अनोज रोक्का
५ डिसेम्बर / २०१७
नेपाल र चीनको सम्बन्ध अझ सुमधुर र बलियो बन्दै गएको चीनका लागि नेपाली महामहिम राजदूत लीलामणी पौड्यालले बताए । आईतबार हङ्कङ स्थित नेपाली महावाणिज्यदूतावासमा आयोजना गरिएको समसामायिक बिषय छलफल कार्यक्रममा पौड्यालले उक्त कुरा बताएका हुन् । हङ्कङ स्थित प्रमुख प्रशासकसँग विशेष छलफलका लागि हङ्कङ आएका राजदूत पौड्यालले हङ्कङमा रहेका नेपाली उद्यमी, ब्यापारी, कर्मचारीहरुसँग भए गरेका प्रगती र कार्यहरुका बारे छलफल गरेका थिए ।

सहभागीहरुले उठाएको प्रश्नको जवाफ दिदै राजदूत पौड्यालले चीन र नेपाललाई जोड्ने रेलसेवाका लागि राजदूतावासको पहलमा चीनबाट प्राविधिक टोली नेपाल आएर पोखरा र केरुङ् सम्म (आई सर्वे) भौगोलिक अध्ययन गरिसकिएको, अव सरकारी तवरबाट प्रस्तावको पर्खाईमा रहेको बताए । सहभागीहरुले चीन र नेपालबीच नाकामा भएका समस्याहरुका बारे गरेको प्रश्नमा प्रकाश पार्दै पौड्यालले तातोपानी र केरुङ नाका मध्ये तातोपानी नाका भूकम्पपछि सञ्चालनमा आउँन कठिनाई भईरहेको बताए । केहि दिनअघि तातोपानी नाकाबाट धुलिखेलसम्मको सडक स्तरोन्तिरीका लागि १६ अर्बको सहयोग रकम लगानीका लागि हस्ताक्षर गरिसकिएको अव चाँडै तातोपानी नाका सञ्चालनमा आउँने समेत बताए ।

हङ्कङमा नेपाली भाषाको पढाईका लागि के गर्न सकिन्छ भन्ने सहभागीहरुको प्रश्नको उत्तर दिदै राजदूत पौडयालले नेपाल सरकारले भाषा शिक्षक, पुस्तक, प्रशिक्षक लगायतका सहयोग गर्न तयार रहेको तर नेपाली समुदायमा भाषा शिक्षण गर्न वातावरण तयार गर्नु पर्ने सुझाव दिए । हङ्कङमा नेपालीद्धारा सञ्चालित तीनवटा किल्डर गार्डेन, हङ्कङ पुलिसमा नेपालीको प्रवेश, विभिन्न सरकारी क्षेत्रमा नेपालीको सहभागिता स्वागत योग्य काम भएको बताए ।

चीनको स्वाशासित क्षेत्र हङ्कङमा बसोबास गर्ने नेपालीहरुको जातीय विविधता, धर्म, संस्कृति र परम्पराको प्रवद्र्धन गर्नका लागि सांस्कृतिक कार्यक्रम गर्ने जग्गा, नेपाली क्लब हाउसका लागि प्रमुख प्रशासकसँग कुरा गरिएको बताए ।

पौड्यालले नेपाल र नेपालीको गरिमा उच्च बनाउँदै नेपालमा प्रचुर सम्भावना भएको पर्यटन क्षेत्रलाई टेवा पु¥याउँनका लागि माउथ टु माउथ प्रचार गर्नु पर्ने बताए । हो हाम्रो नेपालमा धेरै कुरा विग्रिएको होला तर धेरै सम्भावना र अलौकिक धरोहर हरु छन् तिनीहरुको प्रशंसा गर्नु जरुरी छ । शुन्दर र मनोहर दृश्यले भएका ती नराम्रा कुराहरुलाई बिर्साई दिन्छ र हामीले विश्वास र दृढ संकल्प पनि गर्नु पर्छ कि, चाँडै सवै ठिक हुन्छ पौड्यालले सुझाए ।

कार्यक्रमलाई वाणिज्यदूत सुजनी रानाले सहजीकरण गरेकी थिईन ।