प्रकाशित ९ जेठ २०७४, मंगलबार | 2017-05-23 07:29:06

 

लन्डन , ९ जेठ 

बेलायतको म्यानचेस्टर शहरस्थित एक एरिनामा चलिरहेको गायिका एरियाना ग्र्यान्डेको कन्सर्टपछि बम विस्फोट भएकाे छ। विस्फोटमा कम्तिमा १९ जनाले ज्यान गुमाएका छन्। ५० जना मानिस गम्भीर घाइते भएका छन्।

ग्रेटर म्यानचेस्टर प्रहरीले मानिसहरूलार्इ घटनास्थलबाट टाढै रहन अपिल गरेको छ। विस्फोटपछि एरिनालार्इ पुरै खाली गरिएको छ। गायिका एरियाना ग्र्यान्डेका प्रवक्ताका अनुसार उनी अहिले सुरक्षित छिन्।

प्रत्यक्षदर्शीका अनुसार दुर्इवटा शक्तिशाली विस्फोट भएको थियो। समाचार अनुसार यो विस्फोट एरिनाको टिकट काट्ने ठाउँको ढोकामा भएको हो।

विस्फोटको कारण अहिलेसम्म खुलेको छैन। २२ वर्षीय रोबर्ट टेम्पकिनले भनेका छन्, ‘घटनापछि सबै मानिस चिच्याइरहेका थिए । कोही भने भागिरहेका थिए । मानिसका कोट र फोन अलपत्र थिए । मानिस सबथोक छाडेर भागिरहेका थिए।’

घटना लगत्तै त्यहाँ एम्बुलेन्ससहित उद्धारकर्मी पुगेका थिए । घाइते तथा मृतहरूबाट बगेको रगतले अन्य मानिस पनि झन त्रसित भएका थिए।

एक जना प्रत्यक्षदर्शीले उक्त विस्फोटनले आफूलाई कैयौं मिटर पर हुत्याइदिएको बताए। विस्फोटनका कारण भवनहरु हल्लिएका थिए र भग्नावशेषहरु हावामा उडिरहेको भन्दै ती प्रत्यक्षदर्शीले आफुले कैयौं मानिस भुईंमा ढलिरहेको देखेको र त्यसमध्ये केहीले ज्यान गुमाएको हुनसक्ने बताए। मध्य म्यानचेष्टरमा रहेको उक्त क्षेत्रमा अहिले बम निस्क्रिय पार्ने विशेष सुरक्षा विज्ञहरुको टोली र सशस्त्र प्रहरी परिचालन गरिएको छ। सो क्षेत्रलाई घेराबन्दी गरिएको छ र नजिकै रहेको मुख्य रेल स्टेशनको सम्पूर्ण सेवा अवरुद्ध भएको छ। अहिले लन्डनमा प्रति आतंकवाद हेर्ने उच्च अधिकारीहरु भेला भइरहेका छन् र उनीहरुले गृहमन्त्रालयसँग समन्वय गरिरहेका छन्। बीबीसीको सहयोगमा