प्रतिक्षारत चलचित्र शिरफुलको सार्वजनिक भएको पहिलो गीतमा नायक देव र नायिका विनिताले रोमान्स गरेका छन् ।
एक अर्काको साथ पाउँदा निक्कै रोमाञ्चित देखिएका नायक नायिकाबीच यो रोमान्सको पछाडि लुकेको कथाका लागि भने चलचित्र रिलिज हुने समयसम्म भने कुर्नु पर्ने छ । हरि लम्साल र मेलिना राईको स्वर रहेको गीतलाई अजय स्याङताङले कोरियोग्राफी गरेका हुन् ।

युवा निर्देशक कलम एक्चै मगरले निर्देशन गरेको पहिलो चलचित्र शिरफुलमा अधिंकाश नयाँ कलाकारको अभिनय रहेको छ । यसका साथै पुराना तथा स्थापित कलाकारको पनि अभिनय हेर्न सकिनेछ ।
नेपाली चलचित्रकी कुनै समयकी चर्चित नायिका रुपा रानाको समेत यस चलचित्रमा अभिनय रहेको छ । यसका साथै सुनिल मगर, राज थापा, निता पुन, पूजा गजल, नमिता तामाङलगायतको चलचित्रमा मुख्य भूमिका रहेको छ ।निरोज श्रेष्ठले खिचेको यस चलचित्रलाइ मिलन श्रेष्ठले सम्पादन गरेका हुन्

आर्शिवाद पुन मगरका साथै पर्फमिङ आर्ट क्रिएशन र मगर्स क्रिएशन नेपालले संयुक्त रुपमा निर्माण गरेको चलचित्रको रिलिज डेट भने टुंगो लागेको छैन । रिलिज डेटको पर्खाइमा रहेको शिरफुलले नेपाल बाहिर भने त्यसअघि नै विभिन्न सहरहरुमा प्रिमियर शो गर्ने भएको छ । नेपालको रिलिज अगाबै नेपाल बाहिरका शोहरु बाटै आफ्नो लगानी सुरक्षित गरेको शिरफूल युनिटले जानकारी गराउनु भयो