image#यति ठूलो रकम परोपकारी क्षेत्रमा लगानी गर्ने इच्छा कसरी जाग्यो?

– म आफ्नो अवस्थाबाट क्षमतावान बन्न मलाई १५ वर्ष लाग्यो। पछिल्लो ५/७ वर्षयता एक करोड, डेढ करोड गर्दै सहयोग गर्दै आएको थिएँ। पढ्दै संघर्षगर्दै यहाँसम्म आउन निकै ठूलो संघर्ष गरियो। एक दिन परोपकारिताका लागि लामो समयको लागि प्रभावकारी कामको शुरुवात गर्ने सोचबाट प्रेरित भई एउटा फाउण्डेशन स्थापना गर्ने सोचका साथ यो घोषणा गरिएको हो। हामीलाई त्यस्तो ठूलो रकम जस्तो लाग्दैन र इतिहास बनाउन होइन वास्तवमा नै पीडित वर्गका लागि काम गर्ने इच्छा भएर यो रकम घोषणा गरिएको हो। हामी भोलि संसारमा नरहँदा पनि त्यो संस्था रहिरहोस् जसले कल्याणकारी कार्य निरन्तर गर्न गरिरहोस भन्ने हेतुले यो घोषणा गरियो। यसलाई प्रक्रियामा लैजान केही समय लागेको छ। नेपाल र अष्ट्रेलियामा यो संस्थागत गर्न केही समय लाग्यो। विशेषगरी शुरुको सीड मनी एक अरब अष्ट्रेलियाबाट आउने हो। हामीले जे जति कमायौं, अष्ट्रेलियामा नै कमाएका हो। यो शुरुवात हो। मलाई यो रकम साह्रै ठूलो रकम लाग्दैन। यसमा अरु रकम थपिदै जानेछ।
व्यापारी त हरपल नाफाको हिसाबमा रमाउँछन् तर यत्रो रकम परोपकारितामा दिंनेे ईच्छा कसरी प्राप्त भयो?

– यो घोषणा गरेको ५/६ दिन भयो। यो बीचमा मलाई आएको फोनबाट अझै बढी जिम्मेवार बनाएको महसुश भएको छ। धेरै कुरा सिक्ने अनुभव पाएको छु। एक अरब कुनै व्यापारमा लगानी गर्दा आउने नाफा कति हुन्छ भन्ने कुरा मलाई राम्ररी थाहा छ। यो कुरा अरुले पनि मलाई भनेका छन्। कमाउने कुरा महत्वपूर्ण हो। मैले कमाएर नै यो दिन सक्ने भएको हुँ। नभएको भए त कसरी दिन सक्नु र , तर महत्वपूर्ण कुरा म पनि यही देशको ग्रामीण समाजमा हुर्केर दुःख गरेर पढेर विदेशिएको मानिस हुँ। यो देशको ग्रामीण क्षेत्रमा कस्तो दुःख छ र कसरी आफ्नो घर परिवार चलेको छ। पढ्न कस्ता समस्याहरु छन भन्ने कुराबाट राम्ररी जानकार भएकोले मेरो पुस्ताले जस्तो अबको पुस्ताले पढ्ने र स्वास्थ्य समस्याबाट वन्चित हुनु नपरोस् भन्नाको लागि हामीले यो रकम घोषणा गरेका छौं। यो पनि मेरो लगानी नै हो। त्यो मुनाफा कमाउने लगानी व्यापार हो भने यो सामाजिक लगानी हो। यो समाजमा मेरो पनि उत्तरदायित्व छ भन्ने ठानेर सामाजिक उत्तरदायित्व वहन गर्ने अभिप्रायले लगानी गरेको हुँ। यो लगानीबाट कमसेकम २/४ सय युवालाई परिवर्तन गराउन सक्ने बनाउन सकियो भने त्यो लगानीले ती युवामा परिवर्तन आउनेे छ। संसारमा अनेकौं खालका अवसरहरु छन् त्यस्ता अवसर लिनसक्ने बनाउनका लागि यो मेरो लगानी हो। मेरो व्यापारिक लगानीले मलाई र काम गर्नेलाई फाइदा होला तर यसले समाजमा क्षमता भएर पनि अवसरबाट वन्चित हुनेहरुका लागि लगानी हो। यो लगानी म र मेरो श्रीमतीको संयुक्त लगानी हो। यसको प्रभावकारिता बढ्दै जाँदा ५/१० वर्षमा एक/दुई अरब थप्न सकूँ त्यतिखेर म अझ बढी खुशी हुनेछु।
सामाजिक लगानीका लागि जुन क्षेत्र स्वास्थ्य र शिक्षा नै किन रोज्नुभयो?

