फोहोर व्यवस्थापन नहुदाँ, नगरवासी सास्ती भोग्दै

 किसोर श्रेष्ठ , उर्लाबारी ,१३ फागुन

उर्लाबारी नगरपालिका घोषणा भएको झन्डै २ वर्ष बित्नै लाग्दा पनि यहाँको फोहोर व्यवस्थापनको समस्या अझै सुल्झिन सकेको छैन । दिर्घकालिन योजना सहित फोहार व्यवस्थापनमा सम्बन्धित निकाय मौन रहँदा नगरपालिकाबाट संकलित फोहोरमैलाको व्यवस्थापनमा समस्या देखिएको हो । जनसंख्या वृद्धिका साथै बढ्दो सहरीकरणसँगै घर बजार तथा अन्य उद्योगबाट निस्केको फोहोर व्यवस्थापनका लागि निश्चित स्थान नतोकिंदा यस्तो समस्या भएको हो । नगरपालिका घोषणा भएसँगै मेची महाकाली इन्भायरमेन्ट केयर प्रालिसँग ५ वर्षका लागि वार्षिक १५ लाखको सम्झैता गरेर नगरको फोहोर संकलनको जिम्मा दिइएको थियो । नगरपालिकाले हालसम्म ४ भन्दा वढी स्थानमा फोहोर डम्पिङ गरिसकेको छ । दिर्घकालिन योजना बिना नै फोहोर फाल्ने गरिएकोले स्थानीयको विरोध पश्चात स्थान पनि परिवर्तन गर्दै आइरहेको छ । ७ लाख २१ हजार रुपैयाँमा डम्पिङका लागि उर्लाबारी ६ स्थित मङगलबारे दक्षिण खोला किनारमा जग्गा खरिद गरेको नगरपालिकाले स्थानियको विरोधका बाबजुत करीव ७ महिना फोहोर व्यवस्थापन गरेको थियो । बक्राहा किनारमा डम्पिङ गरेको फोहोर खोलाले बगाएर बस्तीमा पुर्याएपछि दक्षिणी गाविस अमरदह, हसन्दह, गोविन्दपुर लगायतका स्थानीयहरुले विरोध गरेका थिए । तटबन्धन नगरी खोलाधारमा जग्दा खरिद गर्दा नगरपालिकाको रकम बालुवामा पानी खन्याए सरह बनेको थियो । खोलाले जमिन कटान गरेपछि उक्त स्थान परिवर्तन गरी वडा नं. ३ स्थित निर्माणाधिन उर्लाबारी बस पार्कको पूर्वी स्थानमा फोहोर फाल्न थालियो । तर उक्त स्थानमा दुर्गन्ध फैलिएको भन्दै स्थानीयले विरोध जनाएपछि पुनः स्थान परिवर्तन गरी हाल उर्लाबारी – ३ स्थित सिद्धेश्वर शिव बाबा धामको पूर्वको स्थानमा रहेको मावा खोलाको किनारमा फोहोर फाल्दै आएको छ । ठेकेदार कम्पनीले उक्त स्थानमा फोहोर फाल्ने गरेको तर त्यसको उचित व्यवस्थापन नगर्दा हाल उक्त स्थानमा पनि दुर्गन्ध फैलिन सुरु गरेको स्थानीयहरुको भनाई छ । फोहोर फ्यालिसकेपछि त्यसको व्यवस्थापनमा ध्यान नदिँदा गाउँमा दुर्गन्ध फैलिन सुरु भएको स्थानीय रमेश दाहालले जानकारी दिएका छन् । मन्दिरलाई नगरकै नमूना धाम बनाउने उदेश्य सहित लागेको समयमा ठेकेकार कम्पनीले त्यसरी फोहोर फाल्दा समस्या उत्पन्न भएको र त्यहाँ आउने भक्तजनहरुलाई पनि समस्या भएको मन्दिर समितिका अध्यक्ष दुर्गाप्रसाद खतिवडाले बताएका छन् । यसको चाँडै व्यवस्थापन हुनुपर्ने उनको भनाई छ । नगरपालिकाले तोकेको स्थानमा कम्पनीले फोहोर फाल्ने गरेको र नगरपालिकाले भने अनुसार नै स्थान परिवर्तन गर्दै आएको मेची महाकाली इन्भायरमेन्ट केयर प्रालिका अध्यक्ष नेत्र घिमिरेले बताएका छन् । फोहोर व्यवस्थापन गर्न करीब १ महिना पश्चात जग्गाधनीसँग समन्वय गरी स्पेयर निर्माण गरेर फोहोरलाई दुर्गन्ध रहित बनाई उक्त स्थानमा फोहोर फाल्ने कार्य बन्द गर्ने अध्यक्ष घिमिरेले जानकारी दिएका छन् । फोहोर संकलन गरे बापत प्रत्येक घर, पसल, संघसंस्थाबाट ५० देखि १ सय रुपैयाँसम्म कम्पनीले उठाउने गर्छ । संकलित रकमको १० प्रतिशत रकम नगरपालिकालाई बुझाउने गरेको कम्पनीका सह – संयोजक भिम भट्राईले बताएका छन् । हाल कम्पनीले दैनिक ६ ट्याक्टर फोहोर संकलन गर्दै आएको छ । यसै बारेमा नगर पालिकाका कार्यकारी अधिकृत सुरेन्द्र थापा मगरले अस्थायी रुपमा उक्त स्थानमा फोहोर फाल्ने गरेको र छिट्टै दिर्घकालिन योजना सहित जग्गा खरिद गरी डम्पिङ साइड निर्माण गर्ने लक्ष्य नगरपालिकाको रहेको जानकारी दिएका छन् । डम्पिङ साईडका लागि पहिलो पटक खरिद गरिएको उर्लाबारी – ६ को स्थान गलत छनोट गरिएको बारेमा जिज्ञासा राख्दा अधिकृत थापा मगरले यस बारेमा आफू अनभिज्ञ रहेको र आगामी दिनमा उपयुक्त स्थानमा फोहोर फाल्न जग्गाको खोजी गरिने बताएका छन् । के छ त फोहोर व्यवस्थापनका विषयमा स्थानीयको धारणा ?.

 

बीरबल थापा, नेपाली कांग्रेस / उर्लाबारी नगर सभापति

 नगर हाम्रो हो सफा गरे हामी स्वस्थ हुन्छौं भन्ने जनचेतना सम्पूर्ण नगरबासीमा पुर्याउन जरुरी रहेको छ । यसको व्यवस्थापनमा ढिलाई गरे फोहोरबाट फैलिने आउँ, हैजा, पखाला, जस्ता विभिन्न किसिमका रोगले व्याप्त हुने सम्भावना देखिन्छ । खोलाले जग्गा लगेपछि उत्पन्न समस्याको जतिसक्दो चाँडो यसको समाधान खोजिन जरुरी छ ।
बीरबल थापा, नेपाली कांग्रेस / उर्लाबारी नगर सभापति

 

 – नगरपालिकाले अझैसम्म फोहोर व्यवस्थापनमा दिर्घकालिन योजना ल्याउन नसक्नु लज्जाश्पद विषय हो । जग्गा खरिद गर्दा कुनै सोच बिचार नपुर्याएका कारण पनि हालको अवस्था सिर्जना भएको र जतिसक्दो चाँडो उपयुक्त स्थान छनोट गरी उचित व्यवस्थापनमा ध्यान दिन जरुरी छ ।

राजेन्द्र पौडेल, माओवादी केन्द्र उर्लाबारी इन्चार्ज