[box] ख्यातिप्राप्त म्यागेसे पुरस्कार विजेता एवं सामाजिक अभियन्ता महावीर पुनले ‘आफ्नो स्कुल आफैं बनाऔं’ अभियानअन्तर्गत पाँचथरमा मुलुकमै पहिलो अनलाइन शिक्षा सुरु गरेका छन् । अमेरिकी नेपालीहरुद्वारा स्थापित इक्वालिटी फाउन्डेसनको सहयोगमा कम्प्युटर अनलाइन शिक्षा सुरु गरिएको हो । कम्प्युटर र इन्टरनेटको माध्यमबाट मुलुकभरका दुर्गम बस्तीमा सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई नि:शुल्क अनलाइन शिक्षा प्रदान गर्ने उद्देश्यले पुनले पाँचथरको नाङ्गीन गाविसस्थित नाङ्गीन माविबाट ‘आफ्नो स्कुल आफै बनाऔं’ अभियान थालेका हुन् । ‘अबको युग कम्प्युटरको युग हो, कम्प्युटर, इमेल, इन्टरनेट नजान्ने व्यक्ति जतिसुकै पढे पनि काम लाग्दैन,’ प्रोजेक्टरबाट अनलाइन शिक्षा कार्यक्रम उद्घाटन गर्दै सामाजिक अभियन्ता पुनले भने –‘किताब पढेर मात्र हुँदैन, आइटिको ज्ञान हुनैपर्छ, त्यसैले अनलाइन शिक्षा सुरु गर्दैछौं ।’ मुलुकको विकासका लागि दक्ष मानवशक्ति उत्पादन गर्न सरकारले सामुदायिक विद्यालयमा अनलाइन शिक्षा लागू गर्न शिक्षक दरबन्दी, कम्प्युटर उपकरण, विद्युत र इन्टरनेट सेवा प्रदान गर्नुपर्ने उनले बताए । उनले गाउँ गाउँमा इन्टरनेटको पहुँच पुग्न सक्यो भने विद्यार्थी, बालबालिका, युवापुस्ता, शिक्षक, अभिभावकको ज्ञान वृद्धि हुने बताए । गाउँबस्तीसम्म इन्टरनेट सेवा विस्तार गरेर हरेक विद्यालयमा प्रोजेक्टरको माध्यमबाट अनलाइन प्रविधिबाट पठनपाठन गराउन सके देशको विकासको निम्ति आवश्यक दक्ष मानवशक्ति उत्पादन हुने पुनको विश्वास थियो । उनले कम्प्युटर मानव जीवनलाई आवश्यक औजार भएकोले पर्याप्त प्रयोग गर्न सुझाव दिए । ‘कम्प्युटर औजार हो, थन्क्याएर राख्ने होइन’ उनले सुझाव दिँदै भने –‘औजारलाई हलो कोदालो जस्तै प्रयोग गर्नुहोस् ।’[/box]

Leave a Reply

Your email address will not be published. Required fields are marked *