प्रकाश धाैलाकाेटी ,

१८ अक्टुवर २०१७ तेर्हथुम
जिल्लाको आठराई गाउँपालिका–४, इवाको सिमादुङ बस्तीका दश वर्षे निर्जल खपाङ्गी मगरलाई दुई वर्षको नहुँदै आमाले छाडेर गइन् । त्यतिवेला पाँच वर्षका उनका दाजु निर्मल अहिले १३ वर्ष पुगेका छन् । आमाले छाडेपछि यी दुई बालकको विचल्ली भएको छ । आमाको माया गुमाइसकेका उनीहरुलाई बुवा मानबहादुरले पनि समय दिन सकेनन् ।

आमाले छाडेपछि बाबुको पनि अवस्था नाजुक बन्यो । गरिबी, र अशिक्षाले पिल्सिएको मानबहादुरको घरमा साँझ विहान चुलो बाल्नै मुस्किल पर्‍यो । सँगसँगै काम गर्दै बनिबुतो गरेर दुई छाक हातमुख जोर्दै आएकी श्रीमतीले छाडेर अर्कैसँग गएपछि मानबहादुरले अत्याधिक मादक पदार्थ सेवन गर्न थाले । छोराहरुको हेरचाह पुगेन ।

दुबै छोराहरु सानैदेखि छरछिमेककै आडमा हुर्किए, डुल्ने घुम्ने बानी लाग्यो । श्रीमतीले छाडेपछि विरक्तिएका मानबहादुर पनि छोराहरुको असल अभिभावक बन्न सकेनन् । अन्ततः मानबहादुर पनि गत असारमा जवरजस्ती करणीको आरोपमा जेल परे ।

त्यसयता दुई बालकको झनै विचल्ली भएको छ । उनीहरुको आफ्नो घर भएपनि त्यहाँ चुलो नबलेको वर्षौै वितेको छ । मानबहादुरको भागमा करिब ३ रोपनी जमीन रहेको भएपनि त्यो पनि भागबण्डा भएको छैन । अहिले त्यो जमीनमा खेतीपाती लगाउने मान्छेपनि छैन । निर्मल र निर्जल तीन महिनादेखि विद्यालयमा नियमित छैनन् । स्थानीय जनता आधारभूत विद्यालयमा कक्षा–८ मा पढ्ने निर्मल र कक्षा–३ मा पढ्ने निर्जल दुवैको पढाई लथालिङ्ग छ । छिमेकी कहाँ बसेर पढ्न जाने गरेपनि उनीहरुको खाने, बस्ने र हिड्ने कुनै ठेगान छैन ।

गाउँमा अहिले तिहारको रौनक छ । तर, यी दाजुभाईलाई न त दशैँ नै आयो, न त तिहार नै । बाटोमै भेटिएका निर्मलले भने, ‘आमाले छाडिन्, बुवा जेलमा छन्, हामीलाई न दशैँ आयो, न तिहार नै ।’ बाबुआमा दुवै भएर पनि टुहुरा बनेका यी दुईको न त भोक सुनिदिने बाबु छन्, न त रुने कराउने आमाको काख नै छैन ।

विद्यालय जाने बेला यिनका हातमा कापी, किताब र झोला हुँदैनँ, न त लगाउने विद्यालय पोशाक नै हुन्छ ? कहिले भोकै विद्यालय पुग्छन्, कहिले कति बजे विद्यालय पुग्ने भन्ने नै थाहा हुँदैन उनीहरुलाई । सानो छँदाको कुरा सम्झिँदै निर्मलले भने, ‘बुवाले मादक पदार्थ सेवन गरी आएर आमासँग झगडा गर्थेँ, पछि आमाले पनि छाडेर हिडिन् ।’

आमाले छाडेपछि आफुहरु मामली पनि नगएको उनी बताउँछन् । आमा बाबुले छाडेपछि दुई बालकको बिचल्ली भएको पुर्ववडाध्यक्ष गंगाप्रसाद इङनामले बताए । ‘बाबुआमा नहुँदा बच्चाहरुको कस्तो हालत होला ? यिनीहरुको त्यस्तै हालत छ,’ उनले भने । आफुले दुई बालकको हेरचाहका लागि उनका आफन्तहरुसँग कुरा गरेपनि कसैले चासो नदिएको उनले बताए ।

‘यीनलाई कसैले वास्ता गरेनन्,’ उनले भने, ‘त्यसैले छरछिमेकमै बसेर पढ् त भनेका हौँ, तर भनेजस्तो कहाँ हुन्छ र ?’ दुई बालकको अवस्थाबारे सबैले चासो राखेका छन् । तर, कतैबाट पनि उनीहरुको उद्धारका लागि उल्लेख्य पहल नभएको छिमेकीहरुको भनाइ छ । ‘निर्मल र निर्जलका लागि कसैले सहयोग गरिदिए हुन्थ्यो,’ छिमेकी कल्पना घिमिरेले बताइन् । दुवै जना सानै छन्, यो बेला पढ्न, लेख्न पाउनु उनीहरुको नैसर्गिक अधिकार नै हो । तर कसले गरिदिने त्यस्तो व्यवस्था ? साँझ विहान जताततै हिड्ने भएपछि बालकैमा कुलतमा फस्ने सम्भावना पनि हुने स्थानीयको भनाइ छ ।