काठमाडौं – काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थ र एलपी ग्यास अवैधरुपमा जम्मा कालोबजारीमा संलग्न भएको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
अपराध महाशाखाबाट खटिएको कालोबजारी भईरहेको स्थानबाटै पेट्रोलियम र ग्याससहित दुईजनालाई समात्न सफल भएको हो ।
प्रहरीका अनुसार आधा सिलिण्डर ग्यासलाई एक हजारदेखि एक हजार पाँच सयसम्म बेच्दै गरेको अवस्थामा राजेश भारती र यशोदा बजागाईंलाई पक्राउ गरिएको हो ।
महाशाखाको टोलीले बुढानिलकण्ठ नगरपालिका- १४ कपन आकाशे धारास्थित राजेश भारतीको रारा एन्ड इन्टरप्राइजेजबाट एसटिसी ग्यास २७ थान गीता ग्यास २५८ थान बरामद गरेको छ ।
त्यसैगरी कंलकीस्थित गोर्खा मनकामना फलफूल तथा कृषि बजारमा रहेको उग्रचण्डी स्टोरबाट प्रहरीले ५० लिटर डिजेल, ३२० लिटर पेट्रोल र १२५ लिटर मट्टितेल बरामद गरेको छ ।
कपनबाट ग्याससहित पसलका सञ्चालक सिन्धुपाल्चोकको कुनचोक-४ का राजेश भारती र कलंकीबाट पेट्रोलियमसहित काभ्रे नाला टुसालकी यशोदा बजागाईंलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको हो ।