अनोज रोक्का
स्वास्थ्य र शिक्षाको लागि अक्षयकोष स्थापनार्था चलचित्र भेडी गोठालेलाई ७ मेई २०१७ का दिन हङ्कङ स्थित याउमा तेई कम्युनिटी हलमा प्रर्दशन गरिने भएको छ । पत्रकार सम्मेलनको आयोजना गर्दै मिलन डिजी ईन्टरनेशनल प्रा.ली.का अध्यक्ष एवंम चलचित्रका लगानीकर्ता दुर्गा गुरुङ् मिलनले उक्त कुरा बताएका हुन् । सामाजिक सेवामा तल्लिन दुर्गाले आफ्नै बलबुतामा आँखा शिवीर, हेल्थ क्याप, गरिव तथा विपन्न परिवारलाई विभिन्न सहयोग, बिद्यार्थी, बृद्धबृद्धा लगायतलाई अत्यावश्यक औषधी, छात्रवृति लगायतका सहयोग गरिरहेका छन् । मिलन फाउण्डेसन दर्ता गरि सामाजिक सेवामा लागेका दुर्गाले संस्कृति, कला संरक्षणका लागि मिलन डिजी ईन्टरनेशनल मार्फत पहिलो चलचित्र भेडी गोठाले निर्माण गरेका हुन् ।

चलचित्रलाई लमजुङको बेशी शहरमा पहिलो पटक प्रर्दशन गरिएको थियो । प्रर्दशनबाट उठेको सम्पूर्ण रकम तमु प्ये ल्हु संघ लमजुङ्को क्होईबो धिं निर्माणका लागि सहयोग गरिएको छ । हङ्कङ प्रर्दशनबाट उठेको रकम पनि सामान्य खर्च कटाएर मिलन फाउण्डेसन मार्फत विभिन्न सामाजिक सेवाभावका काममा खर्च गर्नेछौ अध्यक्ष गुरुङ् बताउँछन् ।

बिदेशी मोहले गाउँ रित्तिएको छ, ति शुन्दर प्राकृतिक अनुपमता दिनप्रतिदिन क्षय हुदैछ । गाउँघरमा भएका काम र प्रतिभा निरुत्साहित छन्, तर केहि सम्भावना जुन हामीले निर्माण गर्न सक्छौ । सम्भावना नेपालमा हैन, नेपालीमा छ, मात्र हामीलाई साहस र धैर्यता चाहिएको छ । यहि यर्थाथलाई फिल्मले बोकेको छ भेडी गोठालेका निर्देशक सुवास गुरुङ् बताउँछन् । यहि बर्षमा तीन वटा चलचित्र निर्देशन गरेका सुवास चलचित्रकै लागि जन्मिएको बताउँछन् भन्छन् –“मैले बिदेशलाई कर्मभूमि बनाए पनि म आफ्नो कला, संस्कृति र आफ्नोपनको जगेर्ना गर्नका लागि निरन्तर लागि रहन्छु ।” कार्यक्रमका प्रमुख अतिथी पनि रहेका सुवासले भेडि गोठाले चलचित्रको शुन्दर लोकेशन, गीत संगित र अर्गानिक कथाले सवैको मन जित्ने दाबी गरे ।

कार्यक्रममा विशिष्ट अतिथी गुरुङ् चलचित्र एशोसियसन हङ्कङ (जिफान) का अध्यक्ष रोशन गुरुङले जुनै सुकै भाषाको चलचित्र निर्माण भएपनि त्यसले नेपालको संस्कृति जगेर्ना गर्ने बताए । यस्ता चलचित्र सम्पदा हुन् जहाँबाट हामी हाम्रो अस्तित्व भेट्टाउँन सक्छौ उनी सुझाउँछन् ।