गोरखा, चैत १३ – वेलायती राजकुमार ह्यारी सहितको सहयोगमा गोरखा लापूस्थित प्रभातकिरण माध्यमिक विद्यालयको सुविधासम्पन्न भवन बन्ने भएको छ । भूकम्पले पुरानो भवन क्षतिग्रस्त भएपछि सोही ठाउँमा १२ कोठे नयाँ भवन बन्न लागेको हो । 

वेलायती स्वयमसेवीहरुले भवनको गाह्रो लगाउने काम सुरु गरिसकेका छन् । टिम रुविकन युके नाममा संगठित भएका बेलायतीले केही महिना अघिदेखिनै भवन बनाउने तयारी थालेका थिए । निर्माणको काम सुरु भएपछि वेलायती राजकुमार ह्यारी पनि पुननिर्माणमा सघाउन चैत ११ गते त्यहाँ पुगेका हुन् । उनले अरु स्वयम्सेवी र स्थानीय बासिन्दा सरहनै लगातार काम गरिरहेका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुरेश गुरुङले बताउनुभयो । 

उनीहरुले बिहान ८ बजेबाट काम थाल्ने र खाना खाने समयपछि शेलुका ५ बजेसम्मै लगातार काम गर्ने गरेको उहाँको भनाई छ । ह्यारीसहित १४ वेलायती र ३ नेपालीको टोलीले शुक्रबार दिनभर ढुंगा बोकेको र शनिबार काठ काट्ने र संकलन गर्ने काम गरेको गुरुङले जानकारी दिनुभयो । राजकुमार ह्यारीले अब केहीदिनमात्रै त्यहाँ बिताउने भएपनि अरु स्यवमसेवी भने काम सकेर मात्रै फर्कने विद्यालयले जनाएको छ । भवन निर्माणसँगै फर्निचर ब्यवस्थापनमा पनि उनीहरुले सघाउने ब्यवस्थापन समितिका अध्यक्ष गुरुङको भनाई छ । यसबाहेक विद्यालयमा सोलार बत्ती पनि जडान गरिनेछ । थूमीको सोती बजारबाट बोकाएर सोलार पाता पनि लापू पुर्‍याउन थालिएको छ । 

वेलायती स्वयमसेवीले स्थानीय लघुजलविद्युत आयोजना मर्मत गर्ने आश्वासन पनि दिएको लापूका सोम गुरुङले जानकारी दिनुभयो । ३ वटा लघुजलविद्युत आयोजना सञ्चालनमा रहेपनि भूकम्पपछि त्यहाँका सबै आयोजना बन्द छन् । सबै आयोजनामा निकै ठूलो क्षति पुगेको गुरुङको भनाई छ । ह्यारीले क्षतिग्रस्त नौलीखोला तेस्रो आयोजनाको शुक्रबार निरिक्षण गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

भूकम्पपछि प्रभातकिरण माविले खुल्ला ठाउँमा पठनपाठन गर्दै आएको छ भने विजुली नभएपछि स्थानीय बासिन्दा सौर्यबत्तिको भरमा छन् । भूकम्पपछि बनाइएको अस्थायी सिकाई केन्द्र हावाले उडाइदिएपछि वार्षिक परीक्षा समेत खुल्ला आकाशमूनी चलिरहेको छ । 

SOURCES : UJYALLO ONLINE