पूर्वयुवराज पारसको धर्म मोह

काठमाडौं। पूर्वयुवराज पारस शाह पछिल्लो समय धार्मिक कार्यक्रममा व्यस्त हुन थालेका छन्। परिवार छाडेर एक्लै बस्दै आएका पारस एक महिनायता विभिन्न मठमन्दिरको दर्शनमा धाउन थालेका छन्।
सुनाकोठी बस्न छाडेर केही दिनदेखि अनामनगरस्थित हाउजिङमा बस्दै आएका उनी अधिकांश समय मृगस्थलीस्थित बाबा गोरखनाथ आश्रममा दर्शन गर्न थालेका छन्। बुधबार बिहीबार छोरा हृदयेन्द्र, कान्छी छोरी कीर्तिका, धिरेन्द्र पुत्री दिलासा र पूजासहित गोरखनाथ आश्रम पुगेका थिए। पुस्तकालयमा बसेर आध्यात्मिक पुस्तक अध्ययन गर्न उनी गोखरनाथ आश्रम पुग्ने गरेका छन्।
फुर्सदको समयमा आफ्ना छोराछोरीसँग घुम्न रुचाउने उहाँ लामो समयदेखि श्रीमती हिमानीसँग औपचारिकरूपमा भेट हुन सकेको छैन। स्रोतका अनुसार स्थानीय जनताको सहभागितामा धार्मिक कार्यक्रममा जान थालेका पारस पछिल्लो एक महिनायता गएको वैशाख १५ गते महालक्ष्मी गुम्बा, २२ गते पलाञ्चोक भगवती दर्शन गर्न पुगेका थिए। ‘पूर्वयुवराज पारस विभिन्न मठमन्दिर दर्शन गर्न व्यस्त हुनुहुन्छ।’ –युवा विश्वहिन्दू महासंघका अध्यक्ष राजन महर्जनले भने। उनकै संयोजनमा राजधानीका केही मन्दिरमा पूर्वयुवराज पारस पुग्ने गरेका छन्।
त्यसअघि टेकुस्थित पचली भैरवको पूजा गर्न पुगेका थिए। वैशाख ३१ गते गोकर्णको उत्तर गया, नलिञ्चोक भगवतीलगायतका मन्दिर दर्शन गरिसकेका छन्।
पशुपति, गुह्येश्वरी मन्दिर बारम्बार जाने गरेका पारस असार ६ गते गोरखा मनकामना, गोरखनाथलगायतका मन्दिर दर्शन गर्न जाने तयारी भएको महर्जनले जानकारी दिए। नेपाल समाचारपत्र दैनिक