भोला भट्टराई

पौष २९ / २०७४ कानेपोखरी, रमाइलो

ओखलढुंगाको कुनै गाउँमा वनिबुतो गरेर जीवनयापन गरिरहेको सोझो ठिटो रनेको जीवनभोगाइ एउटा कथा बन्न लायक विषय थियो । मेलामा एक दिन छिमेकी लाउरेले रनेकी पत्नी सेतीलाई हात लाउन खोजेपछि रने रिसले चूर हुन्छ । रिसको झोँकमा खुकुरी नचाउँदै लाउरेलाई नमारी छेडदिन भन्छ । गाउँलेले जसोतसो रनेलाई छुटाएर घर लैजान्छन । संयोग र दुर्भाग्यवस त्यही रात लाउरेको हत्या हुन्छ । दिउँसो लाउरेलाई नमारी छोडदिन भनेर रनेले धम्क्याउनु र त्यही रात लाउरेको हत्या हुनु एउटा काकताली थियो, वास्तवमा रने हत्यारा थिएन । परिवन्धले रने दोषी हुन पुग्छ । कारण, लाउरेको घरमा डाङ्डाङ्डुङडुङ भएको सुनेर लाउरेका वचाउका लागि रने नै के भयो भनी हेर्न गएको थियो । लाउरेको ताजा लास देखेर उसैले प्रहरीलाई खबर गरेको थियो । कानुनको अन्धो आँखाले रनेलाई दोषी पायो र जेल चलान ग¥यो । सेती र रनेको परेवाजस्तो जोडीलाई यस घटनाले छुटाएर अलग बनायो ।

पुष्करसमशेर राणाले लेखेको परिवन्ध शीर्षकको यो कथालाई मण्डला थिएटरले ‘सरजमीन’ नाटक शीर्षकमा नाटकको रुपमा मन्चन गर्दै आएको छ । नौ वर्ष अघि सन २००९ मा स्थापित मण्डला थिएटरले यतिबेला नेपाली नाटयक्षेत्रको क्षेत्रमा निकै लोकप्रियता कमाएको मात्र छैन, धेरै कलाकारहरु पनि उत्पादन गरिसकेको छ । रंगमञ्चमा काम गर्नेहरुको साझा चौतारिका रुपमा उभिएको मण्डला यतिबेला दोश्रो पुर्वाञ्चल नाटययात्राको दौरानमा निकै दर्शकहरुको मनमा मन्चन भइरहेको छ र मन्चन हुन बाँकी स्थानहरुमा अधैर्य प्रतीक्षाको विषय बनिरहेको छ । यसै तालिका अन्तर्गत मोरङको रमाइलोमा माघ ५ गते प्रदर्शन हुने तयारीमा आएको मण्डला थिएटर, यसका कलाकारहरु र नाटक सरजमीन यस क्षेत्रमा हिजोआज चर्चाको विषय बनेको छ । खास गरी “हैट” नामले चर्चित कलाकार वुद्दि तामाङ, कार्याशाला सहजकर्ता दयाहाङ राई, स्थानीय कलाकार सोमनाथ खनाललाई नाटकको क्रममा देख्न पाइने दर्शकहरुको प्रतीक्षा रहेको छ ।

रमाइलो सहकारी भवनमा प्रदर्शन हुने यस नाटकका लागि थिएटरका प्राविधिकहरुले अवलोकन गरी सम्पूर्ण तयारी पूरा भएको रमाइलोका लागि संयोजक रहनुभएका गणेश सुवेदीले बताउनुभएको छ । रमाइलो युवा परिवारको आयोजनामा नाटकको व्यवस्थापनको सहजीकरण गरिएको हुँदा यसलाई रमाइलो युवा परिवारले नयाँ प्रयोग र अनुभवका लागि आयोजना गरिएको बताउँदै अध्यक्ष नवीन पौडेल भन्नुहुन्छ– ‘कलाकारको कला कति छ भन्ने कुरा नाटकबाट थाह पाइन्छ । हामीले कलेज पढदा अध्ययन गरेका केही नाटकहरुलाई नाटक मण्डलीहरुले प्रत्यक्ष देखाइदिन्छन । अहिलेका कतिपय पाठयपुस्तकहरुमा पनि केही नाटकहरु दिइएका हुन्छन तर वालवालिकाहरुलाइ नाटक कस्तो हुन्छ थाह छैन । कलाकारले प्रत्यक्ष अभिनय गरेको कलालाई आफ्नै अगाडि देख्नका लागि पनि यो नाटक हेर्न हामीले सुझाव दिएका छौँ । विद्यालयहरु विदा भएको समयमा पनि विद्यार्थी र शिक्षकहरुमा नाटक हेर्ने तीब्र इच्छा देखिएको छ । हामीले अनुमान गरेभन्दा वढी नै दर्शक हुन्छन जस्तो लाग्छ ।’

