लेखक-लिली थापा

नयाँ शक्ति पार्टी नेपाल यतिबेला छ महिने पार्टी निर्माणको अभियानमा छ । पार्टी निर्माणको यो अभियानमा सामाजिक अभियान सञ्चालन गर्ने विषय पनि मुख्य अभियान अवधिका चार काममध्येको एक महत्वपुर्ण कामका रूपमा आत्मसात् गरिएको छ । सामाजिक अभियानमध्ये पनि आधाभन्दा बढी जनसंख्या रहेको कारणले ‘आधा आकाश आधा धर्ति’ भनेर पुकारिने महिलाको मुद्दा प्राथमिकतामा राखेको छ । महिलालाई आजको २१ औं शताब्दीको युगमा आईपुग्दा पनि दोस्रो दर्जाको नागरिकका रूपमा राखिने विडम्वनापूर्ण अवस्था नेपाली महिलाले भोग्न परेको छ । महिलाका मुद्दामा धेरैकाम भएको पनि छ तर यत्तिकैमा सन्तोष मान्ने अवस्था पनि छैन । महिलाका सवालमा गर्नुपर्ने काम अझै धेरै बाँकी छन् ।

महिला समानताको कुरा गर्दा छोरा र छोरीबीचको समानताको कुरा स्वरूपमा आउने गर्दछ । अरू सबै हिसाबले समान व्यवहारको कुरा गरेपनि शारीरिक बनावटका कारणले र जैविक अवस्थाका कारणले महिलाका विशिष्ट भूमिका हुनु र जिम्मेवारी हुनु आफ्ना ठाउँमा स्वभाविक छ । तर यतिनै बेला महिला भएकै कारणले विभेदमा पर्नुपर्ने वा हेपिनु पर्ने वा अन्यायमा पर्नुपर्ने कुरा चाहिँ सैह्य हुन सक्दैन । तिनै सैह्य हुनै नसक्ने विषयहरूका विरुद्धको अभियान तिनको न्युनीकरण र निर्मुलीकरण आजका सामाजिक अभियानका मुद्दा हुन् ।
सामाजिक अभियानका सन्दर्भमा सरोकार राख्ने संघसंस्थाहरूको यतिबेला कमि छैन । दलीय स्वतन्त्रता नभएका बखत वा गैरसरकारी संस्था खोल्नका लागि पनि पूरा गर्नुपर्ने विभिन्न राजनैतिक शर्तहरूका कारणले पञ्चायत कालभर त्यस्ता संस्थाहरूको प्रचुरता देखिँदैन भने बहुदलप्राप्ति पछि त्यस्ता संस्थाहरूको भने बाढी नै आएको अवस्था छ । यही बाढीका बीचवाट सामाजिक मुद्दाहरूमा उल्लेखनीय कामका केही मुद्दाहरू खास–खास परिणाम सहित नै स्थापित भएका छन् । घरेलु हिंसा, कार्यस्थलमा हुने हिंसा, पारिश्रमिक र ज्यालामा विभेद, बालविवाह, बहुविवाह, अनमेल विवाह, दाईजो, तिलक प्रथा, छाउपडी प्रथालगायत थुप्रै मुद्दाहरू आजका सरोकारका मुद्दा हुन् । महिलाहरूलाई सशक्त बनाउन र महिला शक्तिको माध्यमबाट आर्थिक समृद्धिको अभियान सञ्चालन गर्न सहज हुनेछ ।

 

यो सहजताका लागि महिला सशक्तिकरणको अभिायन सञ्चालन गर्न प्रमुख सरोकारका महिलाका मुद्दा पहिचान हुन जरुरी छ । तीमध्ये एकल महिलाको मुद्दा पनि एक हो । एकल महिलाको स्थिति अवस्था र समाजमा उनीहरूलाई हेर्ने दृष्टिकोण र त्यस क्षेत्रमा गर्नुपर्ने कामको चरित्रका बारेमा पनि चर्चा हुनु जरुरी छ । यस आलेखमा म त्यसै सेरोफेरोमा चर्चा गर्ने जमर्को गरेको छु । यो चर्चाका सन्दर्भमा मानवअधिकारका लागि महिला, एकल महिला समूहको स्थापना यसले बोकेको मुद्दा र कार्यक्षेत्रमा भोगिएका भोगाईहरू समाज रूपान्तरणको दिशामा कामयावी अनुभव हुन सक्दछन् । यही आशयले मेरो आफ्नै अगुवाईमा आरम्भ गरेको महिला सशक्तिकरणको अभियानको मेरो आफनै अनुभव बारेमा संक्षेपमा चर्चा गर्न चाहन्छु ।

‘मानवअधिकारका लागि महिला एकल महिला समूह नेपाल’ गठन भएको २० वर्ष भयो । त्यतिबेलाको समाजमा महिला, त्यसमाथि पनि एकल महिलाको अवस्था निकै कमजोर थियो । त्यस्ता महिलाका लागि बोल्ने, त्यस्ता महिला आएर आफ्नो कुरा राख्ने, मन खोलेर रुने, पीडा साटासाट गर्ने ठाउँ थिएन । त्यस्तै ठाउँ खोज्दै जाँदा यो संस्थाको आवश्यकताबोध भयो र संस्था जन्मियो ।

त्यतिबेला पाँच सय रूपैंयाको कोठा भाडामा लिएर कार्यालय सञ्चालन गरेका थियौं । अहिले १५ सय ५० बढी गाविसमा हामी पुगेका छौं । त्यतिबेला सातजना महिला मिलेर संस्था दर्ता गर्न पनि निकै गाह्रो परेको थियो । अहिले एक लाख बढी महिला हाम्रो समूहमा आबद्ध छन् ।

२० वर्षअगाडिको जुन अप्ठेरो थियो । एकल महिला अहिले त ठाउँठाउँमा परिवारबाट बहिस्कृत छन् भने आजभन्दा २० वर्षअगाडिको अवस्था कस्तो थियो होला ? त्यतिबेला सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक सबै हिसाबले महिला पीडित थिए । परिवारबाट बहिस्कृत र समाजबाट तिरस्कृत । विधवालाई हेर्ने दृष्टिकोण नितान्त फरक थियो ।

जीवनको आधा यात्रामै जीवनसाथी गुमाएका ती एकल महिलालाई हाम्रो समाजमा हिँड्न, बोल्न, लाउन, खान सबै–सबै कुरामा भिन्नै आचारसंहिता लगाइएको थियो । आर्थिक हिसाबले धेरैजसो परनिर्भर महिला थिए । त्यतिबेलाका महिला धेरैजसो पुरुषमै निर्भर हुन्थे । त्यसमाथि पनि एकल महिलाको आर्थिक र सामाजिक अवस्था अझै धेरै दयनीय थियो ।

उसो त त्यतिबेला पनि केही त्यस्ता संघ–संस्था क्रियाशील थिए, जसले महिला हकहितका लागि आवाज उठाउँथे । तैपनि त्यस्ता समूहमा एकल महिलाका लागि आवाज उठाउनु भनेको असम्भव नै थियो । किनभने एकल महिलाका लागि बनाइएका धेरैजसो नीति, नियम, धर्म र संस्कारसँग जोडिएका थिए । त्यस्ता संघ–संस्थामा क्रियाशील हुने धर्मका कट्टर समर्थक थिए ।

के एकल महिलाभित्रको आत्मा उनको श्रीमान्को मृत्युसँगै विलिन हुन्छ ?

म मध्यमवर्गीय परिवारमा जन्मिएको मान्छे हुँ । २९ वर्षको उमेरमा मैले श्रीमान् गुमाएँ । जब मैले उहाँलाई गुमाएँ, हिजो श्रीमान हुँदा लगाइराखेको लुगा लगाउन नपाउने भएँ । हिँड्न बन्देज लगाइयो । तीन बच्चा थिए । ठूलो बच्चा १०, बीचको ९ र सानो जम्मा ३ वर्षका थिए । त्यतिबेला म यति धेरैजान्ने र बोल्न सक्ने थिइँन । भर्खर एउटा सानो स्कूल चलाइराखेकी थिएँ । मेरो छुटेको पढाइ भर्खर पूरा हुँदै थियो । मास्टर्स गर्दै थिएँ ।

मजस्तो पढेलेखेको र आत्मनिर्भर मान्छेलाई पनि श्रीमान गुमाएर एक्लो भएपछि यतिधेरै समस्या हुन्छ भने अरू महिलाको अवस्था के होला भनेर म सोच्न बाध्य भएँ ।

म सम्पन्न परिवारमा जन्मेकी थिएँ र सम्पन्न परिवारमै बिहे भएको थियो । त्यसैले पनि आर्थिक रूपले मेरो आफ्नो मात्र जीवन चलाउन कुनै अप्ठेरो थिएन तर मजस्तै एकल भएका अरू गरिब महिलाका लागि केही गर्नुपर्छ र संगठित भएर कुरीति र कुसंस्कारविरुद्ध आवाज उठाउनुपर्छ भन्ने सोचेर नै म तीन/तीन बच्चालाई घरमा छाडेर उच्चशिक्षा अध्ययनका लागि विदेश हान्निएकी थिएँ ।