– हाम्रो जस्तो देशको लागि शिक्षा र स्वास्थ्यको कुरा निकै महत्वपूर्ण हो। किनकि हरेक मानिसको चेतना र विकासको स्तर शिक्षा विना सम्भव नै छैन। समाज सेवामा कसले कहाँ लगानी गर्छ भन्ने कुरामा पनि हरेक मानिस कुन बाटोबाट आयो भन्नेमा निर्भर हुन्छ होला सायद। किनकि मैले भोेगेको दुःखले पनि मलाई यो क्षेत्र रोज्न प्रेरणा मिलेको हुनसक्छ। शिक्षा विना कुनै पनि व्यक्तिले न त अवसर पाउँछ न त उसको भविष्य उन्नत हुन्छ। गाउँमा पुग्दा स्कूलको अवस्था, स्थानीय तहमा त्यहाँको शिक्षाको अवसर नपाउँदा र पाएपनि स्तरीय शिक्षाको अभावमा जुन दरमा नेपाली युवाहरु विदेशिएका छन् त्यो विदेसिने दर घटाउन मैले यो क्षेत्रलाई रोजेको हो। शिक्षामा लगानी गरेर अहिले कति इन्जिनियर, डाक्टर छन् उनीहरु कति छन्? र मैले गरेको लगानीपछि त्यो कति बढ्यो? त्यो इन्डेक्स परिवर्तन भएको हेर्न चाहन्छु मेरो लगानीमार्फत। नेपालको शिक्षाको स्तर र प्रभावकारिता देखेको कारण म त्यसमा परिवर्तन गराउन चाहन्छु। हरेक दिन १५ सय युवाहरु विदेश जाने रहेछन्। मेरो वटम लाइन त्यो घटाएर नेपालको हिक्ष क्षेत्रमा नै आमुल परिवर्तन भएको हेर्न चाहान्छु। हालको अवस्थामा एसएलसी कति पास गछन् र तिनीहरुमध्ये प्लस २ मा कति पढ्छन्। हाम्रो लगानीले ५ कक्षा पास गर्ने दर र एसएलसी पास गर्ने दर संगै विश्वविद्यालय पढ्ने दरमा समानता होस, डिग्री पास गर्ने सबै हुन्। ति सबै दक्ष जनशक्ति बनुन् भन्ने मेरो अन्तिम लक्ष्य हो। हाम्रो लगानीबाट नेपालको शिक्षा क्षेत्रमा सूचांक परिवर्तन भएको हेर्न चाहन्छु।
अर्काे स्वास्थ्य भनेको सबै भन्दा ठूलो सम्पत्ति हो। ग्रामीण क्षेत्रमा जाने हो भने अकालमा स्वास्थ्य सेवा नपाउँदा सयौं मानिसले ज्यान गुमाएका छन्। हाम्रै परिवारमा शुरुका दिनमा त्यसो भएको अनुभव छ। स्वस्थ मानिसले नै योगदान दिन सक्ने हो। नेपालमा बढी जस्तो महिलाको स्वास्थ्य क्षेत्र अलि बढी कमजोर रहेको पाएको छु। त्यसतर्फ बढी फोकस गर्ने हाम्रो योजना छ। हामी यो परोपकारिता जे गर्छाैं अध्ययन गरेर जहाँ आवश्यकता छ त्यहाँ फोकस गर्छाैं। आवश्यकता अनुसारको शिक्षा र स्वास्थ्य ग्रामीण क्षेत्रमा सबैको पहुँचमा छैन। त्यसैले हामी जहाँ शिक्षा स्वस्थ्यसेवा पहुँचबाट वन्चित छन् त्यहाँ भएको कुरालाई सुधार गर्ने, सहयोग गर्ने र आवश्यकता भएका जनतालाई पहुँच पुर्यारउने छांै। यो एक अरब खासै ठुलो रकम होइन शुरुवात हो। यसबाट सरकारले गरेको प्रयासलाई सहयोग पुग्न सक्छ भन्ने आशा छ।
तपाईंले शुरु गरेको परोपकारी कार्यबाट विकट पहाडी क्षेत्रको व्यक्तिले कसरी पहुँच पाउला अर्थात् यो रकमबाट त्यस्ता मानिस कसरी लाभान्वित हुन्छन?

