१२ नोभेम्बर /२०१६

हङकङमा निर्माण क्षेत्रमा शुक्रबार साँझ भएको दुर्घटनामा गम्भिर घाइते भएका पोखरा निवासी रबि गुरुङको शनिबार बिहान मृत्यु भएको छ। हङकङको युङलोनमा बस्ने रवी गुरुङ सहित ४ जना नेपाली कामदार दुर्घटनामा परेका थिए।

गम्भीर चोटपटक लागेका उनी लगायत सबैलाई अस्पताल लगिएको थियो। तीमध्ये गम्भिर घाइते दुई जनाको उपचार भइरहेको छ भने एक जना समान्य उपचारपछि घर फर्केका छन्।

लाईटन एशिया कन्स्ट्रक्सन अन्र्तगत चीनको सेन्झेन नजिकै लिन्ताङ सिमा नियन्त्रण केन्द्रको परियोजना स्थलमा शुक्रबार साँझ दुर्घटना भएको हो। स्काफोल्डिङ असन्तुलित भएपछि त्यहाँ रहेका सबै कामदार खसेका थिए। एक प्रत्यक्षदर्शीका भनाइमा काम सकेर सेफ्टी हार्नेस निकाली तल झर्ने तरखर गरिरहेको बेला उनीहरू खसेका हुन्।

हङकङको निर्माण क्षेत्रमा ऊचाईबाट खसेर धेरैको ज्यान जाने गरेको छ र तिनमा नेपालीको संख्या बढी छ। हङकङमा करिब ३० हजार नेपाली बस्छन्, तीमध्ये झण्डै ८० प्रतिशत अग्ला बिल्डिङ, पुल, रेलवे सुरुङ जस्ता निर्माण क्षेत्रमा काम गरिरहेका छन्।