मेरा बुबा हुमानसिंह बस्नेत नेपाली सेनाका जर्नेल थिए । काठमाडौंको कालिकास्थानमा रहेको संयुक्त परिवारमा हुर्किएकी मलाई परिवारमा कहिल्यै छोरा र छोरीको विभेद महसुस भएन । छोरी हुँ र कमजोर छु भन्ने कहिल्यै लागेन ।

जीवन आफ्नै गतिमा चलिरहेको थियो । श्रीमान शान्ति सेना मिसनमा इराक जानुभएको थियो तर उहाँ इराकबाट कहिल्यै फर्केर आउन सक्नुभएन । उहाँको उतै निधन भयो । मेरा बच्चा निकै साना थिए । र , यसरी मेरो जीवनले एउटा अर्को मोड लियो ।

जीवनमा आकस्मिक आइपर्ने परिघटनाले धेरैकुरा सोच्न बाध्य बनाउँदा रहेछन् । यसरी निरस र रंगहीन जीवन बाँचिरहेका एकल महिलाका लागि संस्था गठन गर्ने कुरा उठेपछि मलाई लाग्यो- यो विषयमा मैले अझै धेरै अध्ययन गर्नुपर्छ । समयले एकल महिलाको क्षेत्रमै काम गर्ने कुनै संस्था माग गरिसकेको थियो तर मसँग यसबारे पर्याप्त मात्रामा न त ज्ञान थियो न त अनुभव नै । त्यसैले यसबारे थप अध्ययन गर्न केही समय मिलाएर म विदेश लागेकी थिएँ ।

संस्था भनेको के हो ? एनजीओ भनेको के हो ? मलाई केही थाहा थिएन । आइतबारको दिन आफ्नो स्कूलको कार्यकक्षमा पति गुमाएका एकल महिला भेला हुने, रुने, आफ्नो मनको कुरा सुन्ने सुनाउने गर्थ्यौं । मेरो सबैभन्दा पहिलो डोनर मेरी आफ्नी आमा हुनुहुन्छ । कोही महिलाका लागि केही सहयोग जुटाउन पर्‍यो भने आमासँग पैसा माग्थेँ । कसैका बच्चा भर्ना गर्नुपरेमा वा कसैलाई उपचार गर्नुपरेमा या कसैका बच्चाको फिस तिर्नुपरेमा जे गर्नका लागि पैसा मागेको बेलामा आमाले कहिल्यै नाइनास्ती गर्नुभएन किनभने छोरीले धेरैको भलो हुने काम गरिरहेकी छे भन्ने कुरा आमालाई थाहा थियो ।

यसरी मैले सामाजिक काममा हात अगाडि बढाउन सुरु गरेँ । आफ्नो स्कूलमा आर्थिक अवस्था कमजोर हुने एकल महिलाका बच्चाका लागि निश्चित कोटामा छात्रवृत्तिमा पढ्न पाउने व्यवस्था गरिएको थियो ।

संस्था दर्ता गर्न सुरुमा उत्तिकै गाह्रो परेको थियो । कुनै पनि एनजीओ दर्ता गर्न सातजनाको नागरिकता चाहिने सरकारी नियमबमोजिम उनी नागरिकता बटुल्न लागिन् तर विधवाले नागरिकता दिन डराए । के पो हुने हो ? भोलि परिवारले केही पो भन्ने हुन् कि, सम्पत्ति पाउनबाट परिवारले वञ्चित गर्ने पो हो कि भनेर उनीहरू भयभित थिए । अफिस पनि नाम मात्रको थियो । महिलाहरू आउँथे, आउनबित्तिकै पर्दा तानेर रुन थाल्थे । पछि जसले आफूलाई विश्वास गर्छ त्यस्ता आफ्ना आफन्त दिदीबहिनीको नागरिकता मागेर उनले संस्था दर्ता गरिन् ।

