करन धिताल

पथरी मोरङ । ३१,असोज
मोरङको पथरीशनिश्चरे स्थित वीरेन्द्रनगरमा सम्पन्न पूर्वाञ्चल स्तरीय सातौ वीरेन्द्रनगर च्यालेन्ज कप क्रिकेट प्रतियोगिताको उपाधी रत्न यूथ क्लब पथरीले जितेको छ ।

प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न फाईनल खेलमा पथरीशनिश्चरे ११ लाई ६४ रनको फराकिलो अन्तरले पराजित गर्दै रत्नले उपाधी उचालेको हो । रत्नले दिएको १ सय २१ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको पथरीशनिश्चरे १३ दशमलब ४ ओभरमा मात्र ५६ रनमा समेटियो ।

पथरीशनिश्चरेक ११ का लागि राकेश दाहालले १६ र राजु राईले १३ रन बनाउनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन । पथरी शनिश्चरे ११ लाई सस्तैमा समेट्नका लागि मेहबुब आलम, विजेन्द्र झा, अमृत सिंह र प्रवेश कामतीले २÷२ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको रत्न युथ क्लबले १९ दशमलब १ ओभरमा अल आउट हुँदै १ सय २० रनको योगफल तयार पारेको थियो । रत्नका लागि रोनित सिंहले २७ र अमृत सिंहले २२ रन बनाए । पथरी शनिश्चरे ११ का सुमन इजम लिम्बु र संकर भुजेलले समान ३÷३ विकेट लिए ।

उपाधि सँगै रत्न यूथ क्लबले नगद ५१ हजार रुपैयाँ सगै ट्रफी मेडल र प्रमाण पत्र तथा उपविजेतामा चित्त बुझाएको पथरी शनिश्चरे ११ ले नगद ३१ हजार रुपैयाँ सँगै ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । फाईनल खेलको म्यान अफ द म्याच रत्न युथका अमृत सिंह घोषित भए । त्यस्तै म्यान अफ द सिरिज घोषित तथा वेष्ट व्याट्सम्यान भएका रत्नकै निरितिया खडोलियाले १० हजार रुपैयाँ बरारको मोबाईल प्राप्त गरे ।

प्रतियोगिताको वेष्ट वलर पथरीशनिश्चरे ११ का सुमन इजम लिम्बु र वेष्ट फिल्डर आयोजक वीरेन्द्रनगर क्रिकेट क्लबका विवेक कोईराला घोषित भए । असोज १९ गतेबाट संचालन भएको प्रतियोगितामा पूर्वाञ्चलका १९ टोलीको सहभागिता रहेको थियो ।