किसोर श्रेष्ठ

उर्लाबारी, १९ पुस

मोरङ मिक्लाजुङ ७ मधुमल्लाका ब्यानुसोर मगर २० वर्षका युवा हुन् । जम्मा अढाइ फुट मात्रै उचाइ रहेका उनलाई नजिकबाट नचिन्ने जो कोहीलाई पनि उनको उमेर पत्याउन नै मुस्किल पर्नेगर्छ ।

उमेरले लक्का जवान उनको शारीरिक बनावट भने केटाकेटी झै लाग्ने गर्छ । तर गालामा पाक्कपुक्क लागेका मासु, हात खुट्टाका छालामा भएका रौंहरुमा भने वयस्क पना झल्कीन्छ । अझ उनले प्यान्टका गोजीमा हात हालेर ढल्कदै हिड्ने स्वभावले त उनी भित्रका वयस्क पनालाई सजिलैसँग प्रस्टाउँछ ।

पाँचथरको दुरदिम्बामा जन्मेका उनले २०५६ साल जन्ममिति राखेर हाल बसोबास गर्दै आएको मिक्लाजुङ गाउँपालिकाबाट नेपाली नागरीकता पनि लिइसकेका छन् । अन्य सन्तानहरु झै सामान्य अवस्थामा जन्मेका उनी ३ वर्षको भएसँगै बढ्न छोडेको आमा अंकमाया मगरले बताईन् । आमा अंकमायाका अनुसार, एकदिन बेलुकी अचानक सुती रहेको अवस्थामा रातभरी नाकबाट खुन गएको र भोलीपल्ट धामीझाक्री गरेसँगै ठिक भएका थिए उनी । उनको नाकबाट खुन जान त रोकियो तर उनको जिवन भने सामान्य रुपमा चल्न छोड्यो, उनी उमेर अनुसार बढ्न छोडे । उनीसँगैका केटाकेटी केहीले घरजम समेत गरिसकेका छन् भने केही यतिवेला उच्च शिक्षाका क्रममा छन् ।

७ जना सन्तान भएका मगर दम्पतीका परीवारमा ब्यानुसोर कान्छा सन्तान हुन् । तर अहिले उनीहरुका साथमा ३ जना सन्तान मात्रै छन् भने ४ जनाको मृत्यु भइसकेको छ । परीवारमा ब्यानुसोरको मात्र नभएर ५ वर्षअघि मृत्यु भएका उनका दाजु इमराज मगरको पनि उचाई ब्यानुसोरको भन्दा कम रहेको बुबा नन्दबहादुरले बताए ।

आर्थिक अवस्था नाजुक भएका ब्यानुसोरको परिवारले उनको उपचारमा सक्दो कोशिस गरेको बुबा नन्दबहादुर मगरले बताए । पूर्वको दमकस्थित लाईलाइन, धरानको घोपा र विराटनगरको नोवेल लगायतका अस्पतालहरुमा चेकजाच गराउँदा सामान्य नै अवस्था रहेको डाक्टरहरुबाट प्रतिक्रिया पाएको र सामान्य जुका परेको लक्ष्यण देखीने गरेको थियो । अपरिचीत मानिसहरुसँग खासै बोल्न नरुचाउने स्वभावका ब्यानुसोर परिवारका सदस्यहरुसँग भने खुलेर कुराकानी गर्ने गर्छन् । परिवारमा आइपरेका समस्या देखी खुसीका क्षणहरुलाई सहजै अनुमान गर्नसक्ने र सोही अनुसारको ब्यवाहार गर्ने गरेको दाजु भेषराज मगरले बताए ।

स्थानीय भगवती उच्च माविमा कक्षा ५ मा अध्ययनरक्त उनको पढाई पनि अन्य विद्यार्थीहरुको जस्तो सामान्य छैन् । दुरदिम्बा बस्दासम्म केही महिना मात्र विद्यालय धाएका उनले १० वर्षअघि मधुमल्ला आएसँगै निरन्तर विद्यालय जान थालेका थिए । यो विचमा उनको पढाइ निरन्तर रुपमा अघि बढेको भएता पनि १० वर्षको अवधिमा भर्खर उनी ५ कक्षामा मात्रै पढ्दै छन् । छोरा विद्यालय गएर के गर्ला, कस्तो पढ्ला भन्ने चिन्ताभन्दा पनि साथीहरुसँग घुलमिल होला, रमाइलोसँग समय वेतित गर्ला अनि केही नयाँ कुरा सिक्ला भन्ने अपेक्षा राखेको बुबा नन्दबहादुरले बताए । देब्रे कान अलिअलि सुन्ने भएपनि दाइने कानले केही पनि सुन्न सक्दैनन् ब्यानुसोर । घरका सामान्य कामहरुमा मदत समेत गर्दछन् उनी ।

जम्मा १ किलो मिटरको दुरीमा रहेको विद्यालय पुग्न उनलाई १ घण्टा नै लाग्ने गर्दछ । समय मिलेसम्म उनलाई स्कुल ल्याउने र पुर्याउने काम उनका बुबाले गर्दछन् । विहान बेलुकीको समय उनी भान्जासँग घरमै खेलेर बिताउँने गर्दछन् भने कहिलेकाही गाउँका अन्य बालबालिकाहरुसँग पनि खेल्न जाने गर्दछन् ।

अरुको खेतबारी अदिया गर्दै आएको उनको परीवारले नेपाल सरकारले अपाङगलाई दिने गरेको भत्ता बापतको रकमले उनको लवाई, खवाई र पढाईमा खर्चने गरेको छ ।

दयनिय आर्थिक अवस्थाका उनलाई सबैको साथ र सहयोग भएको खण्डमा कुनैदिन आफ्नो कदभन्दा उच्च काम गर्नेमा परिवारले विस्वास लिएको छ । परिवारमा विषेश गरेर आमासँग नजिक रहने गर्दछन् ब्यानुसोर । आफुहरु बाचुन्जल त छोराको हेरचाहमा कुनै कमि नहुने भएता पनि मृत्यु पछि छोराको जिवनले कस्तो मोड् लेला भन्ने चिन्ताले सताएको मगर दम्पतीले सुनाए । अंधिकाश समय मौन बस्न रुचाउने उनको कद होचो भएता पनि चिम्सेरो आँखाभित्र अनगीन्ती सपनाका पर्खालहरु भने खडा रहेको उनलाई भेट्ने जो कोहीले सजिलै आकंलन गर्नसक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *