महोत्तरी, बर्दिवास जिल्ला अदालत महोत्तरीका न्यायाधीश पूर्णप्रसाद बास्तोला बर्दिबासको सार्वजनिक स्थलमा एक महिलालाई यौन दुव्र्यवहार गरेर आफूलाई सैतान भएको सावित गरेको बर्दिबासका महिला अधिकारकर्मीहरुले बताएका छन् ।
पीडितलाई न्याय दिलाउने न्यायाधीश नै यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेको खबर देशभरी फैलिएको छ । रक्सी खाएको उन्मातमा पीडितलाई न्याय दिलाउने न्यायाधीश बास्तोला यौन दुव्र्यवहारको आरोपमा आइतबार पक्राउ परेका थिए । पक्राउ परेका न्यायधीश बास्तोला पीडित महिलासँग दश औँला जोडर माफि मागेपछि हिरासत मुक्त भएका छन् । बास्तोला जिल्ला अदालत महोत्तरीका अतिरिक्त न्यायाधीश हुन् ।कानुनको रखवला न्यायाधीश बास्तोला आइतबार दिउँसो २ बजे साथीभाइसँग महोत्तरीको बर्दिबासस्थित एक होटलमा बसेर मादक पदार्थ सेवन गरेका थिए । न्यायाधीश बास्तोला दिउँसै मादक पदार्थ सेवन गरेर लठ्ठिएका थिए । होटलमा एक सहकारी संस्थाकी महिला दैनिक किस्ता रकम उठाउन गएकी थिइन् । त्यो समयमा ती महिलालाई न्यायाधीश बास्तोलाले ‘ए काली आउ, रमाइलो गरौं’ भन्ने कुरा भन्दै यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले उनलाई आइतबार ३ बजेतिर नियन्त्रणमा लिएको हो ।प्रहरीले आइतबार ३ बजे पक्राउ गरेका न्यायाधीश बास्तोलालाई राति १० बजे इलाका प्रहरी कार्यालय बर्दिबासमा पीडित महिला र स्थानीय बासिन्दासँग हात जोडेर माफी मगाएको थियो । माफी मागेपछि घटना साम्य भएको खबर बाहिर आएपनि बास्तोलाले लागुपदार्थ सेवन गरी यौन दुव्र्यवहार गरेको पीडित महिलाले बताएपछि न्यायाधीश बास्तोलालाई सर्वसाधारण र पीडित पक्षका आफन्तहरुले नियन्त्रणमा लिएका थिए । कानुनी कारवाहीका लागि प्रहरीलाई तत्कालै जिम्मा लगाएका थिए ।

प्रहरीले न्यायाधीश भगाए
कानुनी कारवाहीको लागि जिम्मा लिएका प्रशासनले नै कारवाहीको साटो पक्राउ परेको ७ घण्टापछि न्यायाधीशलाई पीडितसँग माफि मगाएर उनलाई प्रहरी हिरासतबाट भगाउन सफल भएका एक स्रोतले जनाएको छ ।

लुकेका न्याधीशलाई कालर समातेर प्रहरीलाई जिम्मा
दैनिक किस्ता उठाउन होटलको काउन्टरबाट बाहिरिदैं गर्दा अपरिचित व्यक्तिले अभद्र शब्द बोल्दै दुव्र्यवहार गरेपछि महिला चिच्याएर गुहार मागेकी थिइन् । हल्लाखल्ला भएपछि न्यायाधीश बास्तोला होटलबाट भाग्ने कोसिस गरेका थिए । तल पार्किङ गरिएको बा ११ च ५८९४ नम्बरको कार चढ्न जाने प्रयास समेत गरेका प्रत्यक्षदर्शीले बताएका छन् । आफुलाई बचाउ गर्न न्यायाधीश बास्तोला होटलको छेउमै रहेको एक सहकारीको सेवाग्राही बस्ने स्थानमा बसे जस्तो गरेर लुकेका थिए । न्यायाधीशलाई खोज्दैं जादा लुकेको स्थानबाट पीडितका आफन्तले कालर समातेर उनलाई प्रहरीको भ्यानमा तानेर लगेका थिए । यता, होटलमा रक्सी खाएर महिलालाई दुव्र्यवहार गर्ने व्यक्ति न्यायाधीश हो भन्ने कुरा कसैलाई थाहा थिएन । प्रहरीले न्यायाधीशलाई प्रहरी भ्यानमा राखेर इलाका प्रहरी कार्यालय बर्दिबासमा लैजादाँसम्म पनि बास्तोला न्यायाधीश भएको सुइको समेत पाउन सकेका थिएनन् । प्रहरीले उनीसँग बयान लिने क्रममा जिल्ला न्यायाधीश भएको खुलासा भएको हो ।

कानुनको रखवालालाई छुटाउन फोनका फोन
जब दुव्र्यवहार गर्ने व्यक्ति कानुनको रखवाला भएको बाहिर आएपछि घटना अर्कोतर्र्फ मोडियो । त्यसपश्चात प्रहरीले न्यायाधीशलाई बचाउनको लागि विभिन्न व्यक्तिलाई फोन गर्न थालेको स्रोतले बताएको छ । त्यसपछि इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले न्यायाधीश पक्राउको जानकारी जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी जनक भट्टराइलाई गरायो । इलाकाले जिल्लालाई घटनाको जानकारी गराए लगत्तै करीब डेढ घण्टा नबित्दै जिप्रका महोत्तरीका एसपी जनक भट्टराई आफैँ घटनास्थल बर्दिवास आइपुगेका थिए । उनी त्यहाँ पुगेपछि घटनाले अर्कै मोड लियो ।

रक्षक नै भक्षक भएपछि कसको के लाग्छ र ?
यौन दुव्र्यवहारको घटनाको आरोपमा पक्राउ परेका व्यक्ति उपर मुद्दा चलाउने अधिकार इलाका प्रहरी कार्यालाई रहेपनि घटनालाई सामसुम पार्ने प्रयासस्वरुप एसपी भट्टराईले दुवै पक्षबीच वार्ता गराउने कार्यको भूमिका निर्वाह गरे । रक्षक नै भक्षक भएपछि कसको के लाग्छ भन्ने कुराको दृश्य न्यायाधीश बास्तोलाको यो घटनाबाट प्रष्ट भएको महिला अधिकारकर्मीहरुले बताएका छन् । उनले पीडित पक्षलाई ‘मेलमिलाप नगरे त्यसपछि उत्पन्न परिणामको जिम्मेवार आफैँ हुने’ चेतावनी दिएको त्यहाँ उपस्थित व्यक्तिहरुले बताएका छन् ।

पीडितको उजुरी लेख्न कसैले मानेनन्
पीडकलाई कारवाहीको लागि बर्दिबासका वकिलहरुलाई उजुरी लेखिदिन पीडित पक्षले आग्रह गर्दा पनि कुनै वकिलले न्यायाधीशको कारवाहीको लागि उजुरी लेख्न नमानेको पीडित पक्षको भनाइ छ ।

पत्रकारलाई जब निषेध गरियो
दिउँसो साढे तीन बजे पक्राउ परेका न्यायाधीश बास्तोला र पीडित महिला पक्षबीच मिलापत्र गराउने प्रयास राति १० बजेसम्म जारी रह्यो । यसैबीच, मिलापत्र गराउने कार्य भइरहँदा घटनास्थल पुगेका सञ्चारकर्मीलाई प्रहरीले रोक लगाएको थियो । न्यायाधीश बास्तोलाले पीडित महिलासँग हात जोडेर माफी मागेको दृश्यको फोटो लिन पुगेका पत्रकारलाई प्रहरीले माथिको निर्देशन भन्दै प्रवेश निषेध गरेको संचारकर्मीहरुले बताएका छन् ।

घटना छुकाउन प्रहरीको उर्दी
स्थानीय प्रशासनले यस विषयमा अहिलेसम्म पनि केही खुलाको छैन् । इलाका प्रहरी कार्यालय बर्दिबास र जिल्ला प्रहरी कार्यालय महोत्तरीले पनि यस घटनामा अहिलेसम्म केही बताएका छैनन् । इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी शालिग्राम शर्माले न्यायाधीश बास्तोला पक्राउ परेदेखि नै पत्रकारको फोन उठाएनन् ।
डिएसपी शर्माको नम्बरमा फोन गर्दा प्रहरी निरीक्षक जीवन गिरीले फोन उठाउने र यस विषयमा जिल्लामै बुझ्न आग्रह गर्दै आएका थिए । घटनाको सूचना कतै नदिन जिल्ला प्रहरी कार्यालयले मातहातका निकायलाई निर्देशन दिएको प्रहरी श्रोतले जनाएको छ । सोमबार बिहान जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईलाई फोन गर्दा उनले यस विषयमा आफूलाई केही जानकारी नभएको र पछि बुझेर जवाफ दिने बताएर पन्छिएका थिए ।
यसअघि जिल्ला प्रहरी कार्यालय महोत्तरीले महोत्तरीका सबै संचारकर्मीहरुको इमेलमा जिल्लामा कुनै घटना घटे त्यसको जानकारी पठाउँदै आएका थिए । तर, न्यायाधिश पक्राउ परेको विषयमा खबर त के पठाउनु यस सम्बन्धमा बोल्न पनि चाहेका छैनन् । घटनाबारेमा सम्पर्क गर्न खोज्दा न्यायाधीश बास्तोला सम्पर्कमा आउन चाहेनन् ।

हदैसम्मको कारवाही हुनुपर्छ
बर्दिबासकी महिला अधिकारकर्मी सारदा थापाले आरोपीत न्यायाधीश बास्तोलालाई अरु भन्दा दोब्बर कारवाहीको माग गरेकी छन् । एउटा न्यायाधीशको हरकतले न्यायालय बदनाम भएको भन्दै महिला अधिकारकर्मीहरुले न्यायाधिश बास्तोलालाई कारवाहीको माग गरेका छन् । न्याय दिलाउने न्यायाधीश नै महिलालाई दुव्र्यवहार गरेपनि कारवाही गरिनुको सट्टा प्रहरी प्रशासनले माफी मगाएर घटना सामय पार्नु आफंैमा गम्भिर कुरा भएको प्रतिक्रिया दिएकी छन् ।