अनोज रोक्का

दुई वर्षअघिको भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक हैबुङको माध्यमिक विद्यालय भवन निर्माण तथा विपन्न वर्गको बालबालिकहरुको सहयोगार्थ हङकङमा ‘साहारा साँझ तेस्रो’ हुने भएको छ। साहारा क्लब हङकङले शनिबार कार्यक्रमबारे जानकारी गराएको छ।

‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा चर्चित पप गायक सुगम पोख्रेल, मिस टुरिजम २०१० तथा गायिका समृद्धि राई, दृष्टि विहिन गायिका सरीता अधिकारी, गायिका प्रिया गुरुङ, बहुप्रतिभाशाली बाल कलाकार वेगेन्द्र बुढा, डान्सर मिन गुरुङ, गायक तथा प्रस्तोता जयकुमार परियार लगायतको प्रस्तुती रहनेछ।

४ जुन २०१७ का दिन हङकङस्थित याउमातेई कम्युनिटी हलमा आयोजना हुने कार्यक्रमलाई साहारा क्लव हङकङले आयोजना गरेको हो।

साहाराले नेपालमा एकेडेमी स्थापना गरि १६ जिल्लाबाट २८ जना बालबालिकालाई आश्रय दिøरहेको छ। शिक्षा, स्वास्थ्य, आवास, तालिम लगायत अक्षय कोषको समेत स्थापना गरि बालबालिकाको चौतर्फी विकासका लागि विभिन्न कार्यक्रमहरु गरिरहेको छ।

पहिलो ब्याचमा साहाराले पोखरा आसपासका २० जना बालबालिकाहरुलाई फुटवल तालिम दिएको थियो। नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राईकर अनिल गुरुङ त्यहि ब्याचका उत्पादन हुन्। साहारा साँझ कार्यक्रम ईन्द्र बराह ज्वेलरी र कानुन ब्यवसायी देव गुरुङ्को प्रायोजन र सहप्रायोजनमा आयोजना हुनेछ।

कार्यक्रमबाट हङकङेली नेपाली समुदायले मनोरञ्जनसँगै सामाजिक सेवामा पनि आफुलाई समाहित गर्ने साहाराका अध्यक्ष दिपक गुरुङ बताउँछन्।

‘स्थापित कलाकारहरुसँगै नेपाली कला क्षेत्रमा निरन्तर संघर्षरत प्रतिभावानहरुलाई पनि हामीले स्थान दिएका छौँ’, संस्थाका प्रमुख सल्लाहकार तुलसी गुरुङले भने, ‘यो वास्तविक सामाजिक सेवाका लागि गरिएको हो।’