कोशेली संवाददाता  

पथरी, १२ माघ

छिल्लो समय विभिन्न जातीय संगठनहरू खुलेसँगै सञ्चार क्षेत्रमा पनि जातीय संगठनहरू गठन हुने क्रम जारी छ । यसैबीच मोरङ पत्रकार महासंघमा आबद्ध वशिष्ठ गोत्रीय पत्रकारहरू पनि संगठित भएका छन् ।

मोरङको पथरीमा बिहीबार भएको पत्रकारहरूको भेलाले मोहन भट्टराईको संयोजकत्वमा १३ सदस्यीय बशिष्ठ गोत्रीय पत्रकार समाजको तदर्थ समिति गठन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा मिलन के राउत, उपाध्यक्षमा घनश्याम भण्डारी, सचिवमा इश्वरी भट्टराई, सह–सचिवमा ध्रुब भट्टराई र कोषाध्यक्षमा श्रीमन्त भट्टराई चयन भएका छन् । यस्तै, सदस्यहरूमा नवराज भट्टराई, इन्दिरा भट्टराई, केशव भट्टराई, राजन भट्टराई, सृष्टि भट्टराई, कला त्रिताल भट्टराई र बिमला भट्टराई रहेका छन् ।

समितिको सल्लाहकारहरूमा दुर्गाप्रसाद भट्टराई, ललिता भट्टराई, शंकर खरेल र जगन्नाथ भट्टराई रहेका छन् । नवगठित समितिका वरिष्ठ उपाध्यक्ष मिलन के राउतका अनुसार सञ्चार क्षेत्रमा वशिष्ठ गोत्रीय पत्रकारहरूको हकहित सुरक्षा, सरसहयोग र क्षमता अभिवृद्धिका लागि समाज गठन गरिएको हो । चाँडै नै सो संगठनलाई केन्द्रीय स्तरमै विस्तार गर्ने समाजका सदस्य नवराज भट्टराईले जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ मोरङको आसन्न चुनावी अधिवेशनमा अधिकतम रूपमा वशिष्ठ गोत्रीय पत्रकारहरूलाई विजयी गराउन संगठन सक्रिय रहने भट्टराईले बताउनुभयो । मोरङमा तीन दर्जनबढी वशिष्ठ गोत्रीय पत्रकारहरू सक्रिय रहेको नवगठित समितिका अध्यक्ष मोहन भट्टराईले जानकारी दिनुभयो ।