हङकङक ।

स्वास्थ्य परिक्षण गर्न भारतको मुम्बई पुगेका हङकङका व्यवसायी जितेन्द्र महर्जन (ज्याक) अब कहिल्यै फर्कने छैनन्। १० जनवरी, बिहिबार बिहान भारतको मुम्बईस्थित जुपिटर अस्पतालमा उपचाररत अवस्थामा उनको निधन भयो।

मधुमेहका रोगी महर्जन रगतमा ह्वाईट सेल कम हुने समस्याबाट समेत पीडित थिए। गएको दशैंअघि केहि दिन हङकङकै अस्पतालमा भर्ना भएका उनी त्यसपछि नेवार समाज, हङकङको म्हः पुजामा सहभागी भएका थिए। त्यसपछिका दिनमा आफ्नै कम्पनीको काममा पनि सक्रिय रहे।

ज्याक महर्जनलाई नजिकबाट चिनेका हङकङका नेपालीका लागि ४८ वर्षकै उमेरमा भएको उनको निधनको खबर अप्रत्यासित थियो। पत्याउनै गाह्रो। मेहनती, असल र इमान्दार छवि बनाएका उनलाई ‘आँखामा राख्दा पनि नबिझाउने’ भनेर दुःखी हुँदै सम्झने धेरै भेटिए।

निर्माण व्यवसायको क्षेत्रमा छोटो समयमै ठूलो फड्को मारिरहेको कम्पनी युनाइटेड कन्स्ट्रक्सन एण्ड मेनपावर सर्भिस र युनाइटेड इञ्जिनियरिङका सञ्चालक हुनुअघि लामो समय महर्जन निर्माण क्षेत्रकै काममा सक्रिय थिए। दुई दशक अघि १९९५ तिरै व्यापारको सिलसिलामा हङकङ आएपछि कामदारका रुपमा निर्माण क्षेत्रमा प्रवेश गरेका उनको संघर्ष र त्यसपछिको लोभलाग्दो सफलता धेरैका लागि प्रेरणदायी हुनसक्छ।

उनले फोरम्यान, जनरल फोरम्यान हुँदै मित्सुमासु कम्पनीमा सुपरिटेन्डेन्टसम्म भएर काम गरे। र, २०१३ देखि साथी सुब्बा बस्नेतसँग मिलेर खोलेको युनाइटेड कन्स्ट्रक्सन एण्ड मेनपावर सर्भिस र युनाइटेड इञ्जिनियरिङ कम्पनी मार्फत कामदार आपूर्तिसँगै भवन र सडक निर्माणमा समेत सक्रिय रहे। युनाइटेड कम्पनीबाट नै अहिले हङकङको निर्माण क्षेत्रमा ५०० बढी स्वदेशी–विदेशी कामदार कार्यरत् छन। यो कम्पनी तीन महिनाअघि संचालनमा आएको समुन्द्रमाथी बनेको संसारकै लामो हङकङ–मकाउ–चुहाई पुल निर्माणमा समेत संलग्न थियो।

फानलिंगस्थित चीन जोड्ने नयाँ सडक–सुरूङ र अध्यागमन निर्माण तथा विमानस्थलबाट चुनमुन जोड्ने समुन्द्रमुनिको सुरूङ निर्माण लगायतका आयोजनामा अहिले पनि यो कम्पनी खटिरहेकै छ। यसबाहेक युनाइटेड कम्पनीले मलेशियाको फलाम खानी र हङकङको व्यापार क्षेत्रमा पनि लगानी थालेको थियो। तर, लगानीको प्रतिफल पाउने बेलामा भने महर्जन रहेनन्। २४ वर्षीय जेठा छोरा अरूण महर्जनको काँधमा ठूलो जिम्मेवारी छाडेर बिदा भएका महर्जनका श्रीमती मीना सहित दुई छोरा छन्।

हङकङका धेरै नेपालीले कमाईको सही सदुपयोग नगरिरहेकोमा उनी दुःखी थिए। हङकङको निर्माण क्षेत्रमा धेरै तलब खाने थोरै नेपाली मध्येका एक उनमा आफै रोजगार सिर्जना गर्ने चाहना तिब्र थियो। त्यसैले मित्सुमासु कम्पनीको सुपरिटेण्डेन्टका रुपमा मासिक एक लाख हङकङ डलर, गाडी र आवास सुविधा पाइरहँदा पनि उनलाई सन्तोष भएन। 

आफ्नै कम्पनीमार्फत नेपाली दाजुभाईलाई रोजगारी दिन सकेकोमा पछिल्लो समय उनी सन्तुष्ट देखिन्थे। अझ धेरै नेपालीलाई हङकङमै र नेपालमा समेत रोजगारीमार्फत जीवनस्तर उकास्न सहयोग गर्ने उनको चाहना थियो। हङकङको निर्माण क्षेत्रको भविष्य लामो नभएकाले अन्य क्षेत्रमा समेत लगानी विस्तार गर्ने उनको अग्रसरता त्यसैको परिणाम थियो। क्षमतावान नयाँ पुस्ताको नयाँ व्यवसायिक आइडियामा समेत उनले लगानी गर्न थालेका थिए।

नेपालमा हाउजिङ, अपार्टमेन्ट व्यवसायसँगै कृषि क्षेत्रमा लगानी गर्ने ज्याक दाईको इच्छा थियो। उनको हुटहुटी देखेर ६ महिनाअघि पूर्वी नेपालमा आधुनिक सामुहिक खेतीमार्फत ‘चुपचाप कृषि क्रान्ति’ गरिरहेका बुद्ध एयरका संचालक बीरेन्द्र बहादुर बस्नेतसँग कृषि र निर्माणको क्षेत्रमा गर्न सकिने कामका सम्भावनाबारे मैले सम्पर्क गरेको थिएँ। तर, सपना यत्तिकै छाडेर ज्याक दाई अस्ताए। शरीरमा रोग भएपनि दिनरात खटेर काम गर्ने र खानपान समेत नबार्ने बानीले आफुलाई कमजोर पारिरहेको हेक्का राख्न नसक्नु उनको भूल थियो।

हङकङका कतिपय नेपाली युवा विकृतितिर लागेको देखेर उनी दुःखी देखिन्थे। युवालाई सत्मार्गमा लाग्न प्रेरित गर्न सामाजिक संघ–संस्थाले सामुहिक सक्रियता देखाउनु पर्ने उनको धारणा थियो। नेवार समाज हङकङको संस्थापक र संरक्षक भएकाले नयाँ पुस्तामा मौलिक नेपाली पहिचान र संस्कृति हस्तान्तरण गर्दै लानु पर्ने कुरामा उनी जोड दिइरहन्थे।
***
‘मनैदेखि मानेको, आत्मीय मान्छे अचानक यो संसारमै नरहेको खबर सुन्दा पत्याउन गाह्रो हुँदो रहेछ। मैले यो जीवनकालमा भेटेका एक असल मान्छे यति चाँडै महाप्रस्थानमा लिन होलान भनेर कसरी पत्याउने? लाग्छ, यो खबर असत्य भइदिए हुन्थ्यो। तर, सत्यलाई नचाहेरै भएपनि आत्मसात गर्नैपर्छ। ज्याक दाई, तपाईं एक्लै गएपछि हाम्रा सपनाहरू पनि एक्ला भएका छन्। तपाईंसँग मिलेर पूरा गर्न चाहेका योजना अधुरै रहने भए। तर, तपाईंको सोच, आशा र सपनाको बाटोमा हिंडिनै रहुँला। सधैं सम्झिरहने छु।’

गएको शुक्रबार आफ्नो फेसबुक स्ट्याटसमा यति लेखुञ्जेल पनि मलाई उनको अनुपस्थिति स्वीकार्न गाह्रो भइरहेको थियो। परिवारलाई त झन् के बितेको होला!

अलबिदा ज्याक दाई!

१४ जनवरी २०१९, हङकङ