– यो एकदमै राम्रो प्रश्न, तर आजै म कसरी सेवा पाउने भन्न सक्दिन। जसलाई हामीले तार्गेट गरेर लागानी गर्दैछौं पहिले त हामीले नेपालको सबै क्षेत्रको शिक्षा र स्वास्थको अवस्थाको सूचांक पत्ता लगाउँछौं। हामीसँग विज्ञहरुको समुह छ। त्यो समुहले आवश्यकता पहिचान गरेर कहाँ कस्तो आवश्यकता छ भन्ने कुरा तथ्यांकमा नै पहिचान गरेपछि मात्रै उनीहरुको आवश्यकता अुनसारको सहयोगको व्यवस्थापन गर्नेर्छाैं। त्यहिखेर हाम्रो लागानी कहाँ कसरी कसले लिन सक्छन भन्ने कुरा निर्धारण हुन्छ। को बढी क्षमतावान भन्ने कुरा जन्मेर आएको हुँदैन। सिष्टमले दिएपछि हरेक व्यक्तिको योग्यता क्षमता बढ्दै जाने हो। हामीले त्यस्ता व्यक्तिहरुका लागि अवसरको ढोका खोल्नेछ। सस्थागत प्रयास शुरु भएको छ काम भने शुरु हुनका लागि केहि समय लाग्न सक्छ। फाउण्डेशन शुरु भयो अब किस्तावन्दीका रुपमा यसको कोषमा रकम जम्मा हुँदै जानेछ।
लमजुङमा विद्यालय शिक्षा लिदै गर्दाको शेष घले र आजको शेष घलेमा के भिन्नता छ जस्तो लाग्छ?

– खासै भिन्नता छैन जस्तो लाग्छ। आज जुन अवस्थामा म छु यो अवस्थामा पुग्छु भन्ने कल्पना पनि थिएन। जब म अगाडि बढ्दै गएँ, क्रमश बाटो खुल्दै फराकिलो बन्दै गए। पछाडि फर्केर हेर्दा धेरै गरेजस्तो लाग्छ तर अगाडि हेर्दा खासै केही गरको जस्तो लाग्दैन। इतिहास हेर्दा मेरो बुबाले मलाई पठाउन शिक्षाको महत्व बुझेर जति प्रयास गर्नुभयो अहिले मैले मेरो छोराको लागि त्यति प्रयास गरेको छैन। सायद मेरो छोरोको अवसरहरु सिष्टमले प्राप्त गर्न पाएकोले होला त्यति गर्नु नपरेको। मेरो प्रेरणाको श्रोत महान मेरो बुबा मुमा नै हुनुहुन्छ।
म गाउँको प्राथमिक विद्यालय पढ्दाखेरी मेरो हजुरआमा दिनभरी स्कूलको चौरमा बस्नु हुन्थ्यो। जब स्कूल सकियो अनि सँगै घर जाने गर्नुहुन्थ्यो। त्यो किन भनेको त मैले स्कूल छाडेर भाग्छ कि भनेर मेरो हेरचाह गर्न दिनभर स्कुलमा नै बस्नु भएको रहेछ। यो उदाहरण मेरो मात्रै होइन, थुप्रै अभिभावकको चिन्ता यस्तै छ। मेरा बा आमा र लाखै उहाँहरु ज्ास्ता अभिभावकको सपना साकार पार्न मेरो लगानीले सार्थक तुल्याउनेछ। मेरो र मेरी श्रीमतीको जिवनमा केही फरक अनुभव त होला तर हाम्रो सबै कुरा हिजोदेखि आजसम्म सबै उस्तै भोगाई हो त्यसैले पनि हामीले यो प्रयास शुरु गरेका हौं। रोग, भोग गरिबी र अशिक्षाले आज नेपालीहरु जो क्षमता भएर पनि अवसरबाट