किसोर श्रेष्ठ
उर्लाबारी  / फागुन १६
प्रेम कथामा आधारित चलचित्र ‘यो साइनो मायाको’ आगामी चैत ४ गतेदेखि देशब्यापी रूपमा प्रदर्शनमा आउने भएको छ ।

सोमबार झापाको दमकमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा चलचित्र प्रदर्शनको अन्तिम तयारीमा रहेकोे निर्माण युनिट्ले जानकारी गराएको छ । पूर्वको पर्यटकीय स्थल इटहरी, धरान, भेडेटार, विराटनगर लगायतका स्थानमा चलचित्रको छायाङ्कन गरिएको छ । चलचित्रमा जतिन ताम्राकार नायक र रेष्मा घिमिरे नायिका रहेका छन् । रेष्माले नेपाली चलचित्रमा ‘यो साइनो मायाको’ बाट डेब्यू गरेका हुन् ।

नितराज प्रधान, राजु भुजेल, सागर डंगोल, किशोर भण्डारी, सुनिता ठाकुर, मनोज खतिवडा, दिवस सुवेदी, बिशाल श्रेष्ठ, उमा कार्की, गौरब खतिवडा लगायतले पनि अभिनय गरेका छन ।

मजिना मुभीको क्रियसनमा निर्मित चलचित्रमा अरुन प्रधानको निर्देशन रहेकोे छ भने रामकुमार श्रेष्ठले निर्माण गरेको हुन् । चलचित्रका गीतहरुमा शिव परियार, मेलिना राई, कोशिश छेत्री लगाएतको स्वर रहेकोे छ भने कुन्दन थापा र बिकेश कुङ्साकारले संगीत भरेका छन् । गीतलाई कुन्दन थापा र सुनिता घिमिरेले लेखेका हुन् ।

चलचित्रका मुख्य कलाकारहरुको उपस्थितमा आयोजित कार्यक्रममा चलचित्र पत्रकार संघ पुर्वान्चलका अध्यक्ष सन्तोष राई, दमक पत्रकार मंचका अध्यक्ष बिस्नु पोख्रेल लगायतले चलचित्रले दर्शक स्रोताको मन जित्ने आशा अपेक्षा रहेको जानकारी दिए । कार्यक्रममा पत्रकारहरुलाई फिल्मको नाम अंकित टि सर्ट प्रदान समेत वितरण गरीएको थियो ।