अहिले हेर्दा लाग्छ– यो एउटा अभियान हो । अहिले ७५ जिल्लामा महिला संगठित छन् । एकल महिलालाई हेर्ने सामाजिक दृष्टिकोण नै फरक छ । हिजो आफैँ खर्च हालेर संस्था चलाउने गरिन्थ्यो आज सरकारले आफैँ खोजेर बजेट दिनेगर्छ । पहिले विधवाले लाउने, खाने सबै कुरामा आचारसंहिता थिए । अहिले कमसेकम जो एकल महिला हाम्रो सम्पर्कमा छन्, उनीहरू त्यो आचारसंहिता तोडेर हिँड्न सक्षम छन् । यद्यपि, समाजमा अझै पनि असंगठित धेरै एकल महिला आचारसंहिताभित्रै कैद छन् । त्यसलाई तोडर बाहिर आउन सकिरहेका छैनन् । सामाजिक कुसंस्कारमा रुमलिरहेका छन् । पहिले परैबाट यो विधवा र सधवा भनेर चिनिन्थ्यो भने आज त्यो अवस्था छैन । मान्छेको सोँच परिवर्तन भएको छ । हिजो सरकारसँग यस विषयमा कुनै योजना थिएन भने आज आफ्नो योजनामा समेटिसकेको छ । सरकारले अहिले एकल महिलाका लागि अक्षयकोष नै खडा गरेको छ ।

नेपालमा झन्डै ६ लाखको संख्यामा एकल महिला छन् । जो महिला पढेलेखेको र आत्मनिर्भर छन्, उनीहरू संस्थामा आउन चाहन्नन् । जो महिला विपन्न आर्थिक अवस्थाका छन्, पढेलेखेका छैनन्, त्यस्ता महिला हामीकहाँ तुलनात्मक हिसाबले बढी आउने गरेका छन् ।

एकल महिलाले पाउने विधवा भत्ता पहिले ६० वर्ष उमेर पुगेपछि मात्र पाउने व्यवस्था थियो । हामीले यसबारे सर्वोच्च अदालतमा निवेदन हालेर मुद्दा जितेका छौँ । कुनै महिलाले विधवा भत्ता पाउन अब उमेरको हदबन्दी छैन ।

यसैगरी, ३५ वर्ष उमेर पुगेपछि मात्र सम्पत्ति पाउने कानुनी प्रावधान अहिले हटिसकेको छ । म आफैँ २९ वर्षको उमेरमा विधवा भएको हो । ३५ वर्षसम्म किन कुर्ने भनेर मुद्दा हालियो र त्यो पनि जितियो । विधवासँग विवाह गर्ने युवालाई सरकारले ५० हजार दिने प्रावधान थियो अहिले त्यो हटाइएको छ । अहिले पुनर्विवाह गरेपनि पहिलेको श्रीमान्को अंश पाउने नजिर स्थापित गरिएको छ । नेपाल सरकारले पुनर्विवाह गर्दा दिने त्यही र कम अहिले विधवाका लागि सुरक्षाकोष बनाएको छ । त्यही र कमले गाउँ–गाउँमा एकल महिलाका लागि क्षमता अभिवृद्धिदेखि अन्य विभिन्न प्राविधिक तालिम दिने व्यवस्था गरेको छ । आयमूलक काम, सीपमूलक तालिम र कानुनी जटिलता मिलाउन पनि एकल महिलाले त्यो कोषबाट र कम पाउन सक्ने भएका छन् ।

रोजगारीका लागि विदेश जानुपर्‍यो भने राहदानी बनाउँदा श्रीमान नभएका महिलाले घरका अरू कुनै पुरुष सदस्यको स्वीकृति लिनुपर्ने चलन थियो । त्यो प्रावधान पनि हटाइएको छ । त्यस्तै एकल महिलाको हकमा १८ वर्ष पुगेको छोरा र अविवाहित छोरीको स्वीकृतिबिना आमाले एक्लै आफ्नो अंश केही गर्न नपाउने कानुनी प्रावधानलाई फेरिएको छ ।

धर्मले कतै पनि विधवालाई कमजोर भनेर व्याख्या गरेको छैन । हिन्दू धर्म, कुरान, बाइबल अथवा त्रिपिटक कतै पनि महिलालाई कमजोर भनेर लेखिएको छैन तर समाजमा आफूलाई अगुवा भन्नेले धर्मग्रन्थको अपव्याख्या गरेका छन् । र, धर्मलाई पनि आफूअनुरूप प्रयोग गरेका छन् । धर्मले त बरु महिलालाई शक्तिकी देवीका रूपमा, एउटा शक्तिशाली पात्रका रूपमा उभ्याइदिएको छ । तर, आफूलाई समाजका नाइके भन्नेले धर्मको आफूअनुकूल हुनेगरी व्याख्या गरिरहेका छन् ।