वन्चित छन् उनीहरुलाई हाम्रो प्रयासले क्षमतावान बनाउन सकौं भन्ने हो। प्रमुख कुरा जहाँ हाम्रो परोपकारिता शिक्षा र स्वास्थ्यमा केन्द्रित छ त्यसका लागि आफ्नै पृष्ठभूमिबाट प्रेरित भएका हौं। म र मेरी श्रीमतीको विगतमा जे अनुभव थियो त्यही सेवा गर्न प्रेरित गरायो। हाम्रा लागि त्यो समयमा हाम्रो बुबा आमाले जति प्रयास गर्नुभयो र आज मैले त्यहीबाट सिकेर काम गर्दैछु। अब मैले गरेको कामबाट धेरैलाई सहयोग पुगोस् भन्ने मुख्य चाहना हो।
लमजुङमा घाँउ दाउरा गरेर हुर्केको व्यक्ति तपाईंहरु दुवैजना आज समुन्नत मुलुकमा प्रतिष्ठित व्यवसायीक व्यक्तिको सूचीमा हुनुहुन्छ। कमाउनु र परोपकारितामा त्यत्रो रकम लगानी गर्नुमा के भिन्नता देख्नु हुन्छ?

– सामाजिक योजना भन्नलाई खुसीको कुरा त हो तर झन् बढी जिम्मेवारी थपिएको महसुस भएको छ। यो सुरुवात हो, यो सामाजिक लगानी गरेर नयाँ जिम्मेवारीको सुरुवात भएको छ। यसलाई फल्दोफुल्दो गराउन थप जिम्मेवारी छ। जायज रुपमा कमाएको मुनाफाबाट शुरु गरेको नयाँ जिम्मेवारी शुरु भएको हो। व्यापार र परोपकारिता फरक अनुभूति हो। हामीले व्यापारबाट कमाएको मुनाफाको केही रकम यता छु्याएको मात्रै हो। व्यापार विजनेस पनि एक किसिमको परोपकारिता नै हो। व्यापारमा रोजगारी उत्पन्न हुन्छ, सरकारलाई कर तिरेको हुन्छ त्यसले सरकार चलेको हुन्छ। अनि त्यहीबाट प्राप्त मुनाफा फरक क्षेत्रमा लगानी गरेको हुँ। कमाउनु र परोपकारितामा लगानी गर्नुमा फरक प्रक्रिया हो तर उस्तै अनुभूति हुन्छ। झन समाजप्रति उत्तरदायित्व बढेर गएको छ।
मैले शुरु गरेको यो संस्था आफ्नो उद्देश्य प्राप्तिमा पुग्न केही समय लाग्छ। २/४ वर्षमा विश्वका अन्य संस्था जस्तै हुनका लागि यसले सामाजिक परोपकारितामा विश्वास जित्ने हुनुपर्दछ। हामीले जसरी जुन उद्देश्य राखेर शुरु गरेका छौं भोलीको दिनमा राम्रो गर्ने उद्देश्य भएपनि राम्रो गर्ला नगर्ला त्यसको भविष्य निर्धारण अहिले नै हुन्न। हामीले काम गरेर उत्कृष्ठ मोडल बनाउन सक्यौं भन्ने विश्वमा यस्ता सामाजिक संघसंस्थाहरु छन् जसलाई विश्वभर विश्वास गरिन्छ हामी त्यस्तै उदाहरणीय बन्न चाहन्छौं। जसले गर्दा अन्तर्राष्ट्रिय समुदायले हामीलाई विश्वास गरोस्। त्यतिबेला हामीसँग हातेमालो गर्न सक्छन्। गेट्स फाउण्डेसनमा वारेन बफेटले जसरी विश्वास दिलाएर रकम हालिदिए हामी पनि त्यस्तै विश्वमा नै उदाहरणीय हुन चाहान्छौं। हामी अहिले त्यसतर्फ ध्यान दिंदैनौं तर त्यस्तो उदाहरणीय काम गर्ने लक्ष्य राख्नु पर्दछ।
