अनोज रोक्का
“भुली रहे एकान्तमा, तिम्रो तस्विरलाई हेरेर, यो हावालाई सोधि हेर न ।
मन भुलाए आकाशैमा, तिम्रो रुपलाई कोरेर, यो धर्तिलाई सोधि हेर न ।
मन गुनगुनाउँछ, गुनगुनाउँछ गुनगुनाउँन देऊ, तिम्रै त्यो सुरैमा
झन रमाउँछ झन रमाउँन देऊ हरेक पलमा
के यो माया हो ?”
नेपाली फिल्म ‘जेरी’ मा समावेश उक्त गीतले प्रेममा पर्दाको नौलो अनुभूतिलाई ईङ्गित गरेको छ । एकान्तमा आफ्नो प्रियजनको यादमा हराउँनु, सम्पूर्ण वातावरण संगितमय पाउँनु सायदै सवै प्रेममा पर्दाको स्वर्णिम अनुभूतिहरु हुन् ।
प्रेमको कोहि साक्षी हुदैन हुन्छ त केवल प्रेममय दुई आत्मा अनि त्यहि आत्माको मिठास अनूभुति । भ्यालेन्टाईन डे आईसकेको छ । आफ्नो मनको भावना मायालु समक्ष राख्ने सायदै उपयुक्त समय , जुन जीवनभरि कै यादगार पल पनि हुने गर्छ । आम मानिसहरुको तुलनामा यस पर्वले खासै महत्व नराखेपनि प्रेमको टुसा अङ्कुरण गराउँन तयार प्रेमआत्माहरुका लागि र एकअर्काको मायामा चुर्लुेम्मै डुबेका मायालु जोडीहरुका लागि निकै नै विषेश बन्ने गर्दछ ।

प्रेमलाई हेर्ने आ–आफ्नै दृष्टिकोण हुन्छ, समय सँगै यसको परिभाषा पनि बदलिएको छ । पहिलेको तुलनामा प्रेमप्रति निकै नै उदार पुस्ता पनि हामी पाउँन सक्छौ भने प्रेमलाई भल्गर र खराव संस्कृति मान्ने मानिसहरु पनि हामी पाउँन सक्छौ । विदेशी संस्कृतिलाई नेपाली समाजमा समायोजन गर्नु उपयुक्त हुदैन भन्ने जमातले प्रेमलाई नकारात्मक रुपले हेर्छन अझ भनौ यसलाई सामाजिक वर्जित गरिएको ठान्छन्, तर अहिलेका पुस्ता प्रेमलाई सर्वब्यापक बनाउँन चाहन्छन् भलै प्रेमको नाममा खराव संस्कृतिले प्रवेश पाएकै छ । स्कुले वेला देखी नै मौलाएको प्रेममय संस्कृतिले पढाईमा पूर्णरुपले प्रभाव बनाउँछ नैं त्यसपछि पाएको असफलताले झनै निरस । तर प्रेम आफैमा पूर्ण छ सुसंस्कृत छ, मात्र यसलाई सहि तरिकाले प्रयोग गर्न सक्नुपर्छ ।

प्रेम दिवस आउनु साता अगाडि नै सम्पूर्ण पठनपाठन र दैनिकीलाई नै ठप्प पारेर चकलेट डे , रोज डे , हग डे, प्रोमिस डे जस्ता ट्यागमा प्रेम दिवस मनाउँनु चाहि यस पर्व प्रतिको नकारात्मक पाटो हो भन्ने ठान्दछु ।
तर मलाई लाग्छ, ‘प्रेम दिवस’ मात्र प्रेमीप्रेमीकाहरुका लागि होईन, यो त आम हृदय जसले पवित्र प्रेमभाव, समपर्ण र आत्मियता बोध गर्छ ति सवैका लागि हो । हामीले मान्ने गरेका पुरातन दिवस, संस्कृति, धर्म सवै प्रेमकै उपज हुन् । आमाको मुख हेर्ने दिन आमाप्रतिको अगाध प्रेम र समर्पणको ज्वलन्त उदाहरण होईन र ? बाबाको मुख हेर्ने दिन बाबाको उत्तरदायित्वप्रति प्रेमपुर्ण कर्तब्यवी नमन होईन र ? अनि कसरी हुन्छ ‘प्रेम दिवस’ मात्र प्रेमीप्रेमीका लागि ।

भलै, प्रेमीप्रेमीकाले यस दिवसलाई प्रेमप्रस्ताव राख्ने, खुसियाली साथ विताउने भनी पूर्णरुपमा सदुपयोग गर्लान तर सवैले कतै न कतैबाट विभिन्न प्रकृतिले प्रेमदिवसलाई मनाएकै हुन्छन् ।

प्रेमका लागि दिवस त कुर्नु पर्दैन । भनिन्छ ‘रात रहे अग्राख पलाउँछ’ आफुले माया गरेको मानिसलाई समयमै मनको कुरा नभने पश्चाताप सिवाय केहि रहदैन । त्यस्तै माया देखाउँनका लागि पनि त्यस्तो कुनै उपयुक्त दिन कुनु पर्दैन तर सहि समयमा देखाएको प्रेमभावले सायद जीवनमा निकै नै ठुलो प्रभाव पार्छ ।

पर्व जहाँ सुकैको किन नहोस तर त्यसले हृदयमा सन्तुष्टि दिन्छ र प्रेमको संसारमा सयर गराउँछ भने त्यो जहाँ जुन सयममा माने पनि फरक पर्दैन किनकी यसको स्वभाव नै प्रिय लाग्छ ।
संसारमा त्यस्तो को होला जो प्रेमको अगाडि घुडा टेक्न बाध्य नहोस, त्यस्तो कुन संगित होला जहाँ प्रेमको सुगन्ध नमिसिएको होस , अनि त्यस्तो कुन कथा होला जसमा कतै न कतै प्रेम नमिसिएको होस । प्रेम सर्वब्यापक छ यसले मानिसलाई जीवनप्रतिको मोह जगाउँने काम गर्छ ।
भनिन्छ प्रेममा मान्छे पागल हुन्छ, तर प्रेमले बनाउँछ नै त्यस्तो, जहाँ मान्छेले आफुभन्दा बढी अरुलाई नै सोच्न थाल्दछ, अझ भनौ आफुमा अरुको प्रतिविम्व पाउँदछ । आफ्नो भन्दा बढि अरुको खुसीको खोजीमा दिनहरु ब्यतित गर्दछ, अनि मज्जा हुन्छ दिनमा, लिनमा भन्दा बढि, हो यहि हो प्रेम ।

मानिसको जीवन अनन्त छ , जीवनप्रतिको परिभाषा विभिन्न मानिसले फरक – फरक ढङले दिने गर्दछ , कसैले यसलाई नाटक भन्दछन् अनि मानिस कलाकार, कसैले कर्म भन्दछन् त कसैले मार्मीक मर्म । जसले जे जे भनेपनि प्रेममा पर्दाको समय जीवन कै स्वर्णीम समय मानिन्छ , हुन्छ पनि त्यस्तै ।

‘प्रेम दिवस’ आएको छ, युवाहरु वेफुसर्दी बनेका छन् । टाउको दुखाईको विषय बनेको छ, गिफ्ट र टाढा – टाढाको यात्रा । जुन सायदै विकृतीको उपज पनि होला । बरु यसलाई स्वच्छ मनले मनाउँन सके ‘प्रेम दिवस’ को सार्थकता झनै बढ्थ्यो ।
स्थानिय पार्क, वनजंगल ,खोलानाला सवै संगम स्थल बनेका छन । जहाँ गएपनि प्रेममा लिप्त जोडिहरु पाईन्छ उनीहरुलाई हेर्दा लाग्छ संसार नै उनीहरु सँग छ , खुसी नै खुसीको त्यो पल कहाँ जो कोहि ले पाउँछ र तर मात्र त्यसलाई कुन तवरले प्रयोग गरिन्छ त्यो महत्वपूर्ण हुन्छ ।
जीवनमा जति नै महत्वकांक्षा भएपनि हामीले अपेक्षा गरेको एउटा मात्र चिज बस्तु जे भनेपनि त्यो हो खुसी । जुनविना मानिस जति नै सम्पन्न भएपनि पूर्णरुपमा अपूरो नै रहन्छ । हो त्यहि खुसी को प्रत्यक्ष अनुभव गर्छ मानिसले प्रेममा ।

समय सँगै प्रेमको उदारता र ब्यापकतामा परिवर्तन आएको नर्कान मिल्दैन । दिनानुदिन समाचारमा हिंसा भड्किएको, सामाजिक सम्प्रादायिकता ह«ास आएको, बलात्कार, चोरी घरेलु हिंसा लगायतका यावत घटनाहरु विभिन्न सञ्चार माध्यममा सुन्न पाईन्छ ।
मलाई लाग्छ यि सवै घटना माथि कहि न कहि प्रेमको उपस्थित शुन्य लाग्छ । जहाँ प्रेम हुन्छ त्यहाँ हिंसा र अत्याचारको प्रवेश नै हुदैन, हुन्छ त केवल माया, भरोसा र समर्पण त्यसैले प्रेमदिवस प्रेमपूर्ण रुपले मनाऔ ।

हाम्रो सम्प्रदाय र संस्कृतिमा पनि प्रेमको प्रवेश गराऔ जहाँ एउटा धर्मले अर्का धर्मलाई, एउटा जातीले अर्का जातीलाई, एउटा संस्कारले अर्को संस्कारलाई प्रेमपूर्णरुपले आदर र सत्कार गर्न सकोस ।
चाहे विवाहित हुन वा अविवाहित प्रेमको शाब्दिक अर्थ दुवैमा समान हुन्छ, अविवाहित हुनुहुन्छ प्रेम गर्नुस खुलेर जहाँ शारिरीक वासना भन्दा बढी आत्मीक भावना मिसिएको होस् । विवाहित हुनुहुन्छ आफ्नो पार्टनरको भावना र ईच्छाको कदर गर्नुहोस । जसरी ‘प्रेम दिवस’ लाई हर्षाउल्लासका साथ स्वागत गरिन्छ त्यसरी नै आफ्नो वैवाहिक दिवसलाई धुमधामसँग मनाउँनुस जसले सम्बन्धलाई सदा सर्वदा ताजा बनाउँन सकोस ।

त्यसैले ‘प्रेम दिवस’ सायदै लिने र दिनेको अभूतपूर्व खेल हो । जहाँ निस्वार्थ प्रेम दिईन्छ , फिर्तामा विश्वास लिईन्छ अनि कहि विश्वास दिईन्छ फिर्तामा अगाध प्रेम र आस्था ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *