भोला भट्टराई

पौष २३ / २०७४ कानेपोखरी, मोरङ 

मोरङ जिल्लाको सफल र चर्चित मानिएको सहकारी संस्था रमाइलो साकोसले पौष २२ गते आफनो चौविसौं साधारणसभा सम्पन्न गरेको छ । यस पटकको साधारणसभा चुनावी सभा भएकोले वढी चासो र महत्वपूर्ण साधारणसभाको रुपमा लिइएको थियो । कानेपोखरी गाउँपालिकाभरिको जेठो सहकारीकारुपमा रहेको यस संस्थालाई हाल गाउँपालिकाका अध्यक्षसमेत रहनुभएका सहकारी योद्दा तारावहादुर काफ्लेले लामो समयदेखि आफनो नेतृत्वमा हाँक्दै आउनुभएको थियो । यस वर्ष उहाँको नेतृत्वको सन्चालक समितिको पदावधि सकिएकोले अर्को समितिका लागि निर्वाचन गरिएको थियो । २२ गते साँझबाट मतगणना सुरु भएकोमा करिब चौविस घण्टापछि मतदान समाप्त भएर परिणाम सार्वजनिक हुँदा संस्थाका अध्यक्षमा पुर्व कोषाध्यक्ष टंक वहादुर अधिकारी निर्वाचित हुनुभएको छ । यो नयाँ समाचार सार्वजनिक हुनेवित्तिकै उहाँसँग गरिएको छोटो कुराकानी प्रस्तुत गरिएको छ ।

 प्रश्नः कानेपोखरी गाउँपालिकाको सम्भवतः सबैभन्दा ठूलो सहकारी संस्थाको सबैभन्दा महत्वपूर्ण पदमा तपाइ निर्वाचित हुनुभएको छ । यस सफलताका लागि तपाइलाई वधाइ छ ।
– धन्यवाद ।

 प्रश्नः अध्यक्षको पदमा निर्वाचित हुन तपाइलाई आफनो कुनकुन योग्यताले साथ दिएको मान्नुहुन्छ?
– सर्वप्रथम त मेरो सहकारीप्रतिको लगाव र मेरो सामाजिक क्षेत्रमा काम गर्ने इच्छा र मेरो सहकारीकर्मी मित्रहरुसँगको सहकार्य र सहकारीमा मेरो लगावले नै म चुनिएको हुँ जस्तो लाग्छ ।

प्रश्नःआफू संलग्न रहेको राजनैतिक दलको पनि ठूलै भूमिका होला, होइन?
– चुनाव भर्खरै भएको हुनाले त्यसले अलिकति महत्वपूर्ण भूमिका खेलेको मैले पाएको छु ।

प्रश्नः सहकारी संस्थामा पदाधिकारी चयन गर्न राजनैतिक दलहरुको भागवण्डा र प्यानल प्रणाली स्पष्टरुपमा सक्रिय भएको देखिन्छ । यो प्रकृयाले सहकारीमा कस्तो प्रभाव पार्छ?
– यो प्रकृयामा जो हामी चुनिन्छौँ, अध्यक्ष लगायत अरु पदाधिकारिको विवेक, सोचाइ, विचार राजनैतिक भयो भने त्यसले प्रभाव पार्छ । तर स्वच्छ र पारदर्शी भएर सबैलाई सहकारीको मूल्य, मान्यता र सिद्दान्त अनुसार सहकारी सन्चालन गर्ने हो भने यसले केही प्रभाव पार्दैन ।

प्रश्नः देश र विदेशमा समेत रहेका सदस्यहरुको पसिना र परिश्रमको रकमले सहकारी संस्था चलेको हुन्छ । चुनावी प्रक्रियाबाट पदाधिकारी चयन गर्दा ठूलो रकम खर्च हुँदोरहेछ । यो भारी खर्च वचाउका लागि समझदारी र सहमातिबाट पदाधिकारी छनौट गर्न वा समिति उपसमिति गठन गर्न सकिँदैनथ्यो र?
– यस विषयमा हदैसम्म प्रयास नगरेको होइन, गरेकै हो । तर हुँदाहँदै पनि राजनैतिकर्मीहरुमा केही व्यक्तिहरुको आफनो व्यक्तिगत इच्छा चाहनाले गर्दा यो सहमति हुन सकेन । यो कारणले हामीले न्युनिकरण गर्ने कोशिस गर्दागर्दै पनि केही खर्च त वढाएकै छ ।