० सयौं यस्ता मानिस छन् जोसँग धन भएर मन छैन। तपाईंको यो कार्यबाट अरुलाई पनि केही प्रेरणा मिल्ला कि?

– यो मेरो व्यक्तिगत प्रयास हो। कसैलाई दबाब परोस भन्नाका लागि गरेको पनि होइन। मलाई थाहा थिएन कि यो रकम नेपालमा परोपकारिताका लागि ठूलो रकम रहेछ। नेपालमा यो एक अरब ठूला रकम भन्ने थिएन, मेरो क्षमता अनुसार शुरु गरेको हो। यो कुरा थाहा थियो भने २ अरब नै राखीदिन्थें त्यो पनि मेरो लागि खासै ठूलो कुरा पनि थिएन। तर कसैले मैले गरेको यो प्रयासबाट प्रेरित भएर परोपकारितामा लगानी गरे भने त समाजका लागि फाइदा नै हुन्छ। मैले सिक्नका लागि नै यसतर्फ काम शुरु गरेको हुँ। यो कसैका लागि प्रतियोगिता होइन। कसैले भोलि ५ अरब घोषणा गरे त धेरै राम्रो हुन्छ । जसले गर्छ त्यो त समाजको लागि हुन्छ। सकैले गरोस वा नगरोस यो मेरो प्रयास जारी रहन्छ।
अलि फरक प्रशंग, गैरआवासिय नेपाली संघको अध्यक्ष भएपछि नेपालमा लगानीको सुरक्षा छैन भन्दा भन्दै ८ अरब लगानी गरेर व्यवसाय शुरु भएको छ, कत्तिको जोखिम देख्नु भएको छ?

– यसलाई मैले जोखिमको रुपमा लिएको छैन। मैले शुरु गरेपछि धेरै विजनेस कम्युनिटीमा परिवर्तन शुरु भएको पाएको छु। विदेशी चेन होटल शुरु गरेपछि अरु पनि शुरु गर्न हौसला दिएको छ जस्तो लाग्छ। मलाई लगानी गर्न विश्वमा जहाँँ गरेपनि हुन्छ तर यो मेरो मातृभूमि हो। मैले होटलमा जति लगानी गरें त्यो मेरो भावनात्मक लगानी पनि हो। नेपाली भएको नाताले मेरो व्यवसायमा ४/५ सय जनाले रोजगारी पाउनेछन्। मैले त्यो होटलबाट मुनाफा कमाउन १०/१५ वर्ष लाग्छ होला, त्यसैले मैले मुनाफा भन्दा पनि भावनात्मक लगानीका रुपमा लिएको छु। लगानी मैत्री वातावरण र राजनीतिक स्थिरता भएको खण्डमा हाम्रो लगानी अझै बढ्ने छ। यो शुरुवात मात्रै हो। यस भन्दा पनि पहिले एनआरएन साथीहरुले थुप्रै लगानीहरु गरिरहेका थिए। तर पनि मैले गरेको शुरुवात केही थप प्रोत्साहन गर्ला जस्तो लाग्छ। नेपालमा अहिले पनि पर्यटन र कृषिमा लगानी गर्ने हो भने निकै राम्रो हुन्छ। चाँडो नाफा कमाउनका लागि नेपालमा राम्रो छैन तर लामो समयको लागि राम्रो छ। मुलुकमा स्थिरता भयो भने राम्रो छ।
तपाईं अध्यक्ष भएपछि संस्थाको आफ्नो घर बनाउने योजना थियो, कहाँ पुग्यो त्यो योजना?

