काठमाडौं। पूर्वउपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानकासाथ अन्तेष्टि गरिएको छ। शनिबार राति निधन भएका अधिकारीको आइतबार दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानकासाथ अन्तेष्टि गरिएको हो। पशुपति आर्यघाटमा उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले अधिकारीको पार्थिक शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए। अधिकारीलाई तीन छोरीले दागबत्ति  दिएका थिए।

नेता अधिकारीको ८३ वर्षको उमेर गएराति निधन भएको थियो। दिवंगत नेता अधिकारीको पार्थिव सरिरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रुपमा पार्टीको झण्डा ओडाएका थिए। 

धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिएको उनो पार्थिव शरीरमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालले संयुक्त रुपमा पार्टीको झण्डा ओडाएर सम्मान गरेका थिए। दिवंगत नेता अधिकारीको सम्मानमा एक मिनेट मौनधारण समेत गरिएको थियो। 

उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, सत्तारुढ नेकपाका नेता तथा कार्यकर्ताहरुको एमाले केन्द्रीय कार्यालय, धुम्बाराहीमा ठूलो भिड लागेको थियो। 

विक्रम संवत १९९३ साल बैशाख २२ गते बुबा रामप्रसाद अधिकारी र आमा पूर्णकुमारी अधिकारीको कोखबाट जन्मिएका नेता अधिकारीले २०५१ सालको पहिलो  कम्युनिष्ट सरकारको अर्थमन्त्रीको रुपमा ल्याएको लोकप्रिय र जनप्रिय बजेट ल्याएका थिए।