प्रश्नः अब तपाइको जिम्मेवारीमा आफूमुनिका करिव डेढ दर्जन समिति र उपसमितिका सदस्यहरु, आठ जना कर्मचारीहरु र चार हजार दुइ सय भन्दा माथि संख्यामा सदस्यहरु हुनुहुन्छ । यो ठूलो जमातको अगाडि संस्थाको नेतृत्व गर्नुपर्ने दायित्वमा कस्तो प्रकारको चुनौति देख्नुुहुन्छ?

– मैले यसमा केही चुनौति त देखेकै छु । तर त्यो चुनौतिलाई न्युनिकरण गर्नका लागि सहकार्य गर्न सकिन्छ । सहकारीका मूल्य, मान्यता, सिद्दान्त, सहकारी ऐन नियम, विनियम र कार्यनीतिहरुलाई चुस्त दुरुस्त हिसाबले संस्थाको उन्नति प्रगति र हितका लागि अपडेट गर्दै गइयो, परिमार्जन गर्र्दै गइयो भने सबै उपसमितिहरुसँग कर्मचारीहरुसँग समन्ववयकारी भूमिका निर्वाह गर्दै गइयो भने खासै समस्या हुन्न जस्तो लाग्छ ।

प्रश्नःयस संस्थाका पूर्व अध्यक्ष तारावहादुर काफ्ले दुइ पटक जिल्ला सहकारी को अध्यक्षमा निर्विरोधरुपमा निर्वाचित हुनु भएको थियो । उहाँले काम गरेको यो संस्थामा अहिले तपाइँ त्यो ठाउँमा निर्वाचित हुनुभएको छ । यो यात्रालाई अब कसरी निरन्तरता दिनुहुन्छ ?

– सहकारीमा मैले आफनो कामलाई प्रतिष्ठा र इज्जतको पद नमानी एउटा चुनौतिकोरुपमा यसलाई सम्झेको छु । यस संस्थाको उन्नति, प्रगति र विकास र सहकारीमा आवद्द शेयर सदस्यहरुसँग मेरो मित्रवत व्यवहार हुँदै , मलाई यहाँसम्म ल्याउनुहुने तारा सर नै हो । तारा सरसँग तीन कार्यकाल सँगै काम गरियो । यहाँको कार्यशैलीलाई म अपडेट गर्दै गइरहेको छु । मलाइ आपतपिपद सायद आउँदैन । आयो भने पनि उहाँसँग सोधपुछ गरेर नै अगाढि वढछु । त्यसैले खासै समस्या आउँछजस्तो लाग्र्दैन मलाइ ।

प्रश्नः यस संस्थाको कार्यक्षेत्रमा प्रशस्तै अरु सहकारी संस्था, वित्तीय संस्था र वैंकहरु पनि छन । सहकारी संस्थाहरुलाई अव चाहिँ अझ वढी प्रतिश्पर्धात्मक कार्यहरु गर्र्र्दै जानुपर्ने वाध्यता पनि होला । तत्काल गरिहाल्नुपर्ने काम चाहिँ के छ भन्ने देख्नुभएको छ ?