 राजधानी वस्दा धेरै पटक नाटक हेरेको अनुभव सुनाउँदै गणेश सुवेदी भन्नुहुन्छ – ‘नाटक हेर्नुको आनन्द धेरै स्मरणीय हुन्छ, जीवन्त हुन्छ र त्यो शब्दमा बताउन सकिन्न रहेछ । यही अनुभवलाई नाटक प्रदर्शनीकै माध्यमबाट शेयर गर्न मण्डला थिएटरलाई रमाइलोमा ल्याउने प्रयास गरेको हुँ ।’

 मण्डलाले प्रदर्शन गरिरहेको सरजिबीन नाटक बेलबारीमा हेरेर आउनुभएका हेमशागर ढकालको भनाइमा सरजमीन एक घण्टा विस मिनेटको छ र यसले नाटक अवधिभर सास रोकेर कथामा डुब्न दर्शकलाई वाध्य बनाउँछ । अभिनय यति शसक्त छ कि यसले भरपूर मनोरञ्जन दिन्छ । देशमा सबथोक परिवर्तन भए पनि गरिबि युगौँदेखि जस्ताको तस्तै छ भन्ने शन्देश सरजमीनले दिएको छ ।

मण्डेला थिएटरमा केही वर्षदेखि आवद्द भई काम गरिरहनुभएका कानेपोखरी–६ का भरत लिम्बु पनि यतिबेला नाटय अभिनवयको क्षेत्रमा मनैदेखि लाग्नु भएको छ । उहाँ भन्नुहुन्छ – ‘शेक्सपियरले भनेका छन संसार रङ्गमञ्च हो र हामी यसका पात्र हौँ । वास्तवमा नाटकको अभिनय, रङ्गमञ्च यात्रा यस्तो रहेछ कि हामी जीवनमा धेरै खाने नाटक गरिरहेका हुन्छौँ । जीवनमा धेरै नाटक हुन्छन तर अर्कोतिरबाट हेर्दा नाटकभित्र पनि धेरै खालका जीवन हुँदा रहेछन र त्यसलाई एउटै व्यक्तिले भिन्न भिन्न जीवनको अनुभव गर्न पाइँदो रहेछ । यसले गर्दा म अरु अवसरलाई पनि छोडेर यो यात्रामा डुवेको छु ।’

 मण्डला थिएटरकै नाटक किन हेर्नुपर्ने वा सरजमीन नै किन हेर्नुपर्ने भन्ने प्रश्नको उत्तरमा यस संस्थाले दिने उत्तर पनि सह्राहनीय छ । संस्थाका अनुसार सरजमीन लगातार प्रदर्शन हुँदै आएको एक सशक्त कथाको नाटक हो । यो नाटक वंगलादेशमा समेत माग भई प्रदर्शन भएको हो । मण्डेलाले यस संस्थामा कार्यरत चर्चित कलाकारहरुको टोलीले स्थानीय स्तरमा काम गरिरहेका र काम सिक्न चाहने कम्तीमा २५ जना नवोदित कलाकारहरुलाई अभिनयसम्बन्धी प्रशिक्षण दिनेछ जसको सर्वेक्षण अभिनेता दयाहाङ राईले गर्नेछन । राजधानी र मोफसलका कलाकारहरुवीच सम्पर्क वढाई स्थानीय कला र कलाकारलाई मजवुद बनाउने यसको उद्देश्य रहेको छ ।

रमाइलोमा हुन लागेको सरजमीन नाटक को फैसला भने हेर्न बाँकी छ तैपनि प्रतिकूल मौसममा पनि नाटकप्रतिको आकर्षण र चर्चा देख्दा मण्डेलाको मण्डली रमाइलोबाट सन्तुष्ट भएर फर्कने र दर्शकहरुले वीस वर्ष अघि हेरेको नलबारी आसामको लालीगुराँस थिएटरको प्रश्तुतीलाई मण्डेलासँग अवश्य तुलना गर्नेछन भन्न सकिन्छ । कम्तीमा राष्ट्रिय नाचघरमा मात्र नाटक हुन्छ भन्ने बुझाइलाई अब रमाइलो युवा परिवारले उल्टाइदिएको छ ।

जे होस, गाउँमा र आफ्नै ठाउँमा देशका ख्यातिप्राप्त कलाकारलाई प्रत्यक्ष देख्न पाउने कुरामा स्थानीयवासीले खुशी अनुभव गरेको भने देख्न पाइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *