एजेन्सी |

कर छलीको आरोप लागेपछि रियल म्याड्रिड स्टार क्रिष्टियानोले स्पेन छोड्ने संकेत गरेका छन्। उनीनिकट स्रोतको हवाला दिँदै सञ्चारमाध्यमहरुले उनले स्पेन छोड्न चाहेको संकेत गरेका छन्। गत वर्ष पोर्चुगललाई युरोकप र यसवर्ष रियललाई ला लिगा तथा च्याम्पियन्स लिग जिताएका ३२ वर्षीय रोनाल्डो सन् २००९ मा कीर्तिमानी ८ करोड पाउन्डमा रियलसँग आबद्ध भएका थिए। उनले गत नोभेम्बर महिनामा मात्रै रियलसँग पाँच वर्षे अनुबन्ध गरेका थिए। त्यसैकारण यो वर्ष विश्वकै सबैभन्दा बढी कमाउने खेलाडी बन्न उनी सफल भएका थिए।

तर हालै उनलाई करछलीको अरोप लागेपछि रोनाल्डो दुःखी भएको जनाइएको छ। रियलका लागि उनले ३९४ खेलमा ४०६ गोल गरिसकेका छन्। आलोचकहरुले भने रोनाल्डोले क्लबलाई धम्क्याउन मात्र यस्तो कुरा गरेको बताएका छन्। सन् २०१२ मा उनले क्लब छोड्ने धम्की दिएका थिए।

यदि रोनाल्डोले रियल वास्तवमै छोडेमा उनको गन्तव्य पूर्व क्लब म्यान्चेस्टर युनाइटेड नै हुने विश्लेषण फुटबल वृत्तमा सुरु भएको छ।एजेन्सी