढेर आयो ? तपाईंलाई थाहा छ कि इलाबहादुर दाई ? त्यो पनि त्यही प्रज्ञा प्रतिष्ठानमा जहाँ स्वयम् श्रवण मुकारुङ विराजमान छन् । नेता, प्राज्ञ र कविहरू नै जर्नेलको प्रवचन सुन्न किन अभिशप्त भए होलान् ? अवकाशप्राप्त जर्नेल प्रेमसिंह बस्न्यात र एउटा सर्वसाधारण रवि गुरागाईंबीचको शक्ति सन्तुलन आकाश–जमिन भएको दिन एकता दिवस हुन्छ कि प्रतिगमन दिवस ?

जबजब महाराजहरूले यो देशलाई पिञ्जरा बनाए, तपाईंजस्ता लाखौं गरिब जनताले पिञ्जरा तोड्ने शक्ति जोरेको इतिहास छ । इतिहास राणावंश र शाहवंशको मात्र छ र ? तपाईंको स्मृतिमा पनि इतिहास सही सलामत छ । लोकस्मृति र लोक इतिहास लोकतन्त्रको प्राण हो । निर्मम दमन र कठोर संघर्षको इतिहास जनताको इतिहास हो । तपाईंको स्मृतिमा ताजै होला, कसरी निरंकुशताका अँध्यारा रातमा आन्दोलनकारीहरू तपाईंको पिँढीमा बास माग्न आएका थिए । कांग्रेस सुस्ताएन कि तपाईंको पिँढीमा, माले बास बसेन कि, माओवादीले सेल्टर लिएन कि तपाईंको कौसीमा । सबैले बाचा गरे, इलाबहादुर दाइ, तपाईंको आँगनमा पनि झारिदिनेछौं खुसीको एउटा दिन । तपाईं पनि हेलिनुभो आन्दोलनको भेलमा । पत्याउनुभो । इतिहासको मेहेरो बदल्ने कुरा हो, पत्याउनै पनि पर्‍यो ।

पञ्चायतकाल थियो एउटा, राजाको प्रजातन्त्र । एकथरी मानिसहरू हुन्थे जो राजाको ‘चरण’ मा बिन्तिपत्र हाल्न जान्थे, रूपचन्द्र बिष्ट थिए अर्का जो गरिबको छाप्रोमा बिन्तिपत्र टाँस्न जान्थे । दुवै इतिहास भए तर यी दुई इतिहासमा ठूलो भिन्नता छ । एउटाले एकता, शक्ति र भक्तिको स्रोत राजामा खोजिरहेको थियो, अर्कोले जनतामा । । रोजाइको कुरा न हो, इतिहास जनताको पनि छ, पृथ्वीनारायणको पनि । आजको इतिहासले पनि ऐना देखाएको छ । कसले इलाबहादुर रोजे, कसले पृथ्वीनारायण रोजे, रोजाइ प्रस्ट छ । र, यो रोजाइले पनि इतिहास बनाएको छ । आखिर इतिहासलाई कसको आँखाले हेर्ने भन्ने कुरा न हो । पृथ्वीनारायणको आँखाले हेर्‍यो जित नै जित छ, तपाईंको आँखाले हेर्‍यो हारको पारावार छ ।

सिंहदरबारको सिंहासनमा पुगेपछि, अथवा सत्ताका पद–प्रमांगीमा आँखा गाडेर बसेपछि कथाले अर्कै मोड लिँदोरहेछ । हिजो कम्युनिस्ट हुन रक्सी खाएर आफ्नै जात काढे, धेरैले । तपाईंकै घरछेउको चौतारोमा उभिएर विद्रोही मुद्रामा भाषण गरे, रगत सबैको रातै छ, कसले बनायो छूत अछूत ? तिनले गीत गाए, कविता लेखे, दस्तावेज कोरे र कसम खाए, यो व्यवस्था बदलेरै छाड्नेछौं । छुवाछूत, भेदभाव, ठूलो–सानो सब बदल्ने प्रण गर्दै ती हिँडिरहे । तपाईंजस्ता गरिब, निमुखाको शक्ति जोडेर तिनले आँधीको रचना गरे । जब राज्यमा सबैको हक लेख्ने बेला भयो तिनीहरूमध्ये धेरैले अचानक आफ्नो जात सम्झिए । अनि भने, इलाबहादुरहरूलाई दलित भएकै कारण छुट्टै भाग किन दिने ? रगत सबैको रातै छ, जसले सक्छ उसले खान्छ । बिम्ब त उही हो, रातो रगत । कति सफाइका साथ उनीहरूले अर्थचाहिँ परिवर्तन गरिदिए । उनीहरूले रक्सी खान छाडेनन् तर आफ्नो जातको अहंकारमा सर्लक्कै फर्किए । दुवै हातमा लड्डु ! त्यसपछिचाहिँ अचानक तिनलाई वर्ग…चाहियो रे ! तपाईंकै विरुद्ध लड्न तपाईंकै वर्ग खोजिरहेका हौ दाजु, के भन्नु !