– तपाईंले ठीक बेलामा सोध्नु भयो। किन कि हिजो यो कुरा सोध्नु भएको भए मैले जवाफ दिन सक्ने थिएन तर हिजो मात्रै हामीले बालुवाटारमा संस्थाको भवन निर्माणको लागि जग्गा खरिद गरेका छौं। मैले विश्वभर रहेका नेपाली साथीहरुकोमा पुगेर व्यक्तिगत जति खर्च गरे यो घर बनाउन खर्च गरेको भएपनि हुन्थ्यो तर पनि सबै एनआरएन साथीहरुबाट जे जति रकम जम्मा भएको छ त्यसबाट अब बन्ने भवनमा सबैको अपनत्व रहने छ। जग्गा र भवनका लागि हाम्रो योजना १५ करोड जम्मा गर्ने थियो तर म सबै साथीहरुकहाँ जान नसक्दा पनि १७ करोडको प्रतिबद्धता आएको छ। जसले मलाई निकै उत्साहित बनाएको छ। हाम्रो अब बन्ने भबन आफ्नोपन र भावनाले जोडेको हुनेछ। सबैबाट जतिसक्दो रकम कलेक्सन गरेर घर बनाउने योजना अब पूरा भएको छ। बाँकी देशमा अझै जानेछु त्यसबेलासम्म २० करोड पुग्ने आशा छ। नेपालमा जग्गा किन्न निकै झन्झट रहेछ। एक वर्ष लाग्यो जग्गा किन्न। ३ रोपनी जग्गा हामीले चाहेको लोकसेनमा पाएका थियौ। हाम्रो एउटा योजना पूरा भएको छ। विश्वभर छरिएर रहेका नेपालीको भावना मिश्रित घर अब छिटै बन्ने छ। अब यो बर्ष मेरो लागि बाँकी अरु काममा लाग्ने समय मिलेको छ।
एनआरएनको अध्यक्षको हैसियतले नेपालको वर्तमान अवस्थाको बारेमा के भन्नु हुन्छ?

– नेताहरुबाट माघ ८ मा संविधान आओस् भन्ने थियो त्यो संभव जस्तो लाग्दैन, वातावरण त्यति आशावादी देखिन्न। आजै म अष्ट्रेलिया फर्कने क्रममा एयरपोर्ट जानुछ तर नेपाल बन्द रहेछ कसरी जाने अन्यौलमा छु। त्यसैले जनताको अपेक्षा पूरा गर्न राजनीतिक नेतृत्व इमान्दार बन्नुपर्योो। हामी आजको परिस्थितिमा सन्तोषजनक छैन। आर्थिक वृद्धिका कुरा, व्यक्तिगत विकासका विष्यामा खुशीको अवस्था छैन। अझै पनि हामी आशावादी छौं। माघ ८ मा संविधान नआएपनि २/४ महिनामा ल्याईनु पर्दछ। त्यो संविधानमा हामी गैर आवासीय नेपालीलाई नागरिकता दिने व्यवस्था होस्। अझै पनि म आशावादी छु। मुलुकमा सुशासन र समृद्धिको सुरुवात होस् त्यसतर्फ नेताहरुको ध्यान जानु जरुरी छ।
– नेपाली टाईम्स अष्ट्रेलियाका लागि होम लम्सालले गरेको कुराकानीमा आधारित अर्न्तवार्ता