दक्षिण एसियाका सबै देशमा महिलालाई हेर्ने दृष्टिकोण उस्तै छ । कमबेसीको मात्र कुरा हो । कतै कम होला कतै बढी होला । तर, समग्रमा महिला र अझै एकल महिलाको अवस्था दयनीय नै छ । दक्षिण एसियाको कुरा गर्ने हो भने भारतमा सबैभन्दा बढी महिला विधवा छन् । त्यसपछि नेपाल ।

मलाई कहिलेकाहीँ लाग्छ– विधवाको क्षेत्रमा यति काम गर्नुपर्ने रहेछ र त मेरो जीवनमा यस्तो घटना घटेको रहेछ । २९ वर्षको कलिलो उमेरमै मैले मेरो प्रिय मान्छे यसैका लागि गुमाएकी रहेछु जस्तो पनि लाग्छ । यदि मैले मेरो जीवनसाथी नगुमाएको भए आउन त कोही यो क्षेत्रमा आउँदो हो, कसै न कसैले त गर्दोहो तर म नै आउने थिइनँ होला तर मेरै भागमा यो सबै गर्नुरहेछ । फर्केर हेर्दा केही त गर्न सकेँजस्तो लाग्छ । अझै धेरैकाम गर्न बाँकी नै छ जस्तो लाग्छ ।

सबैभन्दा ठूलो कुरा आजका छोरीलाई भोलिका लागि तयार बनाउनु छ । आत्मसम्मानसाथ बाँच्न सक्ने बहादुर छोरीका लागि अझै हामीले केही गर्नु छ । आजका सबै आमाले छोरीलाई त्यही मानसिकतासाथ हुर्काउनु जरुरी छ । श्रीमानले पनि मेरो श्रीमती मबिना पनि आत्मसम्मानपूर्ण जीवन बाँच्न सकोस् भनेर आजैदेखि श्रीमतीलाई मानसिकरूपमा तयार पार्न आवश्यक छ । कुनै पनि बेला एक्लै हुन सकिन्छ र एक्लै पनि जीवन चलाउनुपर्छ भनेर आजैबाट सबै छोरीले सोच्न थालून भन्ने मेरो सल्लाह छ । कलेजका कोर्समा पनि विधवा विषयमा पाठ्यक्रम बनाएर पढाउन सकिन्छ ।

विधवा हुनु भनेको कमजोर हुनु होइन वा एउटी महिलाका लागि उसको जीवनको अन्त्य हुनु होइन । कुनै पनि बेला कोही पनि स्वास्नीमान्छे विधवा हुन सक्छे, उसको सहयात्री कतै बीचबाटोमा अलप हुन सक्छ । त्यसैले सबै स्वास्नीमान्छे आउन सक्ने सम्भावित अप्ठेरा चुनौती डटेर मुकाबिला गर्न सक्नेगरी तयार होऊन् भन्ने मेरो सल्लाह छ ।

समाज रातारात परिवर्तन हुन सक्दैन । ८० प्रतिशत एकल महिला अझै निरक्षर छन् । उनीहरू बाँच्ने कसरी भन्ने ठूलो चुनौती छ । त्यसमाथि भर्खरै मुलुक द्वन्द्वबाट बाहिर आएको छ । त्यहाँ कतिधेरै जवान युवतीहरू एकल भएका छन् । भूकम्पले हजारौं महिलालाई विधवा बनाइदिएको छ । तिनीहरूको विकराल जीवन हाम्रा अगाडि छ । उनीहरूलाई आत्मनिर्भर भएर बाँच्न सक्ने कसरी बनाउने यो चुनौती हाम्रोसामु छ । तिनका सवाललाई नीति निर्माण तहमा कसरी पुर्‍याउने र तिनीहरूको पनि भौतिक उपस्थितिको सुनिश्चितता कसरी माथिल्लो तहमा पुर्‍याउने भन्ने चुनौती पनि हाम्रोसामु छ ।

हामीले केही त गरेका छौं तर अझै धेरैकाम गर्न बाँकी छ । अरूमा आश्रित हुनबाट कसरी बच्ने ? भनेर आजैबाट सोच्न विशेषतः विवाहित महिलालाई मेरो अनुरोध छ । आमाबुवालाई पनि मेरो आग्रह छ । आफ्ना छोराछोरीलाई आत्मनिर्भर हुने र विश्लेषण गर्न सक्ने कसरी बनाउने भनेर आजैबाट सोच्नूस् ।नयाँ शक्ति नेपाल मासिकबाट 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *