जाजरकोट, माघ २३ – जाजरकोटको भेरीमालिका नगरपालिका–४ बोहराकी २४ वर्षे राधिका सुनारकोे हत्यामा संलग्न भएको आरोपमा आइतबार दिउँसो मृतकका श्रीमान दलबहादुर सुनार पक्राउ परेका छन् ।
जाजरकोट डोल्पा सडकको जिरो प्वाइन्ट नजिकै पासागार घटनास्थलमा एउटा खुकुरी र जुत्ता फेला परेको प्रहरीले जनाएको छ । घरायसी झगडाका कारण श्रीमानले नै हत्या गरेको मृतकका माइती पक्षले आरोप लगाएका छन् ।मृतकका श्रीमान सुनार नेपाली सेनाको सुर्खेतस्थित नरसिंह दल गणमा सिपाहीमा पदमा कार्यरत थिए । यस अघि पनि श्रीमान दलबहादुरले श्रीमती राधिकालाई पटक–पटक कुटपिट गरेर घरेलु हिंसा गर्ने गरेको मृतकका भाइ गोविन्द महरले बताउनुभयो ।
हप्ता दिन अघि बिदामा घर आएका श्रीमान दलबहादुरले दिनहुँ चरम यातना दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जाजरकोटका प्रहरी प्रमुख डिएसपी भावेष रिमालले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार भेरीमालिका नगरपालिका–४ स्थित जाजरकोट डोल्पा सडक खण्डाको जिरो प्वाइन्ट, पासागाड खोला नजिक ति महिलाको शनिवार राति हत्या भएको हो । रुकुमको चौरजहारी नगरपालिका अम्माचौर माइती भएकी मृतक महिलाको पेटमा छुरा रोपिएको र हातका औंला काटिएको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो । घटनाको प्रकृति हेर्दा लखेटी लखेटी मारिएको देखिएको रिमालले जानकारी दिनुभयो ।