– साह्रै महत्वपूर्ण प्रश्न सोध्नुभयो । वास्तवमा अहिले एक्काइसौँ शताब्दीको समयमा हाम्रो रमाइलो क्षेत्र पनि ठूला ठूला वित्तीय संस्थाहरुको वैंकहरुको आकर्षणको केन्द्र वन्दै गइरहेको छ र यहाँ क ख वर्गका वैंकहरु पनि उपस्थित भएका छन । यी वैंकहरुसँग प्रतिश्पर्धा गर्नु हाम्रा सहाकारीहरुका लागि ठूलो चुनौति पनि रहेको छ । यो चुनौतिलाई सामना गर्न यहाँ धेरै सहकारीहरु छन । यी सहकारीहरुलाई मर्ज गर्दै अगाडि वढाउन सकेर पूँजी वृद्दि गर्नका लागि वचत र शेयरमा वृद्दि गर्नुपर्ने र अन्य वचतका उत्पादनहरुमा वृेद्दि गर्नुपर्ने लगानीलाई उत्पादनमूलक लगानीमा वढाउनुपर्ने र लगानीका नयाँनयाँ अवसरहरु खोजी गर्नुपर्ने अवस्था देखिन्छ ।

प्रश्नः अधिकांश संस्थाका शेयर सदस्यहरुले सहकारीमा सदस्य वनेपछि ऋण खान पाइन्छ भन्ने बुझेको र ऋणलाई अनुन्पादक कार्यमा लगानी गरेर वर्षौसम्म ऋण तिर्न नसकेर व्याजमा डुविरहेका सदस्यहरु पनि छन । खासगरी सदस्यहरुले बुझन नसकेको मुख्य कुरा चाहिँ के हो?

– ग्रामीणक्षेत्रमा सहकारीहरुलाई यो समस्या देशव्यापीरुपमै छ । सहकारीसम्बन्धी सचेतना कार्यक्रमहरु हुन नसकेर नै यस्तो भएको हो । ऋण लिन र तिर्न सदस्यहरुले अभ्यस्त नुहुनु, लिएको ऋणलाई अनुत्पादक क्षेत्रमा लगानी गर्नु, यो देखासिखी प्रवृत्ति नै मूल समस्या हो । यसलाई न्युनिकरण गर्नका लागि सदस्यहरुका लागि चेतनामूलक कार्यक्रमहरु अगाडि वढाउनुपर्ने देखिन्छ ।

प्रश्नः तपाई शिक्षण पेशामा आवद्द हुनुहुन्छ । यो पेशालाई जारी राख्दै सहकारीको यति ठूलो अभियान र जिम्मेवारीका लागि समयको व्यवस्थापन कसरी गर्नुहुन्छ?

– जहाँ इच्छा, त्यहाँ उपाय । शिक्षण पेशाबाट उव्रिएको समय, दिन,रात र फुर्सदको समयलाई दिने मेरो संकल्प भएको हुनाले यसलाई व्यवस्थापन गर्न सक्छुजस्तो लागेको छ ।

प्रश्नः यस अघिका पदाधिकारीहरु, अग्रजहरु र तपाइका चुनावी प्रतिश्पर्धीहरुको भूमिका र स्थान अब तपाइको यात्रामा कस्तो रहनेछ?

– त्यो मेरै स्वभाव, व्यवहार र कार्यशैलीमा भर पर्दछ । उहाँहरुसँग मित्रवत भावना राख्दै, समन्वयकारी भूमिका राख्दै सहकारी सम्बन्धी नयाँनयाँ कार्ययोजना ल्याउँदै जाँदा उहाँहरुले त्यति अप्ठयारो महसुस गर्नुहुन्न र सहयोगको भावना राख्नुहुन्छ भन्ने मलाइ लागेको छ ।

प्रश्नः अन्त्यमा, तपाइले भन्न मन लागेको केही बाँकी छ?

– मलाई सहकारीको यो गरिमामय स्थानमा पुर्याउनुहुने तारा सरलाई म मुरीमुरी धन्यवाद दिन चाहन्छु । साथै सबै शेयर सदस्यहरु लगायत यो चुनावी प्रकृयामा पनि मलाइ मत दिएर अध्यक्षको जिम्मेवारी दिनुहुने शुभचिन्तकहरु, भद्रभलादमीहरु, समाजसेवीहरुलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । जय सहकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *