कोशेली एचके न्युज डेस्क

मोरङ , २० असोज ।

मोरंगको बेलबारीमा एक किशोरीलाई पैसा चोरेको आरोपमा छिमेकीहरुले हात बाँधेर , मुखमा मोसो दली सिस्नु पानीले कुटदै चरम अमानविय यातना दिएका छन ।
बेलबारी नगरपालिका २ देबी झोडामा स्थानीयहरु ४५ वर्र्षीाय दुर्गा चौधरी र ५० वर्षिय कुलदिप कुँवर लगायतले पैसा चोरेको आरोपमा स्थानीय परियार थरकी १४ वर्षिय किशोरीलाई बिहिबार दिउँसो त्यसरी चरम रुपले अमानविय यातना दिएका हुन ।
सुकुम्बासी परिवारकी बालिकालाई पैसा चोरेको अरोपमा सार्वजनिक स्थलमा हात बाँधेर मोसो दलि सिस्नुले हिर्काउँदै चरम अमानबिय यातना दिँदै गर्दा गस्तिमा गएको इलाका प्रहरी बेलबारीको टोलीले देखेर उनको उद्धार गरेको थियो ।

प्रहरीले घटनामा संलग्न कुलदिप र दुर्गालाई पक्राउ गरेको जनाएको छ ।यातनाबाट बालिकाको शरिर भरि निलडाम र चोट लागेको थियो । तर प्रहरीले तत्काल शरिरमा चोट नदेखिएको भन्दै बिहिबार तत्काल उपचारमा नलगी यातना दिने दुई जनालाई मात्र पक्राउ गरेको थियो । तर यातनाबाट रातभरि बालिका हनहनी ज्वरोले सिकिस्त भएपछि उनकी आमा संगीता काखे छोरो र पिडित छोरीलाई लिएर न्याय र उपचार खोज्दै बेलबारी थाना आएकी थिइन ।प्रहरीले उनलाई नजिकैको मेडिकलमा गएर उपचार गराउन अह्राएको थियो ।

दशैमा आफुलाई श्रीमानले पठाएको दुई हजार रुपैयाले चामल किनेको र उपचार गराउन एक रुपैया पनि नभएको बताएपछि स्थानीय सचेत युवाहरुको सहयोगमा बेलबारीको जनसेवा मेलिकल हलमा शुक्रबार बिहान मात्र बालिकालाई उपचारका लागि भर्ना गरिएको छ । बेलबारीका पत्रकार नरेन्द्र बस्नेतका अनुसार बालिकाको शरिरका बिभिन्न स्थानमा गहिरो निल डाम र चोट देखिएको छ ।
सुकुम्बासी परिवारकी सन्तान रहेकी ती बालिका स्थानिय कबिर माबिमा कक्षा ६ मा पढने बिद्यार्थी हुन । उनका बाबु भारतको पश्चिम बंगाल स्थित सिलगुडीमा बसेर रोजगार गर्ने गर्छन । घरमा उनकी आमा संगीता परियार र ३ बर्षका नावालक एक भाई मात्र छन ।
बालिकाले सात सय पचास रुपैया चोरी गरेको छिमेकीको आरोप छ । तर पिडित बालिकाले चाँही आफुले दिएको ऋण लिनुपर्ने भएकोले पैसा लिएको बताएकी छन ।
जिल्ला प्रहरी मोरंगका प्रबक्त्ता डिएसपी बिष्णुहरि कोइरालाले शुक्रबार बिहान ११ बजे सम्म घटनाबारे आफुलाई जानकारी नआएकोले अमानबिय घटनाबारे जानकारी लिने बताए ।
स्थानियका अनुसार बालिकालाई चरम यातना दिनेहरु दुई जना मात्र नभएर अरु पनि भएकोले प्रहरीले अनुसन्धान फराकिलो बनाएर सबैलाई कानुनी कार्बाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन ।