काठमाण्डौ, बनेपास्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका एक विद्यार्थीको रहस्यमय मृत्यु भएको छ । विद्यालय प्रशासनको लापरबाहीको कारण ज्यान गएको भन्दै आक्रोशित अभिभावक र आफन्तले विद्यालय परिसरभित्र छिरेर तोडफोड गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड हवाइ फायर गरेको थियो । केही घाइते समेत भएका थिए ।

एसएलसी परीक्षा तयारीको लागि छात्राबासमा रहेका १७ वर्षीय कृष्णराम पुर्कुटीको मृत्यु भएको हो । साढे ५ बजे ‘बिरामी भएको भन्दै’ एउटै कोठामा बस्ने साथीहरुले बनेपा हस्पिटल लगेका थिए । त्यहाँ नभएपछि शीर मेमोरियल अस्पताल पुर्‍याएकोमा उनको मृत्यु भएको थियो ।

बाबु कृष्णरामले विद्यालयको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाए । ‘साढे ५ बजेको घटनामा हामीलाई साढे सात बजे पोष्टमार्टमको लागि मात्रै खबर गर्‍यो,’ उनले भने, ‘२ घण्टाको बीचमा हामीले हाम्रो छोरालाई बचाउन पो सक्थ्यौँ कि ।’ उनले विरामी भएपछि अविभावकलाई खबर नगर्नु विद्यालयको गम्भीर गल्ती भएको आरोप लगाए । उनले साथीहरुले अस्पताल लैजाँदा पनि बेखर हुने प्रशासनलाई छानबिन गरिनुपर्ने बताए ।

प्रहरीले कृष्णरामकै कोठामा सुतेका अन्य ७ जना विद्यार्थीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । कृष्णराम सुतेको ओछ्यान अनुसन्धान अगाडि नै विद्यालय प्रशासनले हटाएको भन्दै अभिभावकले मृत्युमा प्रशासनको पनि संलग्नता भएको आरोप लगाएका छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाले पोष्टमार्टमपछि मात्रै यकिन हुने बताए । उनले विभिन्न कोणबाट अनुसन्धान थालेको बताए । प्रबन्धक निर्देशक प्रताप वैद्यले दोषीलाई कारबाही हुनुपर्ने भन्दै पोष्टमार्टमपछि मात्र सबै कुरा खुल्ने बताए । रासस

1 thought on “बनेपास्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका एक विद्यार्थीको रहस्यमय मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *